३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘भिजिट भिसा’ पीडितलाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन

दलालहरु पानी मुनि गए पनि अपराध छिप्दैन : श्रममन्त्री श्रेष्ठ

काठमाडौँ — रोजगारीको आश्वासनमा‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको छ ।

‘भिजिट भिसा’ पीडितलाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको समस्याबमोजिम तत्कालै एक्सनमा जाने गरी मार्सल टिम बनाइएको जानकारी दिए । टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछानेलगायत नेपाल प्रहरीका प्रतिनिधि छन् ।

‘मार्सल टिमले पीडितहरुको कुरा सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल एक्सन गर्छ, यो ठग र दलालहरुलाई तह लगाउन बनाइएको मार्सल टिम हो,’ मन्त्री श्रेष्ठले भने । दलालमार्फत रोजगारीको प्रलोभनमा परी भिजिट भिसामार्फत खाडी मुलुकमा पुर्‍याइएका नेपाली युवाहरुका समस्या सम्बोधन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा मंगलबारमात्रै एक कार्यदल गठन गरेको थियो । बिहीबार श्रम मन्त्रालयमा मन्त्री श्रेष्ठसहित बसेको कार्यदल बैठकले मार्सल टिम गठनसहित विभिन्न निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले नेपाली युवाहरुलाई दुःख दिने दलालहरुलाई सरकारले कारबाही गरेरै छाड्ने बताए । ‘दलालहरु पानीमुनि गए पनि अपराध छिप्दैन, मान्छे हो, गल्ती हुन्छ, तर यो त क्षमायोग्य गल्ती पनि होइन,’ मन्त्री श्रेष्ठले भने ।

उनका अनुसार मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताए । सरकारले बनाएको कार्यदलमा पर्यटन, परराष्ट्र, श्रम, प्रहरी, अध्यागमन विभाग र वैदेशिक रोजगार बोर्डसमेत सदस्य छन् । सरकारले समितिलाई भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय आवागमन तालिका सुधार, ट्रान्जिट यात्रुहरुको व्यवस्थापन, श्रमिकहरु विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

प्रकाशित : माघ १३, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?