सांघाईमा टेस्लाले उत्पादन बन्द गर्ने

काठमाडौँ — विद्युतीय सवारीकाे अग्रणी निर्माण कम्पनी टेस्लाले चीनको सांघाईमा केही दिनका लागि उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले आफ्ना वितरकहरूलाई पठाएको आन्तरिक सूचनाअनुसार चीनले कोभिडको पछिल्लो प्रकोपलाई रोक्न कडा प्रतिबन्ध लगाएकाले टेस्लाले तत्काललाई दुई दिनका लागि कारखानाको काम बन्द गर्ने भएको हो ।

सांघाईमा टेस्लाले उत्पादन बन्द गर्ने

बुधबार (२ चैतमा) सूचना जारी गर्दै कम्पनीले हाललाई बुधबार र बिहिबार उत्पादन-कार्य रोक्ने जनाएको छ । सांघाईस्थित टेस्लाको कारखानालाई गिगाफ्याक्ट्री थ्री भन्ने गरिन्छ । यसले टेस्लाको मोडेल थ्री सेडान र मोडल वाई स्पोर्टस् युटिलिटी भेहिकल निर्माण गर्छ ।

सांघाईसहित चीनका थुप्रै शहरमा मास टेस्टिङको काम भइरहेको छ भने आवासीय र कार्यालय भवनहरूमा आवतजावत कम गर्न घेरा हालिएको छ । दुई वर्षयताकै ठूलो प्रकोपका रूपमा कोभिड फैलिएर चीन सरकारले कडा नियम लगाएपछि देशका विभिन्न ठाउँमा औद्योगिक कारखानाहरू बन्द हुन थालेका छन् । यसले वितरण प्रणालीमा प्रभाव पारेको रोयटर्सले जनाएको छ ।

यस विषयमा टेस्लाले हालसम्म सार्वजनिक रूपमा केही बोलेको छैन । टेस्लाको सांघाई फ्याक्ट्रीले चिनियाँ बजारका लागि कार उत्पादन गर्दै आएको छ । यहाँ बनेका कार जर्मनी र जापानमा पनि ठूलो संख्यामा निर्यात हुने गरेका छन् । गत फ्रेबुअरीमा मात्रै कारखानाबाट ५६ हजार ५ सय १५ वटा सवारी साधान बिक्री भएका थिए । तिनमा ३३ हजार ३ सय १५ वटा कार निर्यात गरिएको चाइना प्यासेन्जर कार एसोसिएसनले जनाएको छ । दिनमा औसत २ हजार १८ वटा टेस्ला कार सांघाईबाट निर्यात हुने गरेका छन् ।

प्रकाशित : चैत्र २, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?