१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

टेलिकममा ‘बाहिरिया मान्छे’को विरोध

सम्बद्ध विषयमा ज्ञान नभएका व्यक्तिलाई टेलिकममा छिराउन खोजिएको आरोप
सजना बराल

काठमाडौँ — तीन महिनादेखि खाली रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि हाल उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको प्रक्रिया चलिरहेको छ ।

टेलिकममा ‘बाहिरिया मान्छे’को विरोध

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यो प्रक्रिया जारी रहँदा टेलिकमका कर्मचारीले भने सम्बद्ध विषयमा कुनै ज्ञान नभएका व्यक्तिलाई सेटिङका साथ टेलिकममा प्रवेश गराउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सोमबार मात्र हामीले मन्त्रीज्यूलाई ध्यानाकर्षणपत्र बुझाएका छौं,’ नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्लूयू) का महासचिव महेश्वर खड्काले भने, ‘यस क्षेत्रमा ३०/३५ वर्ष योगदान गरिसकेका वरिष्ठ व्यक्तिलाई प्रतिस्पर्धामा भागै लिन नसक्ने हिसाबले बन्देज लगाउने वा भाग लिए पनि उहाँहरूलाई पाखा लगाउने र अनुभवहीन व्यक्तिलाई टेलिमकमा प्रवेश गराएर टेलिकम डुबाउने प्रपञ्च रचिएको छ । हामी यसो हुन दिँदैनौं ।’

टेलिकमभित्रकै वरिष्ठलाई प्रबन्ध निर्देशक बनाइनुपर्ने कर्मचारी युनियनको माग छ । त्यसो नभए जस्तोसुकै कदम चाल्न पनि आफूहरू पछि नपर्ने खड्काले चेतावनी दिए । ‘टेलिकमबाहिरका व्यक्ति प्रबन्ध निर्देशक भए त्यो नियुक्ति सच्याउन हाम्रो दबाबमूलक कार्यक्रम हुनेछ,’ उनले भने, ‘नेपाल टेलिकम जनताको नासो र नेपाल सरकारको सम्पत्ति हो, यसमाथि धावा बोल्न खोजिएकाले रोक्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’

टेलिकमको नेतृत्वका लागि मंसिर २२ मा आवेदन खुलाइएको थियो । यससँगै सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७५’ लाई संशोधन गरी २०७८ पारित गरेको थियो । नयाँ निर्देशिकामा प्रबन्ध निर्देशक (एमडी) को शैक्षिक योग्यता, उमेर हद, कार्यअनुभव र कार्य अवधि हेरफेर गरिएको थियो । यसमा टेलिकमका तीन वटै कर्मचारी युनियनले आपत्ति जनाएका थिए ।

टेलिकमका पूर्वकर्मचारी र एमडी पदमा उम्मेदवारी दिन चाहनेले निर्देशिका संशोधनका विषयमा सरकारविरुद्ध सर्वोच्च र उच्च अदालत पाटनमा मुद्दा हालेपछि यो विषय अझ पेचिलो बनेको थियो । पुस ५ मा सर्वोच्च अदालतले ‘१२ पुससम्म नियुक्ति प्रक्रिया यथास्थितिमा राख्नू’ भन्दै अल्पकालीन अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी गरेको थियो । १२ पुसपछि सुनुवाइ नै हुन सकेको थिएन । चैत १६ मा सर्वोच्चले नियुक्ति प्रक्रियाविरुद्ध परेका रिट खारेज गरेपछि प्रक्रिया अघि बढेको हो ।

प्रबन्ध निर्देशक पदका लागि आवेदन दिएका अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, बुद्धिप्रसाद आयार्य, संगीता पहाडी अर्याल, सुनिल पौडेल र सुरज सिंह थापाले २२ र २३ चैतमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिएपछि अन्तर्वार्तामा बस्नुपर्ने प्रक्रिया छ ।

यसबारे सञ्चार मन्त्रालयको वेबसाइटमा समय तालिकासहित सूचना राखिएको छ । सञ्चार सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा तीन सदस्यीय छनोट समितिले प्रबन्ध निर्देशकको नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।

प्रकाशित : चैत्र २३, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?