रेलको पहिलो ‘ड्राई रन’ सफल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रेलको पहिलो ‘ड्राई रन’ सफल

उद्घाटनको मिति तोक्न छलफलमा नेपाल–भारतका उच्च अधिकारी
सन्तोष सिंह

धनुषा — फागुन दोस्रो सातासम्म जयनगर–कुर्था रेल सेवा उद्घाटन गर्ने लक्ष्यसहित आइतबारबाट रेलको ‘ड्राई रन’ थालिएको छ । रेल सेवा सुरु गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कता, भौतिक संरचनाको अवस्था र कर्मचारीलाई जिम्मेवारी बोध गराउन बिनायात्रु रेलको परीक्षण थालिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । नियमित सेवा आरम्भअघि लिकमा रेल गुडाएर गरिएको पहिलो दिनको परीक्षण यात्रा सफल भएको उनको भनाइ छ ।

रेल धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वाबाट कुर्था हुँदै जयनगर पुगेको थियो । त्यहाँ केही समयको विश्रामपछि पुनः इनर्वामा ल्याई पार्किङ गरिएको छ । आइतबारको ड्राई रनमा यात्रु नराखिए पनि जनप्रतिनिधि, रेल्वेका कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मी भने सवार थिए । भारतबाट दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको १७ महिनापछि बल्ल रेलको ड्राई रन गरिएको हो । २०७७ असोज २ मा भारतबाट ८६ करोडमा खरिद गरी रेल नेपाल ल्याइएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन नगरेसम्म प्रत्येक दिन एक पटक यात्रुबिनै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिए । अब कुनै पनि बहानामा रेल सेवा उद्घाटन नरोकिने उनले दाबी गरे ।

रेल्वे लिकको अवस्था बुझ्न, हल्ट र स्टेसनमा रोक्ने समय व्यवस्थापन सम्बन्धमा निर्णय गर्न प्रतिघण्टा ४० किलोमिटरको गतिमा रेल जयनगरदेखि कुर्थासम्म गुडाइएको रेल सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको भारतीय रेल्वे कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेडका डीजीएम विनायक हुसैनले बताए । ‘ड्राई रनका क्रममा धेरै स्थानमा रेल रोक्नुपरेको थियो,’ उनले भने, ‘रेलबाट दुर्घटना र क्षति हुन नदिन स्थानीयलाई सजग गराउन यात्रुबिनै न्यून गतिमा रेल गुडायौं । लिक आसपासमा कृषि कर्मका लागि पशुचौपाया आवतजावत भइरहेको पायौं । लिकमा चौपाया आउन नदिन सर्वसाधारणलाई सचेत गराउने काम पनि भइरहेको छ ।’

रेल सेवा सञ्चालन गर्न विगतमा पटक–पटक मिति तोकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । तर फागुन दोस्रो सातासम्म रेल सेवा थालनी गर्ने तयारी स्वरूप ड्राई रन सुरु गरिएको उनको भनाइ छ । ‘रेल सञ्चालनमा आउने सन्देश सर्वसाधारणमा दिन, रेल्वे लिक आसपासमा लगाइएको हाट बजार खाली गराउन र दैनिक लागत पत्ता लगाउन ड्राई रनबाट सहयोग पुग्छ,’ उनले भने ।

रेल सञ्चालनका लागि नेपाल सरकारले १ सय ८६ जना कर्मचारी भर्ना गर्ने निर्णय गरे पनि हाल ५९ नेपाली र २६ भारतीय कर्मचारी मात्रै खटाइएको छ । ‘सरकारले निर्णय गरेअनुसार कर्मचारी भर्ना गर्दा पाल्न सक्ने अवस्था छैन । त्यसैले हाललाई न्यूनतम कर्मचारी मात्रै भर्ना गरिएको छ,’ उनले भने, ‘२६ भारतीय कर्मचारीमध्ये १४ जना आइसकेका छन् । १२ जना उद्घाटनपछि आउनेछन् ।’ नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल उद्घाटनको मिति तोक्न दुवै मुलुकका उच्च अधिकारीबीच छलफल भइरहेको पनि उनले बताए । रेलको एसी र जनरल गरी २ बोग्गीमा १ हजार ३ सय ५० यात्रु बोक्ने क्षमता छ । अहिले दिनमा कति पटक रेल सञ्चालन गर्ने विषयमा पनि दुवै मुलुकका अधिकारीबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘यात्रुको चापअनुसार दैनिक रेल सेवा सञ्चालन हुनेछ,’ उनले भने, ‘एक दशकपछि रेल चल्न लागेको हो । यात्रु रेल चढ्छन् कि चढ्दैनन् । पहिले रेल सञ्चालन भएको सन्देश दिन चाहेका छौं ।’ सामान्यतया दिनमा २ पटक रेल चलाउने तयारी भए पनि यात्रुको चापअनुसार सेवा थप हुने उनले स्पष्ट पारे ।

भारतीय कम्पनीले तयार गरेको रेलको भौतिक संरचनामा रहेको त्रुटि र बाँकी रहेको प्राविधिक काम पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि ढिलाइ भइरहेको उनले गुनासो गरे । उनका अनुसार रेल सेवा सुरक्षाका लागि १ सय सशस्त्र प्रहरी खटाइएको छ ।

प्रकाशित : फाल्गुन २, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

‘नेपाली चियालाई बन्देज लगाउने भारतीय षड्यन्त्र’

भारत निकासीमै समस्या हुँदै आएकाले तेस्रो देश निकासी झन् जटिल बनेको चिया उद्यमीको गुनासो
कान्तिपुर संवाददाता

काँकडभिट्टा — झापा र इलामका चिया उद्यमीहरूले नेपाली चियालाई पूर्णरूपमा बन्देज लगाउन भारतले षड्यन्त्र सुरु गरेको आरोप लगाएका छन् । झापाको मेचीनगरमा आइतबार आयोजित ‘नेपाली चिया उत्पादन, प्रवर्द्धन र निकासीका समस्या’ विषयक अन्तरसंवादमा चिया उद्यमीहरूले त्यस्तो आरोप लगाएका हुन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले पटकैपिच्छेको भारतीय अवरोधका कारण नेपाली चिया निकासीमा समस्या पैदा हुने गरेको बताए । ‘नेपाली चियालाई अवरोध गर्न पश्चिम बंगाल सरकार नै अग्रसर बनेको छ,’ मित्तलको आरोप छ, ‘भारतको चिया बोर्डले पनि विभिन्न बखेडा गर्दै आएको छ ।’

अहिले भारतको चिया बोर्डले उपलब्ध गराउने अस्थायी परमिटका आधारमा मात्रै नेपाली चिया निर्यात हुँदै आएको छ । मित्तलले भारत निकासीमै समस्या हुँदै आएकाले तेस्रो देश निकासी झन् जटिल रहेको दाबी गरे । ‘एकातिर भारत निकासी नगरी हामीलाई जीवन धान्नै मुस्किल हुन थालेको छ,’ उनले भने, ‘अर्कातिर निकासीमा भारतले बारम्बार गर्ने अवरोधले हैरान पारेको छ ।’

नाकामा नेपाली चियाको नमुना परीक्षणको नतिजा आएपछि मात्रै बिक्रीका लागि बजार पठाउन इजाजत पाइन्छ । भारतीय रवैयाका कारण पछिल्लो समय झापाका ३० भन्दा बढी कारखानाले निर्बाध चिया निर्यात गर्न सकेका छैनन् । चिया निकासीमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टका प्रतिनिधि रोशन अग्रवालका अनुसार भारतको पानीटंकी भन्सारमा ठूलो चलखेल हुने गरेको छ । जसका कारण नेपाली चियाको निकासी प्रत्यक्ष प्रभावित हुँदै आएको छ । उनका अनुसार क्वारेन्टिन अनिवार्य छ । नमुना जाँचमा पनि समस्या छ । ‘नमुना परीक्षणका लागि कोलकाता पठाउनुपर्छ,’ उनले भने, ‘रिपोर्ट आउन ढिला हुँदा सामान सड्ने र बिग्रिने समस्या हुन्छ ।’

चिया बोर्डले दिँदै आएको सास्तीले भारतीय खरिदकर्ताले समेत चिया खरिदमा रुचि देखाउन छाडेको गुनासो नेपाली चिया उद्यमीको छ । ‘नेपाली चिया किन्न भारतीय खरिदकर्ता हच्किरहेका छन्,’ चिया उद्यमी चण्डी पराजुली भन्छन्, ‘यो हर्कतले नेपाली चिया व्यापार नै चौपट हुने सम्भावना छ ।’ उनका अनुसार नेपालमा उत्पादित ६० प्रतिशतभन्दा बढी चिया भारतीय बजारमा खपत हुँदै आएको र ४० प्रतिशत चिया मात्रै आन्तरिक बजारमा खपत हुने गरेको छ । ‘विभिन्न बहानामा नेपाली चियामाथि भारतले निषेधको षड्यन्त्र गरिरहेको छ,’ उनले थपे ।

युरोपमा अर्थोडक्स चिया निकासी गर्दै आएका उदय चापागाईंले नेपाली चिया गुणस्तरहीन भएको भ्रम फैलाएर भारतले निषेध गर्न खोजेको आरोप लगाए । उनले चियाको मुख्य समस्या बजारीकरण रहेको जनाए । भने, ‘बजारीकरण भयो भने चियाको गुणस्तरमा पनि सुधार आउँछ ।’ निकासीलाई कसरी बढाउन सकिन्छ भनेर सरकारले कुनै ठोस रणनीति नबनाएकोप्रति चिया उद्यमीहरूले गुनासो पोखे । ‘सरकारले नेपाली चिया निकासी र प्रवर्द्धन नीति बनाउनुपर्छ,’ उनले भने, ‘त्यसो गर्दा यो सबै समस्या हल हुँदै जान्छ ।’ उनले भारतीय व्यापारीहरूले नेपाली चियाबारे अनावश्यक भ्रम फैलाउँदै आएको जनाए ।

नेपाली चियाको समस्या समाधानका लागि सरकार मातहतकै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले केही समययता पहल गर्दै आएको छ । सोहीअनुसार कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र चिया उत्पादक संघको सहकार्यमा चियाको दिगो समस्या समाधानको बाटोको खोजी सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले बताए । चिया निर्यातमा पटकैपिच्छे हुने भारतीय अवरोधको स्थायी समाधानका लागि ठोस कदम चाल्न सुरु गरिएको उनको भनाइ छ ।

कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले चिया समस्याको समाधानका खातिर आफूले बारम्बार काम गर्दै आएको दाबी गर्दै नेपाली चियाको ब्रान्डिङ र प्रवर्द्धनमा लगानी गर्न उद्यमीहरूलाई आग्रह गरे । झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, चिया तथा कफी विकास बोर्ड सदस्य पुनम राई, उदय राई, नीलकमल सिंह, केशव ओली, देवेन्द्र साहुलगायतले पनि नेपाली चियाले निकासीका क्रममा भोग्दै आएको सास्तीबाट चाँडो मुक्ति खोजिनुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन २, २०७८ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×