दबाब थेग्न नसकेपछि सार्वजनिक सवारीमा जोर–बिजोर हट्यो

निजी सवारी र ट्याक्सीमा भने कायमै
विमल खतिवडा

काठमाडौँ — सार्वजनिक सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएको छ । शुक्रबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको छलफलपछि यस्तो निर्णय भएको हो । 

दबाब थेग्न नसकेपछि सार्वजनिक सवारीमा जोर–बिजोर हट्यो

बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोर–बिजोर प्रणाली मात्र हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ट्याक्सी र निजी सवारीमा भने जोर–बिजोर कायमै रहेको उनले बताए । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसअनुसार यस्तो निर्णय गरिएको उनको भनाइ छ । ‘पछिल्लो दुई/तीन दिनयता संक्रमण दर घटेको देखिन्छ,’ उनले भने, ‘भीडभाड नियन्त्रणका लागि सार्वजनिक

सवारीमा लगाइएको जोर–बिजोर प्रणाली उपयुक्त उपाय होइन भन्ने धेरैतिरबाट सुझाव पनि आयो, त्यहीअनुसार छलफल गरी निर्णय गरिएको हो ।’ भीड नियन्त्रण गर्न भन्दै यही माघ ७ मा सार्वजनिक र निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरिएको थियो । ‘एक सातामा कार्यान्वयनको अवस्था हेरिएको र संक्रमण दर केही

घटेको महसुस भयो,’ उनले भने, ‘सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू गरेर भीड नघट्ने सुझाव पनि निकै आयो ।सबै सुझावलाई विश्लेषण गरेरै यस्तो निर्णय गरेका हौं ।’

सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू भएदेखि नै सामाजिक सञ्जालमा यसबारे निकै टीकाटिप्पणी भएका थिए । थोरै सवारी चल्दा झन् बढी यात्रु कोचाकोच हुने र त्यसले कोभिड संक्रमण फैलने भन्दै निर्णय फिर्ता लिन सामाजिक सञ्जालमार्फत सरकारलाई चर्को दबाब दिइएको थियो । यही दबाब थेग्न नसकेर प्रशासनले जोर–बिजोर प्रणाली फिर्ता गरेको बताइएको छ ।

नयाँ नियमअनुसार सार्वजनिक सवारीले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुलाई मास्क अनिवार्य गर्नुपर्ने र सवारीसाधनको ढोका तथा यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने पनि तीन वटै प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने र राष्ट्रिय राजमार्गमा सञ्चालित होटल तथा रेस्टुरेन्टले जनस्वास्थ्यका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाई आलोपालो गर्दै सेवा दिनुपर्ने जारी आदेशमा उल्लेख छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ट्याक्सीमा लगाइएको जोर–बिजोर प्रणाली पनि हटाउनुपर्नेमा जोड दिए । ‘ट्याक्सीमा धेरै यात्रु बस्ने पनि होइनन्,’ उनले भने, ‘निजी सवारीबाहेक सबैमा लगाइएको जोर–बिजोर हटाइदिए हुन्थ्यो ।’ सरकारले ढिलै भए पनि उचित निर्णय गरेको उनले बताए ।

प्रकाशित : माघ १५, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?