राजधानी घोषणा गरेर ढाकाको प्रवर्द्धन

पाल्पाली ढाका बुन्ने सीप एवं कलाको प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधीकरणमा जोड
माधव अर्याल

पाल्पा — ढाका कपडा उद्योगको संस्थापक पाल्पालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार ढाका राजधानी घोषणा गरेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाकाको राजधानी घोषणा गरेको हो ।

राजधानी घोषणा गरेर ढाकाको प्रवर्द्धन

‘पाल्पाली ढाकाको स्थापना भयो । तर यसको बजारीकरणमा खासै ध्यान दिएको पाइएन,’ मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले भने, ‘अब यसको सीप विकास, प्रविधिलाई बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्छ भन्ने मन्त्रालयको चाहनाअनुसार राजधानी घोषणा गरेको हो ।’

मन्त्रालयले पाल्पा र तेह्रथुमलाई ढाका राजधानी घोषणा गर्ने कार्यक्रम चालु आर्थिक वर्षको कार्यक्रममा राखेको थियो । सोहीअनुसार घोषणा गरिएको उनले बताए । पाल्पापछि तेह्रथुमलाई पनि ढाका राजधानी घोषणा गर्ने कार्यक्रम रहेको सहसचिव दुवाडीको भनाइ छ । ‘निर्यातयोग्य सामग्रीका रूपमा ढाकालाई अघि बढाउनेछौं,’ उनले भने, ‘अनुसन्धान गर्न चाहनेहरूका लागि र दातृ संस्थामार्फत परिचालन गर्ने योजना छ ।’ ढाकाको राजधानी घोषणा गरेपछि आगामी दिनमा मन्त्रालय वा अन्य दातृ निकायबाट कार्यक्रम गर्न पनि सहज हुनेछ । २०१५ सालमा स्वर्गीय गणेशमान महर्जनले भित्र्याएको सीप बीचको केही समय उत्पादनमा गिरावट आएको थियो ।

तर पछिल्लो तीन वर्षयता भने पाल्पाली ढाका संघ गठन गरेर यसको प्रवर्द्धन, बजारीकरण, सीप विकासमा सहयोग पुगेको छ । तानसेन नगरपालिका, प्रदेश सरकार र सीप परियोजनाले पनि सहयोग गरेको छ । ढाकाको राजधानी घोषणा गर्न पाल्पाली ढाका संघले समन्वय गरेको छ । ‘अब अर्थतन्त्र बलियो बनाउने माध्यमसँग जोडिनुपर्छ,’ दुवाडीले भने, ‘राजधानी घोषणा गरियो भने हरेक हिसाबले कार्यक्रम गर्न दबाब पर्नेछ र यसकै विकास हुनेछ ।’

दुई स्थानमा कार्यक्रम गर्न १५ लाख बजेट छ । ढाकाको राजधानी घोषणा गर्दैमा यसको प्रवर्द्धन, बजारीकरणमा ठूलो परिवर्तन हुन्छ भन्नेभन्दा पनि भावना र बिम्बसँग जोडिएको दुवाडीले बताए । पाल्पा ढाकाको उद्गमस्थल भएको र ढाकाको प्रवर्द्धन गर्न सबै कुराको प्राप्ति हुन्छ भन्ने सन्देश दिन खोजिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

पाल्पाली ढाका संघमा अहिले ९ उद्योग जोडिएका छन् । प्रदेश सरकार, तानसेन नगरपालिका, यूकेएड सीप परियोजनाको सहयोगमा ४ सयभन्दा बढी महिला तथा पुरुषले तालिम लिएका छन् । राष्ट्रियस्तरको मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि यसको पहिचान पुर्‍याउन अब अझ बढी सहयोग पुग्ने लुम्बिनी प्रदेश सरकारकी कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीको भनाइ छ । ‘सीप विकासमा पुनः उद्योगीहरू लागिपरेकाले पनि अब यसको अन्तर्राष्ट्रिय बजार खोजिनुपर्छ,’ उनले भनिन्, ‘ढाकालाई अब टोपी र चोली, पछ्यौरी मात्र नभई अन्य विविधीकरणमा पनि लैजानुपर्छ ।’

प्रकाशित : चैत्र १६, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?