ठूलो परिमाणमा पैसा कहाँ हरायो ?,  म खोज्दै छु : अर्थमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन् । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको बताए । 

शुक्रबार दिउँसो नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । ‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । उनले भने ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’

पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए । ‘बैंकको ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले दोहोऱ्याए । बैंकिङ प्रणालीमा विस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने उनको दाबी छ ।

मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर रहेको मन्त्री शर्माले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य वस्तु, खानेतेल, प्लास्टिक लगायतको मूल्य बढेको छ । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ’ उनले भने ‘त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तर स्थिति हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।’ रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको उनले बताए ।


प्रकाशित : चैत्र ४, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल टेलिकमले मोबाइल डेटा शुल्क घटाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्तालाई विभिन्न अवसरमा प्रदान गर्दै आएको अस्थायी अफरलाई चाँडै नै स्थायी बनाउने जनाएको छ । यसो गर्दा डेटामा १५ देखि २० प्रतिशत मूल्य कम हुने टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् ।

‘होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला प्रदान गरिने सिजनल अफरहरूलाई पर्मानेन्ट बनाउन हामीले नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेका छौं,’ शुक्रबार एक कार्यक्रमा पहाडीले भनिन्, ‘रेगुलर डेटामा १५ देखि २० प्रतिशत मूल्य घटाउने उद्देश्य हो ।’

टेलिकमले तयार पारेका प्याकेज नलिई मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा हाल प्रतिएमबीपीएस १ रुपैयाँ शुल्क काटिन्छ । तर, प्याकेज लिएमा स्किमअनुसार प्रतिएमबी ४/५ पैसामै इन्टरनेट चलाउन सकिने पहाडीले बताइन् । ‘प्याकेज नलिई प्रयोग गर्दा वायरलेस इन्टेरनेट महँगो पर्न जान्छ,’ उनले भनिन्, ‘यद्यपी, पछिल्लो दुई वर्षमा हामीले डाटाको मूल्य २५ प्रतिशत घटाएका छौं ।’

उनका अनुसार नेपाल टेलिकमको वायरलेस ब्रोडब्यान्ड सेवाको शुल्क महँगो छैन । तर, फिक्स्ड ब्रोडब्यान्ड भने अन्य टेलिकमको भन्दा महँगो भएको उनको भनाइ छ । ‘हामीले ६.५ अमेरिकी डलरमा ब्याडविथ किनिरहेका छौं,’ उनले भनिन्, ‘यो आफैंमा महँगो हो । हामी खुद्रामा किन्दैनौं, थोकमा लिँदा र सरकारी प्रक्रियाअनुरुप भुक्तानी गर्नुपर्ने भएकाले महँगो परेको हो ।’


प्रकाशित : चैत्र ४, २०७८ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×