खर्च गर्ने सरकारलाई नै बढी बजेट : अर्थमन्त्री शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले जुन तहको सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले भने ‘सबभन्दा बढी जसले सेवा दियो त्यहीं राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट थप गर्ने व्यवस्था मैले घोषणा गरेको छु ।’

खर्च गर्ने सरकारलाई नै बढी बजेट : अर्थमन्त्री शर्मा

कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै उनले तल्ला सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानुपर्नेमा जोड दिए । उनले भने ‘खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौँ ।’

त्यस्तै शर्माले प्रदेश सरकारका मागलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने विश्वास दिलाए । ‘जे जति अहिले बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ’, उनले भने ‘तपाईंहरूले उठाउनुभएका विषयबारे योजना आयोग, राष्ट्र बैंक लगायतसँग बसेर थप छलफल गर्नेछौं ।’ मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पुँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले योजनाको दोहोरोपन हुने गरेको भन्दै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो । बैठकमा उनीहरुले नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनविनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको बताए ।

प्रकाशित : माघ १४, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?