१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अनुदानमा पाएका भैंसी दुई कृषि फर्मले बेचिदिए

विप्लव महर्जन

सल्यान — पशु सेवा कार्यालय सल्यानले व्यवसाय विस्तारका लागि अनुदानमा दिएको भैंसी जिल्लाका दुई कृषि फर्मले बिक्री गरेका छन् । सिद्धकुमाख गाउँपालिका १ चाक्लिघाट नजिकै राजेन्द्र भैंसी फर्म र शारदा नगरपालिका ५ रातामाटा खहरेखोला कृषि कम्पनीले बिक्री गरेका हुन् ।

पशु सेवा कार्यालय सल्यानले फर्म संचालन गरेर राम्रो आयआर्जन गर्दै आएको भन्दै राजेन्द्र फर्मका संचालक राजेन्द्र बस्नेतलाई भैंसीपालनका लागि ५ लाख अनुदान दिएको थियो । अनुदान पाएको रकमबाट उनले तीन वटा भैंसी किनेका थिए र सुधारिएको गोठ निर्माण गरेका थिए । केही वर्ष अघिदेखि भैंसीपालन व्यवसायमा लागेका उनीसँग नौ वटा सानाठूला भैंसी थिए ।

यस्तै व्यवसाय फस्टाउँदै, राम्रो आयआर्जन गर्दै आएपछि रातामाटा खहरेखोला कृषि फर्मलाई पशु कार्यालयले अघिल्लो वर्ष २० लाख अनुदान दिएको थियो । त्यसबाट सात भैंसी, एक राँगो किनिएको थियो भने सुधारिएको गोठ निर्माण भएको थियो । फर्मले साना ठूला गरी ४२ भैंसी पाल्दै आएको थियो ।

अनुदानमा पाएको भैंसीले राम्रो आम्दानी गरेर अर्को उन्नत जातको किन्न मिल्ने रकम जम्मा नगर्दासम्म, बुढो तथा दूध दिन नसक्ने र थारो नभएसम्म बिक्री गर्न नपाइने व्यवस्था छ । फर्म संचालन गरेका राजेन्द्र बस्नेतले चिसो तथा घाँसपातको समस्याका कारण भैंसीपालन गर्न कठिनाई भएपछि अहिले सबै भैंसी बिक्री गरेर उक्त रकमले कुखुरापालन गरेको बताएका छन् । अनुदानबाट निर्माण गरेको गोठ अहिले कुखुरापालनका लागि खोरको रुपमा उपयोग गरेको उनले स्वीकारे ।

रातामाटा खहरेखोला कृषि कम्पनीका अध्यक्ष फत्तेजंग घर्तीले फर्म संचालन गर्दा घाटा लागेपछि फर्ममै आबद्ध किसानलाई घाटा पूर्तिस्वरुप अनुदानका भैंसी दिएको बताए । ‘अहिले किसानका घरघरमा भैंसी छन् । उनीहरुले नै हेरविचार गरेर उत्पादित दूध बिक्री गर्दै आएका छन्’ उनले भने ‘हामीले कुनै दुरुपयोग गरेका छैनौं’ । गर्मी लागेपछि किसानले लगेका भैंसी फेरि सामुहिक रुपमा पाल्ने उनको भनाइ छ ।

पशु कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले भैंसी बिक्री गरेर ती फर्मले अनुदान दुरुपयोग गरेको बताए । राजेन्द्र फर्मले अनुदान रकमबाट किनेको तीन सहित नौं र रातामाटा खहरेखोला कृषि कम्पनीले अनुदानबाट खरिद गरेको नाैं भैंसी बिक्री गरेको उनले स्पष्ट पारे । ‘अनुदानबाट खरिद गरेका भैंसी उत्पादन दिन नसक्ने भएपछि मात्र बिक्री गर्न सकिने भएपनि गलत सोचले गर्दा दुरुपयोग भैरहेको छ’ उनले भने ‘फेरि भैंसी किनेर फर्म संचालन गर्न सल्लाह दिएका छौं । हामीले अरु केही गर्न सकिँदैन ।’

पशु कार्यालय सल्यानले आर्थिक अवस्था कमजोर भएका तथा व्यवसायमा लागेका किसानलाई आयस्तर बढाउनका लागि बंगुर, बाख्रा, गाई, भैंसी, माछापालन लगायत अन्यमा अनुदान दिँदै आएपनि कतिपय फर्म संचालकले अनुदानको वर्ष मात्र काम गर्ने र त्यसपछि अन्य व्यवसायतिर लागेको कालिमाटीका किसान नन्दबहादुर घर्तीले बताए । कालिमाटीमा पहिले अनुदानमा भैंसी, बाख्रा पाएका केही फर्ममा देखिन छाडेको उनले बताए ।

सरकारले पशु व्यवसाय संचालनका लागि उपलब्ध गराउँदै आएको अनुदान अहिले केही टाठाबाठालाई कमाई खाने भाँडोको रुपमा परिणत भएको अर्का किसान चन्द्रबहादुर रोकाले बताए । भैंसीपालन व्यवसाय संचालन गरेका यी दुई फर्मले मात्र नभई विगतदेखि नै अन्य फर्मले पनि बिक्री गरेर रकम दुरुपयोग गरेको उनले दावी गरे । ‘यो सम्बन्धित कार्यालयको लापरबाही पनि हो’ उनले भने ।

प्रकाशित : माघ १४, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?