१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एक युनिट बिजुलीमा ४ रुपैयाँ ८३ पैसा नाफा खान्छ विद्युत् प्राधिकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — बिजुली खरिद र बिक्री रकममा रहेको ठूलो अन्तर (मार्जिन) ले सरकारी कम्पनी नेपाल विद्युत् प्राधिकरणको वित्तीय स्वास्थ्य राम्रो बन्दै गएको छ । बिजुली प्रसारण, वितरण र व्यापारमा एकाधिकार कायम गरेको प्राधिकरणले उपभोक्तालाई महँगोमा बिजुली बेचेको भन्दै आलोचना समेत हुने गरेको छ । त्यसको कारण हो, उसले सस्तोमा बिजुली किनेर महँगोमा बेच्नु ।

एक युनिट बिजुलीमा ४ रुपैयाँ ८३ पैसा नाफा खान्छ विद्युत् प्राधिकरण


इक्रा नेपालले सार्वजनिक गरेको प्राधिकरणको क्रेडिट रेटिङसम्बन्धी विवरणअनुसार बिजुलीको खरिद मूल्य र बिक्री मूल्यमा ठूलो मार्जिन राखेर प्राधिकरणले नाफा कमाउँदै आएको छ । इक्राको विवरणअनुसार प्राधिकरणले सन् २०२१ मा निजी क्षेत्रबाट औसत ५ रुपैयाँ ८६ पैसामा बिजुली किनेको थियो । नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट उत्पादित बिजुलीको उत्पादन लागत भने प्रतियुनिट ६७ पैसा बराबर मात्रै हो ।

त्यस्तै, भारतबाट प्रतियुनिट औसत ७ रुपैयाँ २२ पैसा बिजुली आयात गरेर बेचेको थियो । यसरी प्राधिकरणले सम्पूर्ण रुपमा औसत प्रतियुनिट ४ रुपैयाँ ८१ पैसामा बिजुली किनिरहेको छ । तर उसले बिक्री गरेको बिजुलीको औसत मूल्य भने प्रतियुनिट ९ रुपैयाँ ७४ पैसा बराबर छ । यसरी प्राधिकरणले एक युनिट बिजुलीको व्यापारमा ४ रुपैयाँ ८३ पैसा खुद नाफा कमाइरहेको छ ।

अहिले निजी क्षेत्रका आयोजनाहरुसँग प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) दर वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा हो । प्राधिकरणले केही समयअघि आफ्नो अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै सरकारी संस्थानहरुमा सबैभन्दा बढी नाफा कमाएको दावीसमेत गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ ।

नाफा बढेकोबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धिलगायत कारण रहेको बताएका थिए । त्यस्तै पुसबाट लागू हुनेगरी समायोजन भएको महसुलका कारण चालु आर्थिक वर्षको बाँकी अवधिमा आम्दानी घट्न सक्ने भएपनि यसवर्षको कुल नाफा १५ अर्ब रुपैयाँ भन्दा बढी हुने प्राधिकरणले बताउँदै आएको छ ।

नेपालको बिजुली निकै महँगो भएको र यसले औद्योगिक वस्तुको उत्पादन लागत बढाएको भन्दै आलोचना हुने गरेको छ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार गत पुस महिनाबाट लागू हुनेगरी विद्युतको नयाँ महसुल लागू भएको छ । पहिलेको तुलनामा महसुल सामान्य घटेपनि अहिलेसमेत ग्राहकले प्रतियुनिट ९ रुपैयाँ ५० पैसा देखि ११ रुपैयाँ ५० पैसासम्म तिरिरहेका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?