कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण सकेर टेको झिक्नेबित्तिकै लच्कियो पुल

कास्की — पोखरा महानगरपालिका–३२ गगनगौडा र ३३ भरतपोखरी जोड्ने सेतीनदीमा मोटर गुड्न बनाइएको सडकपुल आफ्नै भार थेग्न नसकेर लच्किएको छ । ७ करोडको लागतमा निर्माण भएको सो पुल टेको झिक्ने क्रममा लच्किएको हो । ६ करोड लागतमा निर्माण सम्झौता गरिएको यस पुल तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि कोरोनाको बहाना बनाउँदै दुई पटकसम्म म्याद थप गरी ७ करोड लागत पुर्‍याइएको थियो ।

निर्माण सकेर टेको झिक्नेबित्तिकै लच्कियो पुल

निर्माण कार्य सकिएर परीक्षणको लागि टेको निकालेपछि पुल लच्किएको हो । पुल संचालनमा आएर सेवा दिने बेला पुल लच्किएपछि स्थानीय आक्रोसित बनेका छन् । पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले पुल काम नलाग्नेगरी लच्किएको बताए । उनले भने, ‘२ सय टन क्षमता धान्न बनाइएको पुलले आफ्नै लोड धानेन, लज्जासपद काम भयो । समस्या के हो ? उनै प्राविधिक जानुन्।’ उनले यो पुल काम नलाग्ने र पुन: बनाउनुपर्ने बताए ।

पुल निर्माणको जिम्मा इलाइट कन्स्ट्रक्सन प्रालिले पाएको थियो । पूर्वाधार विकास विभाग (डोली)को स्थानीय सडक पुल कार्यक्रममार्फत २०७५ पुस २२ मा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । १८ महिनामा सक्नेगरी सम्झौता भएको ६१ मिटर लम्बाइको पुलको डिजाइन स्वीस सरकारको सहयोगमा भएको थियो ।

विभागका पूर्व डीजीसमेत रहेका पूर्व सचिव भीम उपाध्यायले पुल लच्कनु डिजाइनको कमजोरी रहेको बताए । ‘डिजाइन नमिलेपछि पुलले लोड लिन सकेन’ उनले भने, ‘यस्तो समस्या जताततै देखिन्छ । डिजाइन भेरिफिकेसन गर्नुपर्ने हो यसमा पनि कमजोरी देखिन्छ ।’ वास्तविक अवस्था फिल्डमा नै हेरेपछि थाहा हुने बताउँदै उनले जोडाइ नमिलेको, गुणस्तरहीन सामान प्रयोगका कारण यो समस्या आएको हुन सक्ने बताए । पुलको प्रत्यक्ष निगरानी गरेका विभागका पुल शाखा प्रमुख कृष्ण कटुवालले तत्कालै फिल्ड अध्ययन गरेर अवस्था सार्वजानिक गर्ने बताए । विभागले उनै कटुवालको नेतृत्वमा विज्ञसहित ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले फिल्ड अध्ययन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउने विभागका महानिर्देशक इश्वरचन्द्र मरहठ्ठाले बताए ।

उनले भने, ‘त्यस अध्ययनले आँकलन गरेको क्षति निर्माण व्यवसायीबाटै असुल गर्ने सहमति भएको छ । यसमा सरकारलाई खासै व्ययभार पर्दैन ।’ उनले यो नेपालकै लागि नमुना पुल भनेर बनाएको बताए । ठेक्का सम्झौता गर्ने निर्माण कम्पनी एउटा र फिल्डमा काम गर्ने साना कम्पनी भएकाले पनि सम्झौता अनुसार निर्माण सामाग्री प्रयोग गर्न नसक्दा पुलमा यस्तो समस्या आएको उनको भनाइ छ । पुलको डिजाइन गर्ने स्वीस सरकारको तर्फको प्राविधिक टिम लिडर सकिल मानन्धरले डिजाइनमा समस्या नभएको बताए । ‘पुल लच्किनुको अन्य कारण हुन सक्छ’ उनले भने ।


प्रकाशित : माघ १३, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?