कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अवैध मोबाइल रोक्न वैशाखबाट 'एमडीएमएस' प्रणाली

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध मोबाइल नियन्त्रणका लागि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आउँदो वैशाख मसान्तबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

अवैध मोबाइल रोक्न वैशाखबाट 'एमडीएमएस' प्रणाली

शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस प्रणाली कार्यान्वयनका लागि भइरहेको प्रगति विवरण पेश गरेका थिए । खनालका अनुसार एमडीएमएसका लागि सर्भिस प्रोभाइडर छनोट हुनुका साथै आवश्यक सफ्टवेयर आयात गरी जडानको काम सम्पन्न भएको छ । ‘इम्पोटर मोडल सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘कस्टम मोडल सञ्चालन तयारीको अवस्थामा छ । मोबाइल नेटवर्क अपरेटर र ल इन्फोर्समेन्ट एजेन्सी मोडल सञ्चालनमा ल्याउने तहमा पुगेका छौं ।’

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा साउन १ बाट एमडीएमएस लागू गर्ने भनिएको थियो । सोही अनुरुप लागूको घोषणा गरिए पनि यसले अझै पूर्णता पाएको छैन । एमडीएमएस प्रणालीबारे २०७६ सालदेखि चर्चा भइरहेको छ । यसका लागि आवश्यक उपकरण ल्याउन तीनवटा विदेशी कम्पनी सम्मिलित (जेभी) सप्लायरलाई ठेक्का दिइएको थियो । जेभीले २०७७ मा पहिलो लट उपकरण ल्याइदिएको थियो, जुन सिंहदरबारस्थित सूचना प्रविधि केन्द्रमा थन्किएर बसेको छ ।

एमडीएमएस स्थापना गर्न भएको ढिलाइले अवैध मोबाइलको व्यापार जारी रहेको र सरकारले पाउनुपर्ने राजस्व गुमेको व्यवसायीहरूले बताउँदै आएका छन् । यो प्रणाली तुरुन्तै कार्यान्वयनमा नल्याए आफूहरू धर्नामा उत्रिने चेतावानी उनीहरूले दिएका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?