कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजिटल वालेट दुरुपयोग गरेर आर्थिक अपराध

६ महिनाभित्रै डिजिटल वालेट प्रयोगकर्ताको खाताबाट झन्डै एक करोड ठगी
जनकराज सापकोटा

सुनसरी — डिजिटल वालेट प्रयोगकर्ताले सामान्य सचेतना पनि नअपनाउँदा भएको एउटा ठगीको घटनामा कसरी नक्कली सिम र सामाजिक सञ्जाल टिकटकको पनि दुरुपयोग हुन्छ भन्ने एउटा घटना सार्वजनिक भएको छ ।

डिजिटल वालेट दुरुपयोग गरेर आर्थिक अपराध

डिजिटल वालेट प्रयोगकर्ताको अज्ञानता र मोबाइल सिम वितरण प्रणालीमा विद्यमान कमजोरीको फाइदा उठाउँदै वीरगन्जका १९ वर्षीय शुभम् साहले ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको घटनाले आर्थिक अपराधको फेरिँदो आयामबारे बुझाउँछ ।

भक्तपुरमा बस्ने रामहरि स्माइली मगरलाई फोन आयो । डिजिटल वालेट सेवा प्रदायक कम्पनी ई–सेवाको कर्मचारी बताउने वीरगन्जका शुभम् साहले भने, ‘म ई–सेवाबाट बोलेको । तपाईंले आफ्नै खातामा ५० हजार डिपोजिट गर्नुभयो भने २ हजार ५ सय रुपैयाँ बोनस पाउनुहुन्छ ।’ रामहरिले सोचे, ‘आफ्नै खातामा पैसा जम्मा गरेपछि पाउने बोनस किन गुमाउने ?’ ५० हजार डिपोजिट गरेपछि पनि बोनस नआएपछि रामहरिले फोन गरे । फोन बातचितमै १२ कक्षा अध्ययनरत शुभम्ले भने, ‘बोनस दिने प्रक्रिया हुँदै छ ।’ कुरैकुरामा शुभम्ले सोधे, ‘तपाईंको मोबाइलमा एउटा नम्बर आयो होला, त्यो भन्नुस् त ।’ सोझा रामहरिले एसएमएसमा आएको नम्बर दिए ।

रामहरिले दिएको नम्बर ‘ओटीपी’ (वन टाइम युज पासवर्ड) थियो । प्रविधिबारे चलाख शुभम्ले आफ्नो ई–सेवा अकाउन्ट हात पार्ने प्रयास गरेको रामहरिले पत्तै पाएनन् । उनले दिएको ओटीपीकै भरमा शुभम्ले ई–सेवा खाता आफ्नो नियन्त्रणमा लिए । एकैछिनमा शुभम्ले उनको खाताबाट ४ लाख ८८ हजार रुपैयाँ आफ्नोमा सारिहाले ।

शुभम्सँग गोंगबुमा मोबाइल पसल चलाउने जनक बस्नेतको सम्पर्क नम्बर थियो । बस्नेत हरेक रात टिकटकमा लाइभ बस्थे । उनी टिकटक लाइभबाटै सम्भावित ग्राहकको सम्पर्कमा पुग्थे र उनीहरूलाई मोबाइल बेच्थे । टिकटक लाइभको च्याटबाटै शुभम्ले जनकको नम्बर पाएका थिए । उनले जनकलाई फोन गरेर दुईवटा आइफोन १३ प्रो म्याक्स किन्न खोजेको बताए । जनकले आफूसँग त्यस्तो मोबाइल नभएकाले साथीसँग भनेर उपलब्ध गराइदिने बताए । जनकले मोबाइलका निम्ति अर्का मोबाइल पसले साथी सुभाष सिग्देललाई भने । शुभम्ले रामहरिको ई–सेवामा कनेक्ट भएको उनको बैंक खाताबाट १ लाख ९० हजार सुभाषको बैंक खातामा पठाइदिए । शुभम्लाई आइफोन पठाउँदा तीन हजार फाइदा हुने भए पनि सुभाषले न्युरोडस्थित एक पसलबाट मोबाइल झिकाएर जनकमार्फत वीरगन्ज पठाइदिए ।

आफ्नो ई–सेवा ह्याक गरेर बैंकबाट रकम कसैले झिकिरहेको सूचना रामहरिले सम्बन्धित बैंकले गर्ने मोबाइल म्यासेजमार्फत पाइरहेका थिए । उनले हत्तपत्त बैंकमा पुगेर खाता बन्द गराए र उजुरी बोकेर महानगरीय अपराध महाशाखा पुगे । प्रहरीले शुभम्का क्रियाकलापमाथि अनुसन्धान सुरु गर्‍यो । शुभम्ले रामहरिलाई ठगेजस्तै गरी ई–सेवाको कर्मचारी बनेर अरू व्यक्तिको पनि अकाउन्ट ह्याक गर्दै खातामा अनधिकृत पहुँच काम गर्दै आएका रहेछन् ।

शुभम्ले जनकसँग जस्तै गरी अर्को मोबाइल पसलमा पनि आइफोन किन्न रकम पठाइसकेका रहेछन् । प्रहरीले ती मोबाइल पसलेलाई मोबाइलको खोलभित्र साबुन राखेर पठाउन अह्रायो । पसलेले प्रहरीले भनेजस्तै गरे । मोबाइलबारे बुझ्न जब शुभम् पुगे, तब प्रहरीले उनलाई पक्राउ गर्‍यो । महाशाखाका अनुसार शुभम्ले ई–सेवाको खातामा अनधिकृत पहुँच कायम राखेर विभिन्न व्यक्तिबाट ७ लाख २७ हजारभन्दा धेरै ठगेको देखिएको छ । प्रहरीले ठगी कार्यमा शुभम्लाई सघाउने वीरगन्जकै सर्फराज आलमलाई पनि पक्राउ गरेको छ ।

प्रारम्भिक बयानमा शुभम्ले आफूले ठगी नगरेको दाबी गर्दै आएका छन् । किनकि शुभम्ले जुन मोबाइल नम्बरबाट रामहरिसँग कुरा गरेका थिए, त्यो उनले गायब पारिसकेका थिए । प्रहरीले कल डिटेल रेकर्ड (सीडीआर) बाट उक्त सिम शुभम्कै मोबाइलमा प्रयोग भएको निष्कर्ष निकालिसकेको छ । प्रहरी अनुसन्धानले अर्को कुरा पनि पत्ता लगायो कि शुभम्ले ठग्न प्रयोग गरेको एनसेलको सिम नवलपरासीका विष्णु भगवान चौधरीको नागरिकता प्रयोग गरेर निकालिएको देखिन्छ । व्यापारिक प्रतिस्पर्धामा परेर मोबाइल सेवा प्रदायकहरूले प्रामाणिक डकुमेन्टबिना नै सिम वितरण गर्दा त्यस्ता सिमको आर्थिक अपराधमा प्रयोग हुने क्रम बढिरहेको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

मोबाइल बैंकिङको बढ्दो प्रयोगसँगै यसबाट आर्थिक अपराधका विभिन्न घटना हुने क्रम बढ्दै गएको देखिन्छ । प्राविधिक साक्षरताको कमी, भर्चुअल अपराधका घटनामाथि अनुसन्धान र अभियोजन गर्ने कानुनको अभाव र कमजोर अनुसन्धान प्रणालीको फाइदा शुभम्जस्ता प्रविधिमा सिपालु तन्नेरी पुस्ताहरूले गलत तरिकाले उठाइरहेका छन् ।

महाशाखाका अनुसार पछिल्ला ६ महिनामा मात्रै डिजिटल वालेट सेवा प्रदायक ई–सेवा र खल्तीका खातामा अनधिकृत पहुँच बनाएर भएका ४६ ठगीका घटना प्रहरीमा आएका छन् । जसमा पीडितहरूले ९८ लाख ५९ हजार ५ सय ८६ रुपैयाँ गुमाएका छन् । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला प्रहरीमा नआएका पीडितहरूको संख्या झनै ठूलो हुन सक्ने र देशैभरि यस्ता घटना भइरहेको हुन सक्ने आकलन सुनाउँछन् ।

प्रयोगकर्तालाई प्रलोभनमा पारेर ओटीपी फुत्काउने कामबारे आफूहरू जानकार रहेको ई–सेवाप्रदायक संस्था एफवान सफ्ट ग्र्रुपका निर्देशक सुवास शर्माले बताए । यस्ता घटना रोक्न आफूहरू जनचेतना विस्तारमा लागिरहेको उनको भनाइ छ । आफ्नो सम्पर्कमा आएका पीडितहरूलाई प्रहरीमा रिपोर्ट गर्न अनुरोध गरिरहेको उनले जनाए । प्रलोभन देखाएर वा अन्य तरिकाले ओटीपी हात पार्ने र प्रयोगकर्ताको खाताबाट पैसा चोर्ने प्रवृत्ति निरुत्साहित पार्न आफूहरूले जनचेतना जगाउने काम गरिरहेको मोबाइल वालेट खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् । ओटीपीको विकल्प केही हुन सक्छ कि भन्नेबारे पनि अध्ययन गरिएको उनको भनाइ छ । ‘हामीले राष्ट्र बैंकसँग हुने छलफलमा पनि यस्तो समस्या समाधान गर्न के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन २०, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?