जता बाटो उतै व्यापार
तेह्रथुम — सडक निर्माण भएर ढुवानी सुविधा भएपछि दुर्गम गाउँका केन्द्र पनि बजारमा परिणत हुँदै आएका छन् । ‘जता बाटो उतै व्यापार’ भन्ने उखान अहिले गाउँ-घरमा चरितार्थ भएको छ । जिल्लाका गाउँसम्मै सडक सञ्जाल विस्तार र व्यवस्थित हुँदै गएपछि बजारको व्यापार गाउँतिर पनि सरेको छ ।
सडक सञ्जालले गाउँलाई जोडेपछि गाउँघरमा बजार व्यवस्थाको अभ्यास शुरु भएको थर गाउँपालिका अध्यक्ष्य सन्तवीर लिम्बूले बताए । उनका अनुसार बजार व्यवस्थाले गाउँको दैनिकी सहज हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाएको छ । अहिले सडक सञ्जाल जिल्लाका सबै वडा तहसम्म पुगेको छ । जिल्लाका लसुने, चित्रे, देउराली, मंगलबारे, संसारे, ओख्रे, मोराहाङ, श्रीजुङ, ओयाक्जुङ, चुहानडाँडा लगायत स्थानहरू पछिल्लो समय सडक विस्तारपछि विकास भइरहेका ग्रामिण बजार हुन् । यी कतिपय स्थानलाई जिल्लाको बीच भागबाट निर्माण भैरहेको मध्यपहाडी लोकमार्गले छोएको छ । त्यसले पनि बजार विकासमा सहयोग पुर्याईरहेको छ ।
पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग आयोजनाको ट्रयाक खुलेसँगै यस भेगमा साना–साना चोकहरू बनाएर व्यापार थाल्नेको संख्या बढेको छ । यी स्थानमा अहिले निकै चहल–पहल हुन्छ । ‘केही वर्षअघिसम्म दैनिक उपभोग्य वस्तु किन्न सदरमुकामै पुग्नुपर्थ्यो,’ फेदाप गाउँपालिका–१, माझीबस्तीका विनोद माझीले भने, ‘अहिले त गाउँमै सानातिना पसल प्रशस्तै खुलेका छन् ।’ सडक विस्तारसँगै गाउँमा बजार पुगेपछि गाउँका स–साना केन्द्रहरू बजारमा रुपान्तरण भइरहेको माझीले बताए ।
दुर्गम माझीबस्तीमा गाउँपालिका केन्द्र, पोक्लाबाङ बजार जोड्ने सडक निर्माण भैसकेको छ । पोक्लाबाङबाट माझीबस्तीको पुछारमा रहेको तमोर नदीसम्मै सडक बनेपछि माझी समूदायको दैनिकीमा परिवर्तन आएको वडा अध्यक्ष्य मनबहादुर श्रेष्ठले बताए । तत्कालिन जिल्ला विकास समिति, गाविस, विभिन्न सरकारी तथा गैरसरकारी परियोजना तथा पछिल्लो समय कार्यान्वयनमा आएका स्थानीय तहमार्फत् खनिएका सडकले जिल्लाका ग्रामीण केन्द्रबीच सम्पर्क बढाएको छ ।
व्यापारी, संघ–संस्था, बैंक तथा वित्तीय संस्थाहरू गाउँमा विकास भएका नयाँ बजारहरू खोज्दै गाउँ–गाउँ पुग्ने गरेका छन् । मोटर बाटो पुग्नुअघि भरिया र खच्चडबाट सामान ढुवानी गरी स्थानीयको आवश्यकता धानिरहेका स–साना बजारको व्यापार भने पहिलेको तुलनामा बाँढिएको छ । सडक सुविधाले दुर्गममा यातायात र ढुवानी त सहज भएको छ नै, गाउँको सुविधा र जीवनशैलीमा समेत परिवर्तन आएको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष्य शभा पौडेलले बताए ।
उपभोक्ता र ग्रामीण बजारसँगको साइनो जोड्ने यस्ता सडकको मर्मत–सम्भार, संरक्षण र स्तरोन्नतिको दायित्व उपभोक्ता र स्थानीय सरकारलाई छ । सडकसँगै पुग्ने बजारको विस्तार र स्थायित्वका लागि पनि स्थानीय सरकारको भूमिका प्रभावकारी हुने प्रदेश सांसद् लक्ष्मण तिवारीले बताए ।
प्रकाशित : फाल्गुन २१, २०७८ १३:५७