१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गौतम बुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण

१० दिनसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म आन्तरिक उडान बन्द

भैरहवा — रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्याउन तयारी चलिरहेको छ । परीक्षण उडानको खबरले विमानस्थल व्यवस्थापन, आयोजना अधिकारी र सर्वसाधारण खुसी छन् । मंगलबारबाट उडानपूर्वको अन्तिम तयारी भइरहेको छ ।

गौतम बुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण

तयारीस्वरूप मंगलबार साँझ विमानस्थल परिसरमा राष्ट्रिय गान गुन्जिएको थियो । राष्ट्रिय गान बज्न सुरु भएपछि विमानस्थलको अगाडिपट्टि सांगीतिक फाउन्टेन (पानीका फोहरा) सञ्चालन भएका थिए । पानीका विभिन्न रङसँगै निस्किएको पानी र धुनले विमानस्थल वरपर दर्शक जम्मा भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार बिहानै शुक्रबार उडान हुने धावनमार्ग सफाइ थालिएको थियो । धावनमार्ग पखाल्ने काम दिउँसो सकिएको विमानस्थल कर्मचारी बताउँछन् ।

‘धावनमार्गमा रहेका विद्युतीय र चुम्बकीय वस्तु हटाउने काम भएको छ,’ आईसीबी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले भने, ‘वरिपरिको घाँस काटिएको छ । कुनै खालको समस्या नआओस् भनेर रनवे पखालिएको हो ।’ सफाइको काम निरन्तर चल्ने उनले जानकारी दिए । ‘यसबाहेक जनशक्तिलाई कहाँ र कसरी परिचालन गर्ने भन्नेमा लागिरहेका छौं,’ उनले भने, ‘कुन सामग्रीको व्यवस्थापन कसरी गर्ने भन्ने तयारी उडान नहुन्जेलसम्म चलिरहन्छ ।’

विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) तय गरिएको छ । विमानस्थलमा जडित उपकरण दुरुस्त छन्/छैनन् भन्नेबारे प्रस्ट हुन उक्त परीक्षण गर्न लागिएको न्यौपानेले बताए । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गरेर उक्त उडानबारे जानकारी गराएको थियो । यहाँ पानीका फोहरा मंगलबार साँझ परीक्षण गरिएको हो । फागुन १५ सम्म यान्त्रिक परीक्षण हुने न्यौपानेले जनाए । त्यसका लागि प्राधिकरण र विमानस्थल निर्माण आयोजनाले तयारी गरिरहेको उनले बताए ।

एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले उडानको जिम्मेवारी पाएको छ । त्यसका लागि एरो थाईको जहाजले बिहीबार बिहान थाइल्यान्डबाट उडान गर्नेछ । त्यहाँबाट बंगलादेशको ढाकामा आएर इन्धन भरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको न्यौपानेको भनाइ छ । ‘कागजी प्रक्रिया पूरा भए बिहीबार साँझ नै काठमाडौंबाट भैरहवाका लागि उड्नेछ,’ उनले भने, ‘ढिलाइ भए शुक्रबार बिहानै भैरहवा अवतरण हुनेछ र पहिलो उडान गर्नेछ ।’ यहाँ अवतरण गरेपछि अपनाउनुपर्ने प्रावधानबारे समेत प्राधिकरणलाई जानकारी गराएको उनले जानकारी दिए । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी प्रतिदिन दुई वटा परीक्षण उडान हुनेछन् ।

उक्त अवधिभरि बिहान १० देखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछ । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई दृष्टिगत गरी प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको मागअनुसारको समयसम्म उडान सुविधा दिने जनाएको छ । परीक्षण अवधिभर आकाशमा ड्रोन क्यामेरा नउडाउन र रेडिएसन आउने कुनै प्रकारका लाइट नबाल्न प्राधिकरणले सञ्चारमाध्यममा सूचना प्रकाशन गरी आग्रह गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा विमानस्थलमा १० दिनसम्म परीक्षण उडान सञ्चालन हुन लागेको हो । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सकिइसकेको छ ।

परीक्षण उडानपछि मात्र विमानस्थलबाट व्यावसायिक उडान गर्ने तयारी गरिएको छ । एरो थाईले गर्ने परीक्षण उडानपछि आउने एयरेक साइकल प्रोसेस रिपोर्टले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको प्रमाणित गर्ने न्यौपानेले जानकारी दिए ।

यस्तो थियो तयारी

विमानस्थलमा यान्त्रिक परीक्षणका लागि प्राधिकरणले एक महिनादेखि तयारी तीव्र तुल्याएको थियो । गत माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । त्यस क्रममा उनले आउँदो बुद्ध जयन्तीअगावै विमानस्थल उद्घाटन गर्ने गरी तयारी भइरहेको दाबी गरेका थिए ।

मन्त्री, मन्त्रालयका सचिव, प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक, आयोजना प्रमुखलगायतको टोलीले विमानस्थल निरीक्षण गरेका थिए । मौसम अनुकूल नभएका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको जनाउँदै उनले विमानस्थलको सञ्चालनमा अब कुनै पनि खालको विलम्ब नहुने गरी योजना बनाइएको आलेले बताएका थिए । ‘कुनै पनि हालतमा बुद्ध जयन्तीभन्दा अगावै यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ,’ उनले भनेका थिए, ‘म यसका लागि यहींबाट निर्देशन दिन्छु कि यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएकाले अब कुनै पनि खालको विलम्ब हुनु हुँदैन ।’

यसअघि विमानस्थलको ग्राउन्ड चेकिङलगायत प्राविधिक परीक्षणका काम भएका थिए । थाइल्यान्डबाट आएको प्राविधिक टोलीले विमानस्थलको भौतिक संरचना र यहाँ जडित उपकरण जाँचेको थियो । टोलीले विमानस्थलको ग्राउन्ड र उपकरण जाँचेपछि परीक्षण उडानका लागि सबै प्रविधि योग्य रहेको प्रतिवेदन बुझाएको थियो । एरो थाई कम्पनीका तर्फबाट उपकरण र विमानस्थलको ग्राउन्ड जाँच गरिसकिएको कम्पनीका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले बताए । परीक्षण उडान र विमानस्थल स्थायी सञ्चालनका लागि नेपाली इन्जिनियरसहितको प्राविधिक टिमलाई भैरहवामा दुईमहिने तालिम पनि दिइएको थियो । तालिममा विमानस्थलमा जडित उपकरण सञ्चालन कसरी गर्ने सिकाइएको थियो । तालिममा अमेरिका, अस्ट्रिया र थाइल्यान्डका प्रशिक्षक थिए । भैरहवा, काठमाडौं, नेपालगन्ज र चन्द्रगढी विमानस्थलका गरी १२ जना नेपाली इन्जिनियर तालिममा सहभागी थिए ।

प्रकाशित : फाल्गुन ५, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?