सजिवन किलोकै चार सय

होलसेलमा प्रतिकिलो २ सय रुपैयाँ लेखिए पनि कालीमाटीकै खुद्रा बजारमा भने अचाक्ली मूल्य
सीमा तामाङ

काठमाडौँ — अहिले बजारमा सजिवन ४ सय रुपैयाँ किलोसम्ममा खरिदबिक्री भइरहेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीमा होलसेल मूल्य न्यूनतम १५० रुपैयाँदेखि अधिकतम २ सय रुपैयाँ उल्लेख छ ।

सजिवन किलोकै चार सय

तर खुद्रा बजारमा ३५० रुपैयाँदेखि ४ सय रुपैयाँमा सजिवन बिक्रीवितरण भइरहेको छ । कालीमाटीकै व्यवसायी जफरुल मियाँले कलिलो सजिवन प्रतिकिलो ४ सय रुपैयाँ र छिप्पिएको २ सय रुपैयाँमा बेचिरहेका छन् ।

‘सजिवन भारतबाट आयातित र यहीँ उत्पादन हुन्छ, अहिले लालबन्दीको बेचिरहेका छौं,’ मियाँले भने । व्यापारीले लालबन्दीबाट ल्याएर बेचेको भनिए पनि उक्त ठाउँमा घरायसी प्रयोजनका लागि मात्र रोप्ने गरिएको लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति पाख्रिनले प्रस्ट्याइन् । ‘किसानले दुई–चार बोट घरकै लागि रोपेका छन् । तर बेच्नकै लागि रोप्ने कोही छैनन्,’ उनले भनिन् ।

कालीमाटी बजारको मूल्यसूचीअनुसार चैत पहिलो साता प्रतिकिलो १८० देखि २०० रुपैयाँ होलसेल मूल्य थियो । चैत ८ र ९ मा २५० देखि ३०० रुपैयाँ थियो । चैत १० र ११ मा १६० देखि २०० रुपैयाँ थियो । चैत १२ र १३ मा १५० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष चैत १३ मा भने प्रतिकिलो १६० देखि १८० रुपैयाँ होलसेल मूल्य थियो ।

कालीमाटी बजारका अनुसार यस वर्ष पुस १९ देखि २१ सम्म ३८०/४०० रुपैयाँ किलो थियो । पुस २४ र २५ गते ३०० देखि ३२० रुपैयाँ किलो थियो । पुस २६ देखि २८ सम्म २८० देखि ३०० रुपैयाँ थियो । पुस २९ देखि माघ ३ गतेसम्म सजिवनको मूल्य अद्यावधिक गरिएको थिएन । माघ ४ देखि ७ सम्म प्रतिकिलो २०० देखि २५० रुपैयाँ थियो । माघ ८ मा अद्यावधिक गरिएको थिएन । माघ ९, १० र ११ मा प्रतिकिलो २०० देखि २५० रुपैयाँ थियो । माघ १२ देखि १४ सम्म अद्यावधिक गरिएको थिएन ।

माघ १५ र १६ मा प्रतिकिलो १८० देखि २०० रुपैयाँ थियो । माघ १७ मा फेरि २०० देखि २५० रुपैयाँ पुगेको थियो । यसपछि फागुन १ सम्म आइपुग्दा प्रतिकिलो २८० देखि ३०० रुपैयाँ पुगेको थियो । फागुन २ मा २६० देखि २८० थियो । फागुन ३ मा २८० देखि ३०० थियो भने यसपछि फागुनभर प्रतिकिलो २०० देखि २५० रुपैयाँमा कारोबार भएको थियो ।

सुरुवातमा होलसेल मूल्य नै प्रतिकिलो ३८० देखि ४०० रुपैयाँ थियो । अहिले होलसेल मूल्य २ सय रुपैयाँमा झरेको छ । कालीमाटीमा प्रतिकिलो ४ सय रुपैयाँमा खुद्रा कारोबार भइरहेको सजिवन शंखमूलमा भने ३५० रुपैयाँमा पाइएको छ । आफूले प्रतिकिलो सजिवन ३५० रुपैयाँमा बेचिरहेको शंखमूलकी व्यवसायी सुनिता खतिवडाले जानकारी दिइन् । ग्राहकको मागअनुसार मात्रै सजिवन ल्याउने गरेको उनले सुनाइन् । सजिवनलाई ठाउँअनुसार फरक–फरक नामले चिनिन्छ ।

सहिजन, सैजन, सजिवन, मनुगा, ड्रमस्टिक, शीतलचिनी, मरिंगालगायत नामले चिनिने यससम्बद्ध विज्ञ बताउँछन् । नेपालको झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा यसको उत्पादन हुने गरेको छ । लामा–लामा बोडी आकारमा यसका कोसा फल्छन् । यसको डाँठ, फूल, कोसा र बियाँ सबै प्रयोग गर्न मिल्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको नेपाली कृषिसम्बन्धी तथ्यांकीय जानकारी २०७६ अनुसार देशभर १ सय १४ हेक्टर क्षेत्रफलमा सजिवन खेती गरिन्छ । यसबाट बर्सेनि २ हजार २ सय २२ टन सजिवनको कोसा उत्पादन हुने गर्छ । सात प्रदेशमध्ये लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालसम्म उत्पादन भएको छैन । सबैभन्दा बढी मधेस प्रदेशमा ७५ हेक्टर जमिनमा खेती गरिएको छ, जसबाट २ हजार २४ टन सजिवन उत्पादन हुने गरेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित : चैत्र १४, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?