कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महानगरको लिफ्ट जडानमा अनियमितता आशंका

सम्झौतामा एउटा, ल्याइएको सामान अर्कै भएको भन्दै अख्तियारमा उजुरी
विमल खतिवडा

काठमाडौँ — काठमाडौं महानगरपालिकाको विभिन्न वडा कार्यालयको भवनमा युरोपियन मापदण्डको लिफ्ट जडान गर्ने भनिए पनि सम्झौताविपरीत भारतीय सामान राखेको पाइएको छ । खरिद सम्झौताविपरीत भारतबाट सामान ल्याएर राखेको पाइएपछि केही सप्लायर्स कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायमा उजुरी दिएका छन् । तर यसबारे कुनै निकायबाट सुनुवाइ नभएको ती सप्लायसको गुनासो छ । 

खरिद ऐनअनुसार कम आर्थिक प्रस्ताव पेस गर्ने कम्पनीसँग सम्झौता गर्ने नियम हुन्छ । महानगरले भने कम आर्थिक प्रस्ताव पेस गर्नेलाई पाखा लगाएर बढी प्रस्ताव पेस गर्नेको बोलपत्र स्वीकृत गरेको छ । महानगरका ३, ४, ९, १४ र २६ नम्बर वडामा लिफ्ट जडान गर्ने ठेक्का आरएमएस इन्टरनेसनल काठमाडौंले पाएको छ । ऊसँगको सम्झौतामा युरोपियन मापदण्डअनुसार टर्कीबाट सामान ल्याएर लिफ्ट जडान गर्ने भनिएको छ । तर भारतबाट सामान ल्याएर जडान गर्न लागिएको अन्य सप्लायर्सको दाबी छ ।

‘सम्झौतामा युरोपियन मापदण्डको लिफ्ट ल्याउने भनिएको छ । तर ठेक्का पाउनेले अर्कै देशबाट सामान ल्याएर लिफ्ट जडान गर्दै छ,’ ती सप्लायर्सले भने, ‘हामी छानिएनौं भनेर होइन, तर सम्झौताविपरीत सामान ल्याउँदा महानगरपालिका र सप्लायर्सको मिलेमतो भएको पुष्टि हुन्छ ।’ ती सप्लायर्सले कान्तिपुरलाई उपलब्ध गराएको कागजातअनुसार सामान भारतबाटै ल्याइएको देखिन्छ । पाँच वटा वडामा लिफ्ट जडानको ठेक्का रकम १ करोड ३ लाख ८९ हजार ७ सय ८५ रुपैयाँ छ । तर टेन्डरमा कम आर्थिक प्रस्ताव पेस गर्ने नेपाल लिफ्ट कम्पनीले भने यसको ठेक्का पाएको छैन । उसलाई कागजात नपुगेको भन्दै प्राविधिक मूल्यांकनका क्रममा सम्झौता गर्नबाट रोकिएको बताइएको छ । गैरकानुनी रूपमा सम्झौताविपरीतका सामान ल्याइएको अन्य सप्लायर्सहरूको दाबी छ । आरएमएस इन्टरनेसनलले भारतीय कम्पनी भर्टबाट लिफ्ट ल्याएको पाइएको छ । ‘काठमाडौं महानगरले सुरुमा एक लाख रुपैयाँ महँगो भए पनि टर्कीकै सामान किन्ने भनेको थियो । त्यसैले टर्कीमा उत्पादित लिफ्ट नै ल्याउनुपर्ने हो,’ एक सप्लायर्सले भने, ‘तर किन भारतबाट ल्याइयो ?’ केही सप्लायर्सले अख्तियारमा उजुरी गरेपछि लिफ्ट जडानको ठेक्का पाएको कम्पनीसँग सामानको लिस्ट मागिएको महानगरका इन्जिनियर प्रेम श्रेष्ठले जानकारी दिए ।

नयाँ वडा भवनमा लिफ्ट जडान गर्ने योजनाअनुसार सुरुमा ५ वटामा राख्न लागिएको उनको भनाइ छ । ‘यसमा कुनै मिलेमतो छैन,’ उनले भने, ‘वडा भवनमा अपांगमैत्री बनाउन लिफ्ट जडान गर्न लागिएको हो, सम्झौताअनुसार ठेक्का पाएको कम्पनीले टर्कीबाट सामान नल्याएको भए सामान जडान गरिने छैन, भुक्तानी पनि दिने छैनौं ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार खरिद सम्झौताविपरीत सामान ल्याएको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीका आधारमा अनुसन्धान थालिएको अख्तियार स्रोतले जनाएको छ । आरएमएस इन्टरनेसनल प्रमुख हरिचन्द्र पौडेल हुन् । उनी कांग्रेसनिकट रहेको सप्लायर्सहरूको दाबी छ । यता आरएमएसका मार्केटिङका म्यानेजर सन्तोष घिमिरेले भने आफ्नो कम्पनीविरुद्ध कसैले दुश्मनी साधेर उजुरी गरेको दाबी गरे । ‘ठेक्का नपाउनेहरूले यो सबै गरेका हुन्, अख्तियारमा उजुरी परेको सत्य हो,’ उनले भने, ‘यसमा छानबिन भइरहेको छ । हामीले दिने टर्कीकै सामान हो, टेन्डरमा पेस गरेको कागजातअनुसार नै सामान ल्याएर काम गरिरहेका छौं ।’

प्रकाशित : चैत्र १६, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?