प्रसारण लाइन नबन्दा १५० मेगावाट बिजुली उपयोगविहीन

न्यादी, बलेफी–ए, दोर्दीखोला, माथिल्लो दोर्दी–ए, दोर्दीखोला–१, उपल्लो खिम्ती र अपर खिम्ती–२ आयोजना बिजुली उत्पादनका लागि तयार, तर प्रसारण संरचना छैन
भारतबाट बिजुली नपाएपछि अघोषित लोडसेडिङ

काठमाडौं, लमजुङ, रामेछाप, पोखरा र हेटौंडा — भारतबाट पर्याप्त बिजुली पाइन छाडेपछि अहिले ठूला उद्योगहरूमा १२ घण्टा लोडसेडिङ हुन थालेको छ । महँगो मूल्यमा पनि बिजुली किन्न नपाएकाले एक सातायता हरेक दिन बेलुका ६ देखि बिहान ६ बजेसम्म औद्योगिक ग्राहकको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन नबन्दा १५० मेगावाट बिजुली उपयोगविहीन

भारत र नेपालको समेत ऊर्जा संकटलाई युक्रेनमाथि रुसले गरेको आक्रमणको बाछिटाका रूपमा हेरिँदै आएको छ । तर नेपालले आन्तरिक उत्पादनको व्यवस्थापन गर्न सकेको भए अहिलेको ऊर्जा संकट भोग्नुपर्ने अवस्था नआउने देखिएको छ । प्राधिकरणले समयमा प्रसारण लाइन नबनाउँदा निजी क्षेत्रबाट प्रवर्द्धित आधा दर्जन जलविद्युत् आयोजना प्रसारण प्रणालीमा जोडिन सकेका छैनन् । आयोजना निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन नहुँदा महिनौंसम्म परीक्षण र उत्पादनको चरणमा जान सकेका छैनन् ।

३० मेगावाटको न्यादी जलविद्युत् आयोजना, ३६ मेगावाटको माथिल्लो बलेफी–ए, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी–ए, १२ मेगावाटको दोर्दीखोला–१ लगायत आयोजना निर्माण सकिएर उत्पादनको चरणमा छन् । यीमध्ये धेरैजसो आयोजना समयमै प्रसारण लाइन नबनेका कारण परीक्षण र उत्पादनमा जान सकेका छैनन् । प्रसारणलाइन बनाउने जिम्मा विद्युत् प्राधिकरणको हो । तर तोकिएको समयभित्र प्रसारण लाइन र सबस्टेसन नबन्दा निजी क्षेत्रका आयोजना राष्ट्रिय प्रणालीमा जोडिन सकेका छैनन् । पछिल्लो समय भारतबाट बिजुली ल्याउन समस्या भएपछि तत्काल निर्माण सम्पन्न हुन सक्ने निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनालाई राष्ट्रिय प्रणालीमा ल्याउन प्राधिकरणले चासो देखाइरहेको छ ।

परीक्षण र निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनालाई प्रणालीमा ल्याउन पहल गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘न्यादी, बलेफी, दोर्दी करिडोरका दुई–तीनवटा आयोजना र खिम्ती–गर्ज्याङ करिडोरका पनि केही आयोजना छन् । यी सबै गरेर ४० देखि ५० मेगावाट बिजुली प्रणालीमा थपिन्छ,’ घिसिङले भने, ‘हामी तत्काल त्यसमा लागिरहेका छौं । १०/१५ दिनमै हामी केही बिजुली थप्छौं ।’ यी सबै आयोजनाको कुल उत्पादन क्षमता १ सय मेगावाटभन्दा बढी रहे पनि अहिले सुक्खायाम भएकाले कुल क्षमताको आधा बराबर मात्रै उत्पादन हुन्छ । पर्याप्त प्रसारण संरचना नहुँदा नयाँ विद्युत् आयोजना परीक्षण र उत्पादनमा मात्र समस्या देखिने नभई सञ्चालनमा आइसकेका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । अहिले धेरैजसो विद्युत् करिडोरमा प्रसारण लाइनको समस्या छ । ‘मेची, कोशी, सोलु, मर्स्याङ्दी, काबेली करिडोरका आयोजनाका लागि प्रसारण लाइनको समस्या छ,’ गुरागाईंले भने, ‘कतै प्रसारण लाइन नै बनेका छैनन् त कतै भएका प्रसारण लाइन स्तरोन्नति गर्नुपर्ने र क्षमता बढाउनुपर्ने छन् ।’ न्यून क्षमताका प्रसारण लाइनका कारण वर्षायाममा बिजुली खेर जाने उनको भनाइ छ ।

लमजुङमा बनिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना ६ किलोमिटर दूरीमा रहेको तारीकुना सबस्टेसनमा जोडिनुपर्ने हो । मर्स्याङ्दी करिडोरको यो लाइन नबनेपछि केही दिनअघि मात्र ऊर्जा सचिवस्तरीय निर्णयमार्फत न्यादीलाई सिनोहाइड्रो सगरमाथा कम्पनीले अपर मर्स्याङ्दी–ए का लागि बनाएको प्रसारणलाइनमा जोड्न भनिएको छ । तारीकुना सबस्टेसनमा बिजुली जोड्ने अवस्था नरहेपछि प्राधिकरणले अपर मस्याङ्दी–ए को प्रसारण लाइनमा जान भनेको र आफूहरूले पनि त्यसमा सहमति जनाएको न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले जानकारी दिए ।


दोर्दीखोला र दोर्दीखोला–१ जलविद्युत् आयोजनाले निर्माण पूरा गरे पनि प्रसारण लाइन अभावमा उत्पादन परीक्षण गर्न सकेका छैनन् । माथिल्लो दोर्दी ‘ए’ र सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले पनि निर्माण सम्पन्न मिति गुजारिसकेका छन् । प्रसारण लाइन भएमा यी आयोजनाले १ देखि २ महिनाभित्रमा उत्पादन सुरु गर्न सक्छन् ।

प्राधिकरणले समयमै प्रसारण लाइन र सबस्टेसन नबनाउँदा विद्युत् उत्पादन सुरु गर्न नसकिएको दोर्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । ‘आयोजनाको निर्माण सकियो । अहिले परीक्षण भइरहेको छ । प्राधिकरणले प्रसारण लाइन बनाउने कहिलेको हो कहिले,’ उनले भने, ‘लाइन बन्ने हो भने उत्पादनका लागि हाम्रो आयोजना तयार छ ।’

असारमा आएको बाढीले चार वटा विद्युत् टावर ढालेकामा प्राधिकरणले अझै नबनाएपछि १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गर्न नसकेको म्यानेजर उज्ज्वल सिलवालले बताए । ‘प्राधिकरणले टावर बनाउला र हामी विद्युत् उत्पादन गरौंला भनेर बस्यौं । बगाएका मध्ये २ वटा टावर अझै बनेका छैनन्,’ उनले भने । दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजना प्रमुख रमेश पौडेलका अनुसार गत वर्ष वैशाख १५ मै सबस्टेसन र प्रसारण लाइनको काम सकिएको थियो । तर असार १ को बाढीले ४ वटा टावर बगाएकामा अहिलेसम्म २ वटाको मात्रै जग निर्माणको सकिएको उनले बताए । ‘चैत मसान्तसम्म सक्ने भनेका थियौं । तर कार्यप्रगति हेर्दा त्यो बेलासम्म काम सकिने देखिएन । वैसाख मसान्तसम्ममा सक्ने लक्ष्य छ,’ पौडेलले भने । दोर्दी करिडोरको काम सकिए पनि उदिपुरमा मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइनको सबस्टेसन बन्न सकेको छैन । प्रसारणलाइन र सबस्टेसनको काम चलिरहेको र लक्षित समयभित्र निर्माण सम्पन्न हुने मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजना प्रमुख चिरन्तनविक्रम राणाको भनाइ छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा निर्माण सम्पन्न भएका उपल्लो खिम्ती र अपर खिम्ती–२ जलविद्युत् आयोजना पनि प्रसारण लाइनमा जोडिन सकेका छैनन् । हिमालय ऊर्जा विकास कम्पनीले प्रवर्द्धन गरेको ७ मेगावाटको उपल्लो खिम्ती र १२ मेगावाटको अपर खिम्ती–२ आयोजना २०७७ फागुनमै निर्माण सकिएका हुन् । यी आयोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणको गार्जाङ सबस्टेसनबाट न्यु खिम्ती सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारणमा जोड्ने योजना थियो । तर हालसम्म उक्त प्रसारण लाइन नै पूरा हुन सकेको छैन । यी आयोजना प्रसारणलाइनमा जोडिन नसक्दा हिमालय ऊर्जा विकास कम्पनीलाई प्रतिदिन ६ करोड रुपैयाँ बराबर नोक्सानी भइरहेको सञ्चालक सरोज उपाध्यायले बताए । उता निर्माणाधीन गर्जाङ–खिम्ती १३२ केभी प्रसारण लाइनमा दुईवटा पोल राख्ने जग्गाको विवाद अझै नसुल्झिएको आयोजना प्रमुख प्रनिल पराजुलीले जानकारी दिए । केहीमा तार टाँग्न र दुईवटा पोलको विवाद निरुपण गरी निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ ।

प्रसारण लाइन नै नबनेको सबस्टेसन ऊर्जामन्त्रीद्वारा उद्घाटन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा बनेको १३२/३३/११ केभी सबस्टेसन उद्घाटन गरेकी छन् । पर्वतको मोदी–२ कुरुंगामा रहेको उपल्लो सबस्टेसनबाट कास्कीको लेखनाथ सबस्टेसन जोड्ने लाहाचोक सबस्टेसन मन्त्री भुसालले सोमबार उद्घाटन गरेकी हुन् । तर यसको प्रसारण संरचना अझै पूर्ण हुन सकेको छैन ।

मोदीमा रहेको उपल्लो सबस्टेसनमा मोदी खोलामा रहेका जलविद्युत् आयोजना जोडिन्छन् । सेती नदी, मर्दी खोला, सार्दीखोलालगायत नदीमा निर्मित जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि लाहाचोक सबस्टेसन निर्माण गरिएको हो । आयोजनाको प्रसारण लाइनअन्तर्गत ४२ किलोमिटरमा १ सय ३८ टावर निर्माण हुनुपर्छ । मोदीबाट लाहाचोक २२ किलोमिटर ६५ टावरबाट जोडिए पनि लाहाचोकबाट लेखनाथ १३२ केभी सबस्टेसन जोड्न अझै प्रसारण लाइन विस्तार हुन सकेको छैन । उक्त लाइनमा ७३ वटा टावर निर्माण गर्नुपर्नेमा १८ वटा बनाउनै बाँकी छ । स्थानीयको अवरोधका कारण ती टावर बन्न नसकेका हुन् ।

प्रसारण लाइनको राइट अफ वेमा पर्ने निजी जग्गाको उचित मुआब्जाको माग गर्दै लाहाचोक, भलाम र लेखनाथका स्थानीयले प्रसारण लाइन विस्तारमा अवरोध गरिरहेका छन् । स्थानीयले डेढ वर्षअघि जग्गाको उचित मुआब्जा माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेकामा गत साता अदालतले खारेज गरिदिएको छ । राइट अफ वेका सन्दर्भमा भने यसबारे बुझ्न कास्की जिल्ला प्रशासन कार्यालयलाई निर्देशनात्मक आदेश जारी गरेको छ । प्रसारण लाइन निर्माणको जिम्मा पाएको कलपतरु पावर ट्रान्समिसन लिमिटेडले २०२२ को जुनभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

चौबीसै घण्टा चन्दै कुलेखानी

नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा संकलित पानी प्रतिदिन ५० देखि ६० सेन्टिमिटरको दरले घट्न थालेको छ । पिकअप र सुक्खायाममा मात्र सञ्चालनमा ल्याउने उद्देश्यले निर्मित कुलेखानी जलविद्युत् आयोजना यति बेला चौबीसै घण्टा सञ्चालनमा आउन थालेको छ । ‘गत फागुन अन्तिम सातादेखि कुलेखानी जलविद्युत्का तीनवटै आयोजना चौबीसै घण्टा सञ्चालनमा ल्याएका छौं,’ कुलेखानी प्रथमका प्रमुख धीरेन्द्र चौधरीले भने, ‘रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरूवाट विद्युत् उत्पादनमा ह्रास आएपछि कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुपरेको हो ।’

गत आर्थिक वर्षको यही अवधिमा कुलेखानी जलाशयमा एक हजार ५ सय १८ मिटर पानीको सतह थियो । अहिले जलाशयमा एक हजार ५ सय १४ मिटर मात्र पानीको सतह छ । यो वर्ष कुलखानी जलाशय पूरा भरिएको थियो । पानी भरिएर १० दिनसम्म ओभरफ्लो भएको थियो । १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गरेर राख्न सकिने क्षमता जलाशयको छ ।

२०७२ सालको भूकम्पअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटर पानी संकलन गर्न ड्याममा बालुवा प्याक गरेका बोरा राख्ने गरिन्थ्यो । अहिले बोरा राखेर जलाशयको क्षमताभन्दा बढी पानी संकलन गर्न छाडिएको छ । मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन् । अहिले जलाधार क्षेत्रमा वर्षा भएको छैन । जलाधार क्षेत्रका खोला पनि सुकेका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न मिल्छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीनवटै आयोजनाले बिजुली उत्पादन गर्छन् ।

...

क्षमता २ हजार, उत्पादन १२ सय मेगावाट मात्र

नेपालमा सञ्चालनमा रहेका विद्युत् आयोजनाको उत्पादन क्षमता २ हजार मेगावाटभन्दा बढी रहे पनि भइरहेको उत्पादन भने १ हजार २ सय हाराहारी मात्र छ । जसमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाबाट ४३५, प्राधिकरणका सहायक कम्पनीबाट ४४९ र निजी क्षेत्रबाट ३०९ मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । धेरैजसो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) भएकाले सुक्खायाममा बिजुली उत्पादन निकै घट्छ । तिनले क्षमताको आधा बराबर पनि बिजुली उत्पादन गर्न सक्दैनन् । प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार अहिले १४४ मेगावाटको कालीगण्डकी–एबाट १२०, ५१ मेगावाटको त्रिशूलीबाट १७, ३० मेगावाटको चमेलियाबाट १५, ७० मेगावाटको मध्य मस्याङ्दीबाट ५२ र ६९ मेगावाटको मर्स्याङ्दीबाट ४६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसैगरी १० मेगावाटको सुनकोसीबाट ६, ६.२ मेगावाटको पुवाखोलाबाट ३ अनि साढे १ मेगावाटको सेती र १ मेगावाटको फेवाबाट १ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

कुलेखानी १, २ र ३ गरेर १०६ मेगावाट बिजुली उत्पादन हुने गरेकामा अहिले १ सय मेगावाट मात्र बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । ६० माथिल्लो त्रिशूली थ्री–ए, १५ मेगावाटको देवीघाटबाट पूर्ण क्षमतामै बिजुली उत्पादन भइरहेको छ ।

प्रकाशित : चैत्र १८, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?