खेतीमा बेहिसाब क्षति- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

खेतीमा बेहिसाब क्षति

अधिक वर्षा, सुक्खापन, रोग–किराको प्रकोप, माटोको उर्वराशक्ति नाशलगायत कारणले उत्पादन घट्दो छ, यसमा प्रत्यक्ष–अप्रत्यक्ष जलवायु परिवर्तनकै हात छ भन्नेमा विज्ञहरु एकमत छन् तर यसको असर र प्रभावबारे अध्ययन गर्न सरकार बजेट र जनशक्ति अभाव भन्दै पन्छिरहेको छ
राजु चौधरी

काठमाडौँ — गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाले कैलाली भजनी नगरपालिका–८ का ध्वाजबहादुर विश्वकर्माले २ बिघामा लगाएको धानबाली नष्ट भयो । प्रतिबिघा करिब २५ क्विन्टलसम्म धान फलाउँदै आएका उनले यसपालि एक दाना पनि भित्र्याउन पाएनन् ।


धान काट्ने बेला मौसम घमाइलो भए पनि बेमौसमी वर्षाले पाँजा सुकाएर राखेको बाली नै बगाइदिएको हो । कात्तिकमा विपत्ति भोगेका उनलाई अहिले पुनः गहुँबाली जोगाउन चिन्ता परेको छ । ‘गहुँ कात्तिक पहिलो साता नै छरिसक्नुपर्थ्यो तर हिलाम्मे खेत नसुक्दा मंसिरमा लगायौं । छरिसकेपछि फेरि सुक्खा भयो । अलिअलि पानी त लगायौं तर भोलिपल्टै वर्षा भयो,’ उनले भने, ‘पानी धेरै हुँदा गहुँ सबै पहेंलो भएको छ ।’

यस क्षेत्रका किसानले २०६१ यता लगातार यस्तो समस्या भोगिरहेका छन् । मौसम परिवर्तन, हिउँदमा चिसोले तरकारी नै बिग्रनेलगायत प्राकृतिक विपत् भोग्न बाध्य भइरहेको भजनी–८ कै अर्का किसान खेमराज काफ्लेले बताए । कृषिमा प्राकृतिक विपत्तिको कहर बर्सिएपछि घरखर्च धान्न अहिले भारतकै भर पर्नुपरेको उनको गुनासो छ ।

बाँके खजुरा गाउँपालिका–४ का दाताराम पौडेलले २७ कट्ठामा लगाएकामा बेमौसमी वर्षाले १५ कट्ठाको धान नष्ट भयो । ‘विगतमा यस्तो समस्या थिएन । यसपालि एक्कासि मौसम परिवर्तन भयो । हुरी र पानीले धान सबै डुबायो,’ उनले भने, ‘तर सरकारबाट कुनै राहत पाएका छैनौं ।’ गत असोज ३१ देखि सातासम्म भएको वर्षाले मुलुकभर १ लाख ११ हजार ६ सय ९ हेक्टर धानबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । जसबाट किसानलाई करिब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ (४ लाख २४ हजार १ सय १३ टन) क्षति भएको छ तर अहिलेसम्म राहत पाएका छैनन् ।

सलह, फौजी किराबाट पनि किसानहरू पीडित छन् । २०७७ असारमा सलहको प्रकोप तराई, पहाडदेखि हिमालसम्मै गरी करिब ५२ जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍यायो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब १ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा क्षति पुगेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकमा छ । तर त्यसबेला पनि किसानले राहत पाएनन् । केन्द्रका अनुसार यसअघि नेपालमा सलहको प्रकोप सन् १९६२ मा देखिएको थियो । काठमाडौं, भक्तपुर, काभ्रे, धादिङ, भक्तपुरलगायत क्षेत्रमा असर देखिएको थियो । तर त्यतिबेला थोरै परिमाणमा भित्रिएकाले ठूलो क्षति निम्तिएन । केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंका अनुसार सलहको प्रकोप जलवायु परिवर्तनको असर हो । ‘पानी नपर्ने मरुभूमि क्षेत्रमा पटक–पटक पानी परिदियो, त्यसले बालुवामा सुहाउँदो चिस्यान पुग्यो, त्यही भएर सलहको सख्या ह्वातै बढ्ने गरेको देखिन्छ,’ उनले भने, ‘वायुको चाप नेपालतर्फ पर्दा यहाँ पनि असर देखियो । सलहलाई अनुकूल अवस्था हुँदा त्यस्तो हुन्छ, यो सब जलवायु परिवर्तनले भएको हो ।’

जलवायु परिवर्तनकै कारण पछिल्लो समय बालीनालीमा नयाँ रोग–किराहरू देखिएका छन् । विगतमा तराई क्षेत्रमा लाग्ने रोग–किराहरू अहिले माथिल्लो भेगसम्मै पुगेको पाइएको छ । ‘अहिले धेरै समस्या आएका छन् तर रोग–किराको संख्या ठ्याक्कै भन्नलाई अध्ययन भइसकेको छैन,’ उनले भने, ‘यसको अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गर्नुपर्ने हो । भएको जस्तो लाग्दैन ।’

बढ्दो तापक्रम र प्रकृतिमा आएको परिवर्तनले नेपालको कृषि उत्पादनमा जोखिम बढ्दै गएको जानकारहरू बताउँछन् । कृषि क्षेत्रमा खडेरी, बाढी, असिना, शीतलहर, गर्मी, चट्याङ र किरा–रोगको समस्या बढ्न थालेको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०१४ मा गरेको एक अध्ययनले दीर्घकालमा जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा मात्र कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत क्षति हुने आकलन गरेको थियो । पछिल्लो समय असर थपिएको छ । यद्यपि, यसको अध्ययन कुनै निकायबाट हुन नसकेको कृषिविज्ञ कृष्ण पौडेलले बताए । ‘देशव्यापी अध्ययन नभए पनि नेपालमा करिब १० प्रतिशत नदीनाला सुके । चुरेलगायत क्षेत्रका पानीको मुहान पनि सुकेका छन् । यसको अध्ययन कहींबाट भएको देखिएन,’ उनले भने, ‘नयाँ प्रकृतिका रोग–किरा बढेका छन् । बालीनाली ध्वस्त पारेका छन् । जलवायु परिवर्तनकै कारण पुसमा मौसम फल्यो । यी कुराले कृषिलाई असर गर्छ ।’

आर्थिक सर्वेक्षण ०७७/७८ अनुसार आर्थिक वर्ष ०६८/६९ को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन र मत्स्यपालन) को योगदान ३२.७ प्रतिशत रहेकोमा पछिल्ला वर्षहरूमा यस्तो योगदान क्रमशः घट्दै गई आर्थिक वर्ष ०७७/७८ मा २५.८ प्रतिशत रहने अनुमान छ । औद्योगिक, दलहन र खाद्यान्न बालीको उत्पादनमा क्रमशः २.८ प्रतिशत, १.७ प्रतिशत र ०.१ प्रतिशतले कमी आएको छ । पर्याप्त हिउँदे वर्षा नहुँदा यी बालीहरूको उत्पादनमा कमी आएको सर्वेक्षणमा उल्लेख छ ।

कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जलवायु परिवर्तनका कारण किसानहरूमा अन्योल बढिरहेको बताउँछन् । ‘एक त समयमै वर्षा हुँदैन । पानी परेपछि धेरै ठाउँमा बाढी आउँछ । किसानहरूले मौसमअनुसार खेती गर्ने योजना बनाएका हुन्छन् तर वर्षाका कारण बालीचक्र नै तलमाथि हुन्छ,’ उनले भने, ‘यसले धानबाली, आलु, तरकारीलगायतमा धेरै असर पुर्‍याएको छ ।’ मन्त्रालयका अनुसार मुलुकभर खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । जसमध्ये १० लाख ३० हजार हेक्टरमा खेती नै हुँदैन । यस्तै, सिँचाइयोग्य जमिन १७ लाख हेक्टर रहेकोमा करिब १४ लाख हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । ‘किसानको कन्ट्रोलमा करिब १४ प्रतिशत मात्रै पानी छ, बाँकी अकासेपानीमै निर्भर हुनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यस्तो अवस्थामा जलवायु परिवर्तनले किसानलाई थप समस्यामा पारेको छ ।’

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख रामकृष्ण श्रेष्ठले पनि जलवायु परिवर्तनले कृषिमा धेरै नोक्सान भइरहेको बताए । ‘पहिलो, खडेरी बढ्दा उत्पादन राम्रो भएन,’ उनले भने, ‘दोस्रो, तापक्रम बढेको छ, यसो हुँदा कतिपय बालीको फूल सुक्छ । यसले उत्पादन धेरै घटाउँछ ।’ उनका अनुसार जलवायु परिवर्तनले रातको तापक्रम बढेको छ । यसले सबैखाले बालीमा असर परेको छ । ‘अस्ट्रेलियाको एक संस्थाले गरेको अध्ययनअनुसार सन् २०५० सम्म धानबाली ११ प्रतिशत, मकैबाली १९ प्रतिशत र गहुँबालीको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान छ,’ उनले भने, ‘कारण जलवायु परिवर्तन नै हो ।’

जलवायु परिवर्तनले बाली, माटो, किरालगायत क्षेत्रमा पारेको असरबारे नार्कले पर्याप्त अध्ययन नगर्दा समस्या भइरहेको खाद्यका लागि कृषि अभियानका संयोजक एवम् राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले आरोप लगाए । ‘यो गहन विषय हो । जलवायु परिवर्तनले पानीका मुहान सुक्ने, बेमौसमी फल लाग्ने गरेको छ  । फैजीकिरा, सलहको प्रकोप पनि देखियो । माटोको उर्वराशक्ति घट्ने समस्या पनि छ,’ उनले भने, ‘समग्रमा कृषि प्रणालीमा के–कति क्षति पुग्यो भन्ने विषयमा अध्ययन आवश्यक छ । तर गहिराइमा गएर सरकारले अध्ययन गरेको छैन, न जलवायु परिवर्तनका असरबारे किसानलाई सचेत गराइएको छ ।’

नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले जलवायु परिवर्तनले बाली र माटोमा असर गरे पनि पर्याप्त अध्ययन नभएको स्विकारे । उनले स्रोत साधन र जनशक्ति अभावमा अनुसन्धान गर्न नसकेको बताए । ‘पछिल्लो समय विभिन्न रोग देखा परेका छन् । जलवायु परिवर्तनकै कारण माथिल्लो भेगको माटो बगेको छ । पानीले समस्या बनाएको छ । प्रत्यक्ष, अप्रत्यक्ष रूपमा दीर्घकालीन असर पनि देखिएका छन्,’ उनले भने, ‘तर स्रोतसाधनको कमीले कारण पत्ता लगाउन पर्याप्त अध्ययन गर्न सकेका छैनौं ।’ नार्कमा माटो र बालीसम्बन्धी अध्ययन गर्न छुट्टै निकाय छन् । ती निकायबाट पनि पर्याप्त अध्ययन, अनुसन्धान भएको छैन । ‘सामान्यतया पानी थोरै पर्ने र धेरै पर्ने, माटो बगाएर लैजानेलगायत समस्याका कारण उर्वराशक्तिमा असर परेकै छ । खडेरीले बिरुवालाई चाहिने पानीको अभाव हुँदा पोषण पर्याप्त पुगेको छैन,’ राष्ट्रिय माटो विज्ञान अनुसन्धान प्रतिष्ठान केन्द्र प्रमुख श्रीप्रसाद विष्टले भने, ‘तर माटो यति बग्यो, उर्वराशक्ति यति घट्यो भन्ने तथ्यांक छैन ।’ उनका अनुसार उर्वराशक्ति कम या सुक्खा हुँदा रसायनिक, प्रांगारिक मल प्रयोग गरे पनि बोटबिरुवालाई पर्याप्त पोषण मिल्दैन । बढी पानी र बढी सुक्खा दुवैले असर पार्छ । ‘यसले माटोमा हुने सूक्ष्म जीवाणुमा असर पुर्‍याउँछ । जसले कार्बन–नाइ्रटोजन चक्रलाई तुहाउने गर्छ,’ उनले भने ।

‘हिउँ पग्लेको छ । तराईको फलफूल पहाडमा र पहाडको फलफूल हिमालमा फल्न थालेको छ,’ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र प्रमुख टीकाराम चापागाईंले भने, ‘यो जलवायु परिवर्तनकै असर हो । तर ठ्याक्कै कुन बालीमा कति असर पुग्यो, त्यो खालको तथ्यांक छैन ।’ जलवायु परिवर्तनले बालीचक्र र कृषि प्रणालीमै असर गरिरहेकाले खेतीपातीलाई दिगोपनातिर ढाल्नुपर्नेमा विज्ञहरूको जोड छ । ‘त्यो भनेको रासायनिक मलमा मात्रै भर पर्नु भएन, प्रांगारिकतर्फ पनि ध्यान दिनुपर्‍यो,’ श्रेष्ठले भने, ‘प्रांगारिक मलमा सूक्ष्म जीवाणुहरू प्रशस्त हुन्छन् । जसले माटोको पानी सोस्ने क्षमता बढाउँछ । यीबाहेक पर्यावरणमैत्री खेतीमा जानुपर्‍यो । रैथानेबाली बचाउनुपर्‍यो ।’

कृषिउपज आयात लगातार बढ्दो
नेपाललाई कृषिप्रधान मुलुक दाबी गरिए पनि खाद्यान्न आयात उच्च दरले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनयताको ६ महिनामा ६० अर्ब ९९ करोड रुपैयाँको मुख्य कृषिजन्य खाद्यवस्तु आयात भएको छ । जसमध्ये सबैभन्दा बढी १६ अर्ब १७ करोड रुपैयाँको चामल, ११ अर्ब ७१ करोडको मकै, १० अर्ब ७ करोडको धान आयात भएको विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीले जानकारी दिए ।

लागत खर्च बढी हुँदा किसानहरू वैकल्पिक पेसातर्फ लाग्न थालेका छन् । ‘लागत बढी छ, आम्दानी छैन । जसले गर्दा किसानहरू कृषितर्फ त्यति आकर्षित छैनन्,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष अधिकारीले भने, ‘किसानहरू वैकल्पिक पेसातर्फ लागे । वैदेशिक रोजगारतर्फ आकर्षित भए । जसले गर्दा आयात बढ्दो छ ।’ पछिल्लो समय खेत बाँझो राख्ने, प्लटिङ गरेर बिक्री गर्ने प्रचलन बढेकाले पनि खाद्यवस्तुको आयात बढेको हो । विभागको तथ्यांकले पनि कृषिउपजको आतात लगातार बढेको देखाउँछ । ०७३/७४ मा ६१ अर्ब ६८ करोडको आयात भएको कृषिउपज ०७४/७५ मा बढेर ६९ अर्ब १४ करोड रुपैयाँ पुग्यो । ०७५/७६ मा ८० अर्ब ४६ करोड, ०७६/७७ मा ८९ अर्ब ९४ करोड र ०७७/७८ मा ह्वात्तै बढेर १ खर्ब १८ अर्ब ९ करोड रुपैयाँको कृषिउपज भित्रिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

हिमालपारि बढ्दै छ वर्षा

चार दिनको मुस्ताङ यात्राबाट थाहा भो, यसपालि पहिलाभन्दा धेरै पानी परेको थियो, स्थानीयका अनुसार ४ वर्षदेखि पानी पर्ने क्रम बढेको छ
दिनेश रेग्मी

मुस्ताङको भ्रमणका लागि हामीले असोज–कात्तिकलाई छानेका थियौं । यो त्यस्तो मौसम हो, जुन बेला हिलो र धूलो खानुपर्दैन । न गर्मी न ठन्डी । हावाहुरी, झरी र पानी पनि सहनु पर्दैन । त्यसमा पनि नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँ मुस्ताङ जान हाम्रा लागि यो नै उत्तम मौसम थियो । आकाश छर्लङ खुल्ने हुँदा मुस्ताङ यात्रा रमणीय हुने, हिमाली शृंखला र अद्भुत भौगोलिक दृश्यपान गर्न पाउनेमा हामी ढुक्क थियौं ।

दसैं–तिहारका बेला पोखराबाट मुस्ताङ जानेको ताँती थियो । गाडी पाउन मुस्किल । पोखराबाट एउटा जिप लिएर मुस्ताङका लागि पहिलो यात्रा सुरु गर्‍यौं । भ्रमण पारिवारिक थियो– जोमसोम, कागबेनी, मुक्तिनाथ, मार्फा र आपपास ठाउँका लागि । पोखराबाट कात्तिक १ गते बिहान हिँड्ने बेला पानी परेको थियो । पोखरामा पानी पर्नु अनौठो लाग्दैन । लाग्नु पनि कसरी– नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ नै त्यही हो ।

कास्कीको लुम्ले, पर्वतको कुस्मा, मालढुंगा हुँदै म्याग्दीको बेनीबजारसम्म यात्रा सहज भयो । अलिअलि पानी पर्ने, छोड्ने सामान्य नै थियो । गलेश्वर मन्दिर कट्नासाथै दलदले हिलोमा गाडी फसेर अगाडि बढ्न सकेका थिएनन् । त्यसपछि कालीगण्डकीको किनारैकिनार तातोपानी, रुप्से छहरा हुँदै साँघुरो बाटो भएर म्याग्दी सीमा छिचोल्दै थियौं । सीमा कट्न अझै ३/४ किमि बाँकी हुँदो हो, आपतै आइलाग्यो । काप्रे–बाँदरजुंग भन्ने भीरमा पुग्दा बस, ट्रक, कार, जिप, ट्याक्सी, मोटरसाइकल, स्कुटरको ताँती छ । रातको ७ बजेको छ, गाडी न मुस्ताङतर्फ जान सकेका छन्, न म्याग्दीतर्फ आउन । झमझम अकासेपानी परेको छ । तल कालीगण्डकी उत्तिकै उर्लेर आएको छ । हामी भीरमुनि रोकिएका छौं ।

खासमा काप्रे–बाँदरजुंग भीरमा ठाडो खोलाको बाटो पार गर्न नसकेर एउटा बसले सबैको बाटो छेकेको थियो । म्याग्दी सहकर्मी घनश्याम खड्कालाई फोन गरें, उनले यताउता बुझेर सुनाए, ‘आज खुल्ने छाँट छैन ।’ लौ, अब समस्यामा परियो । चालक धन सुनाउँदै थिए, ‘यो बाटो सम्झिँदा आउनै मन लाग्दैन तर मुस्ताङ पुगेपछि छोड्न मन लाग्दैन ।’ हामीले चित्त बुझायौं– सधैं भनेजस्तो कहाँ हुन्छ र ? यात्रा कहिले सजिलो हुन्छ, कहिले अप्ठ्यारो ।

राति ११ बजेतिर प्रहरी आए, टर्च बाल्दै यता र उता हेरे । बाटो खुल्ने आसमा बसेका यात्रुले मोबाइलको लाइटले प्रहरीलाई बस अड्केको ठाउँमा पुर्‍याए । एकछिन यताउता हेरे र ‘आज सकिँदैन, सुरक्षित भएर बस्नुहोला’ भनेर प्रहरी फर्किए । हामीहरू जिल्लाराम । यात्रुहरूको बिजोक छ– खानु, सुत्नु केही छैन । डेढ सयजति गाडी होलान् बाटैभरि । माथिबाट पहिरो खस्ने हो कि तलबाट कालीगण्डकीले तान्ने हो, पत्तो छैन । नजिकै बस्ती पनि छैन । धन्न, यात्राका लागि राखेको पानी, खाजा, फलफूलले ठूलो राहत दियो । बल्लतल्ल रात कट्यो ।

भोलिपल्ट बिहान ८ बजेतिर बाटो खुल्यो । अर्कै एक बसका चालकले अड्किएको बसलाई यसरी निकाले कि उनी त त्यहाँ ‘हिरो’ नै भए । त्यो ठाडो खोलामा उनको साहसलाई मान्नैपर्छ । १३ घण्टा पहरामुनिको बासपछि मुस्ताङतर्फ अघि बढ्यौं । बल्ल ढुक्कले श्वास फेरियो । मुस्ताङको घाँसा पुगेपछि यात्रा सहज भयो । बेनी–जोमसोम ७६ किमिमध्ये जोमसोम पुग्न अझै करिब आधा बाटो थियो ।

अब ‘मुस्ताङमा पानी पर्दैन, बाटोमा जे भए पनि यात्रा रमाइलो हुन्छ’ भन्नेमा थियौं । मुस्ताङकै मित्र सुन्दरकुमार थकालीले सुझाएका केही जानकारीबाट ढुक्क थियौं । घाँसाबाट जोमसोमसम्म कुनै ठाउँमा बाटो पिच छ, कुनै ठाउँमा पुल बन्दै छ । मुस्ताङ यात्रा रमाइलो हुँदै थियो– कतै हिमाल देखिन्थ्यो, कतै बादल, कतै स्याउबारी त कतै पाखोबारी । कतै नदी र कतै ठाडा खोला । लेते, चुकुचे, मार्फाका बस्ती हेर्दै जोमसोम पुग्यौं । गाडीबाट सामान निकाल्दा पो थाहा भो– छतमा त्रिपालले छोपेका सबै कपडा भिजेछन् ।

जोमसोममा कतिखेर पानी पर्ने, कतिखेर छोड्ने गरेको थियो । लज साहुले भन्दै थिए, ‘चार दिन भो, पानी पर्न छाडेको छैन ।’ जोसमोस बजारका खाल्डाखुल्डीमा पानीको ताल थियो । कुदेर आएका गाडीले छरर्र पानी छ्याप्थे । नेपालमै सबैभन्दा कम पानी पर्ने भनेर सानैदेखि थाहा पाएको तथ्य जोमसोम आएपछि त ‘होइन मज्जाले पर्दो रहेछ’ भन्नुपर्ने थियो, त्यसमा पनि अझै बेमौसममा । जोमसोमबाट पारि २,७६० मिटर उचाइको रमणीय धुम्बा तालमा पनि पानी टनाटन थियो । जोमसोम आएर वर्षाबारे केही जान्न मन लाग्यो । घुम्नै त छँदै थियो ।

२,७४३ मिटर उचाइको जोमसोम आएको भोलिपल्ट बिहान ३,८०० मिटर उचाइको मुक्तिनाथतर्फ लाग्यौं । जोमसोम–मुक्तिनाथ २१ किमिको बाटोमा अलिअलि पानी थियो तर हिलो थिएन । गाडी कालीगण्डीकीको किनार आसपास भएर कुद्यो । कागबेनीबाट गाडी उकाले लागेर मुक्तिनाथ बसपार्क पुगेर रोकियो । मन्दिरतर्फ लाग्दा भने हिलोले बाटो बिजोकै रै’छ । करिब १ किमि बाटोमा यस्तो हिलो थियो कि छेउ लागेर बल्लबल्ल हिँड्नुपर्थ्यो । जब मुक्तिनाथ मन्दिरतर्फको ढुंगे सिँढीको बाटो आयो, त्यसपछि पानी र हिलोसँग भिड्नुपरेन । मुक्तिनाथ मन्दिर परिसरका धारा र कुण्डहरूमा त पानी सदाबहार नै भैगो । खुला आकाश र जता हेरे पनि हिमालै देख्दा मुस्ताङ यात्राको रमाइलोको सीमै भएन ।

चार दिनको मुस्ताङ यात्राबाट के थाहा भो भने यसपालि पहिलाभन्दा धेरै पानी परेको थियो । स्थानीयका अनुसार ४ वर्षदेखि पानी पर्ने क्रम पहिलाभन्दा बढेको छ । मार्फाको स्याउबारीमा जाँदा एक युवकले यो वर्ष आफ्नो स्याउ राम्रो फल्न नसकेकामा दुःख व्यक्त गरे । भुइँमा टन्नै स्याउ झरेका थिए । तर उनलाई त्यति फिक्कर थिएन, ती स्याउ रक्सी बनाउन लगिहाल्छन् रे । ‘स्याउलाई हिउँ चाहिन्छ तर यहाँ पानी पर्‍यो,’ उनले भुइँमा झरेका स्याउ देखाउँदै सुनाए, ‘पानीले नै स्याउ झरे, दाना पनि साना भए र पहिला जस्तो मीठो पनि भएन ।’

जोमसोममा एटीएम खोज्दै जाँदा भेटिएका एक सुरक्षा गार्डले पानीका कारण धेरै परिवर्तन देखेको सुनाए । उनले प्रत्यक्ष अनुभव गरेको भनेको, माटोका छाना हटाएर जस्तापाताले छाउने, पक्की घर बनाउने क्रम बढेको छ । हुन पनि जोमसोममै एक घरमा जस्ताले माटोको छाना छोपिँदै गरेको देखियो । सोधखोज गर्दै जाँदा घरधनीको नम्बर पत्ता लाग्यो । त्यो घर सेवा निवृत्त स्वास्थ्यकर्मी ६३ वर्षीय सकबहादुर लालचनको रहेछ । हामी यात्रामा हुँदा उनीसँग भेट हुन सकेन । फर्केपछि फोनमा कुरा हुँदा उनले छाना हालिसकेछन् ।

‘३/४ वर्षयता यति वर्षा बढ्न थाल्यो कि छाना चुहिएर भत्किने भएकाले मैले टिनले छोपेको हुँ,’ लालचनले आफ्नो बाध्यता पोखे, ‘माटोको छानामा हिउँ पर्दा पो सोहोरेर फाल्न मिल्छ, अकासे पानीलाई कसरी फाल्नु ?’ जिजु-बाजेका पालादेखि बनाएका माटाका छानाका घर भत्काएर ढलान घर बनाउने क्रम बढेकामा उनलाई दुःख लागेको छ । ‘मलाई यस्तो गर्न मन थिएन तर बाध्यता भयो,’ उनले सुनाए, ‘तैपनि परम्परागत छाना जोगाऊँ भनेर त्यसलाई ढाकछोप गर्न टिन हालेको हुँ ।’ मुस्ताङको तल्लो क्षेत्र टुकेचे, मार्फा, जोमसोम, कागबेनीसम्म तीव्र गतिमा घरहरू ढलान हुन थालेका रहेछन् । ‘मेरो बाउबाजेले पनि यस्तो वृष्टि भएको सुनाएका थिएनन्, यो वर्ष त्यति अचाक्ली भयो,’ उनले भने ।

यसपालि असोज मसान्तदेखि कात्तिक ४ गतेसम्म लगातार पाँच दिन सिमसिमे वर्षाले मुस्ताङका कतिपय ठाउँ हिलाम्मे भएका थिए । खोला–नाला बढेका थिए । त्यो अनुभव त जोमसोममा मैले पनि गरें– लामखुट्टे देखेर । जोससोमको गेस्ट हाउसमा एक रात त कोठामा कम्तीमा ३ वटा लामखुट्टे भुनभुनाए । हिमालपारिको जिल्ला, चिसो मरुभूमि भनिने चिनिने मुस्ताङमा लामखुट्टे देख्नु अनौठो लाग्यो । उनको अनुभवमा मुस्ताङमा ‘छाला रोग पनि पहिलोभन्दा बढेको छ ।

मुस्ताङमा मौसम परिवर्तनबाट कस्तो असर परेको छ भनेर थोरै भए पनि बुझ्न मन लाग्यो । केही पालिकाहरूमा र बागबानी केन्द्रमा फोन गरेर सोध्दा उपल्लो मुस्ताङ होस् वा तल्लो मुस्ताङ पहिलेको तुलनामा जता पनि बढी पानी परेको छ । कतिपयलाई अति वृष्टि, सुक्खा, तापक्रम वृद्धिले रोगब्याधि बढ्ने र परम्परागत बाली बिग्रिने हो कि भन्ने चिन्ता थपिएको छ । मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुखले वर्षा र तापक्रम वृद्धिबाट मुस्ताङमा स्याउ र तरकारी उत्पादनमा प्रतिकूल असर भएको सुनाए । ‘पानी र तापक्रम वृद्धिले स्याउमा ढुसीजन्य रोग बढेको छ, झर्ने समस्या पनि छ,’ केन्द्रका प्रमुख पझ्मनाथ आत्रेयले भने, ‘यसपालि जेठ–असारतिर रायो, बन्दा, गाजर, मूला, धनिया पाक्ने बेला वर्षा भयो । त्यसले १५ देखि ३० प्रतिशत उत्पादन घट्न पुग्यो ।’ आत्रेयले स्थानीय वृद्धहरूबाट पाएको जानकारीअनुसार करिब ४० वर्षपछि उक्त क्षेत्रमा गत वर्ष हिउँ परेको थिएन । उता, उत्तरी सीमा क्षेत्र लोमान्थाङ गाउँपालिकामा साउने भेल २ वटा बस्तीका केही घरमा पसेको त्यहाँ सूचना अधिकारी विकास केसीले सुनाएका थिए ।

जल तथा मौसम विज्ञान विभाग बुझ्दा साँच्चै यो पालि वर्षा बढेकै रहेछ । भुक्तभोगीलाई चिन्ता छ– वर्षा किन यसरी बढ्दै छ ? यसले जनजीवनमा के असर गर्छ ? पशुपन्छी, फलफूल, खाद्यान्न र तरकारीलाई के हुन्छ ? अझ, हिमाली भेगमा हिउँको सट्टा वर्षा र तापक्रम वृद्धि रोक्न के गर्नुपर्छ ?

प्रकाशित : फाल्गुन ७, २०७८ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×