३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले भन्सारमा नयाँ प्रविधि प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने बताएका छन् ।

भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने

अर्थमन्त्री शर्माले ७० औं भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरूमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गरी भन्सारमा नयाँ प्रविधि जोड्दै आगामी दिनमा भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएका हुन् ।

अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शी र व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउन सरकार लागिपरेको पनि बताए । भन्सार विन्दु र बजारको विन्दु दुवै सुधार गर्नु पर्ने अहिलको आवश्यकता भएको अर्थमन्त्री शर्माले औंल्याए ।

मन्त्री शर्माले सरकारले अब डिजिटल भुक्तानीसँगै वस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारी गरेको पनि बताए । यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने उनको भनाइ थियो ।

‘नेपालका कुन भन्सारमा कस्तो पारर्दशिता रहेको छ सबै मेरो जानकारीमा छ । सरकारको प्रतिवद्धता पारर्दशिता सहितको व्यापार सहजिकरण सरकार अब्बल हुनुपर्छ । त्यसको लागि हामीले प्रविधिहरूको उच्चतम प्रयोग गरौं । प्रविधिको तीव्र प्रयोग गर्दै जाँदा सङख्यात्मकभन्दा पनि गुणात्मक दक्ष जनशक्तिको आवश्यकता पर्छ । यसरी भन्सार विस्तारै कुनै समयमा स्वचालित प्रणालीमा विकसित हुन्छ । अहिले मूल्य सूची लगायत धेरै प्रश्नहरू उठेका छन्। यसरी भन्सारको विन्दु मात्रै नभएर बजारको विन्दु पनि त्यतिकै महत्वपूर्ण छ । बजार विन्दुमा सुधार आउँदा भन्सारको विन्दुमा पनि सुधार ल्याउँछ,' अर्थमन्त्री शर्माले भने ।

यस्तै भन्सारलाई निरन्तर रुपमा गुणस्तरीय सुधार गरिँदै लैजाने पनि मन्त्री शर्माले बताए । बुधबार भन्सार दिवसको अवसरमा अर्थमन्त्री शर्माले भन्सार कार्यालयबाट डिजिटल भुक्तानीको सुरुआत गरेका थिए ।

प्रकाशित : माघ १२, २०७८ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?