कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयातित तरकारीमा साढे १८ हजार नमुना परीक्षण गर्दा १५ मा विषादी

कान्तिपुर संवाददाता

काठमाडौँ — आयातित तरकारीमा जीवनाशक विषादीको मात्रा घट्न थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार दोस्रो चौमासिक अवधिमा १८ हजार ८ सय २६ नमुना परीक्षण गर्दा १५ नमुनामा कैफियत देखिएको हो ।

आयातित तरकारीमा साढे १८ हजार नमुना परीक्षण गर्दा १५ मा विषादी

‘परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, तथा आलुका ९ वटा नमुना पहेँलो जोन र ६ नमुना रेड जोनमा परेका छन्,’ प्रवक्ता महर्जनले भने, ‘उक्त प्रतिवेदन सम्बन्धित भन्सार कार्यालयलाई पठाएका छौं।’ तरकारीको विषादीमा ३५ प्रतिशतसम्म इनिमेसन रेटलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेँलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत दिइएको छ ।

पहेँलो जोनमा परेकालाई तत्काल खान अयोग्य मानिए पनि केही दिन होल्डमा राखेर प्रयोग गर्न मिल्ने विभागले जनाएको छ । ४५ प्रतिशतभन्दा माथिलाई भने खानलाई पूर्ण रुपमा अयोग्य मानिन्छ । ‘पछिल्लो समय विषादी प्रयोगमा केही सुधार भएको देखिन्छ । विषादीको मात्रा परीक्षण गर्दा घटेको देखिन्छ,’ महर्जनले भने ।

यसअघि नेपालमा आयात हुने तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेषको बिश्लेषण केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको आरबीपीआर परीक्षण इकाईबाट भइरहेको थियो । कात्तिक १ गतेदेखि खाद्य प्रविधि विभाग अन्तर्गतका कार्यालयहरुले गरिरहेका छन् । विभागको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यलय काकडभित्ता, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीबाट परीक्षण भइरहेको महर्जनले बताए ।


प्रकाशित : फाल्गुन ९, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?