बोर्डले स्वीकृत गर्‍यो १४ अर्ब लगानी

काठमाडौँ — लगानी बोर्ड बैठकले १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बोर्डको ५० औं बैठकले बिहीबार सूर्यतारा सिमेन्ट उद्योगका लागि उक्त लगानी स्वीकृत गरेको हो ।

बोर्डले स्वीकृत गर्‍यो १४ अर्ब लगानी

बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको पनि लगानी बोर्डको कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए । अरुण–३ आयोजना बनाइरहेको भारतीय कम्पनी सतलज जलविद्युत् निगमले यो आयोजना निर्माणको अनुमति पाएको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जीएमआरलाई समय थप्ने निर्णय पनि बैठकले गरेको छ । परियोजना विकास सम्झौता (पीडीए) भएको आठ वर्षसम्म पनि जीएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा रहेको कार्यदलले जीएमआरलाई विभिन्न सर्तसहित थप समय दिन सकिने सुझाव दिएको थियो ।

कार्यदलले जीएमआरसँगको सम्झौता रद्द गर्ने वा वित्तीय व्यवस्थापन गर्न उसलाई सर्तसहित डेढ वर्ष समय थप्ने दुई विकल्प दिएकामा लगानी बोर्ड बैठकले समय थपको निर्णय गरेको हो । तसर्थ जीएमआरसँग समय थपसम्बन्धी सम्झौता गरेर बोर्डको आगामी बैठकमा पेस गर्न भनिएको छ । लगानी बोर्ड बैठकले रासायनिक मल कारखाना खोल्न प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाका लागि अध्ययन अनुमति दिन जर्मनीको कम्पनी डीआईएजीसँग सम्झौता गर्ने प्रस्ताव तयार गरेर बोर्डको अर्को बैठकमा पेस गर्ने निर्णय बोर्डले गरेको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको पनि अधिकारीले बताए । बोर्डको कोष स्थापनासम्बन्धी अवधारणापत्रसमेत बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित : चैत्र १८, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?