प्रधानमन्त्री देउवा र मोदीले शनिबार रेलको भर्चुअल्ली उद्घाटन गर्दै  

विमल खतिवडा

काठमाडौँ — जयनगर–जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । 

प्रधानमन्त्री देउवा र मोदीले शनिबार रेलको भर्चुअल्ली उद्घाटन गर्दै  


मन्त्रालय स्रोतका अनुसार दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्घाटन गर्ने छन् । १७ महिनादेखि थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको छैन । अहिले ‘ड्राइ रन’का रुपमा रेल चलाइएको छ । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ । ‘अब रेल चलाउन कुनै समस्या छैन,’ महाप्रबन्धक झाले भने, ‘सबै तयारी पूरा भइसकेको छ, दुई देशका प्रधानमन्त्रीले रेलको उद्घाटन गरेपछि यात्रु बोकेर गुड्ने छ ।' २०७७ असोजमा जयनगर–जनकपुर खण्डमा चलाउन ल्याइएका दुई वटा रेल सेट लामो समय त्रिपालले छोपेर राखिएको थियो ।

रेल सञ्चालनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी रहने छन् । अहिले रेल सञ्चालनको तालिम लिएर बसेका ६० जना नेपाली कर्मचारी छन् । कुर्थादेखि जयनगरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्ने गरी भाडादर कायम गरिसकिएको छ । भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।

प्रकाशित : चैत्र १५, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?