२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

किलोको २२ रुपैयाँमा पनि बिकेन अदुवा, किसानलाई घरखर्चको चिन्ता

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे ९ सेराका भद्रबहादुर बुढाथोकीले गत वर्ष १० क्विन्टल अदुवा उत्पादन गरेर ३० रुपैयाँ प्रतिकिलो घरबाटै सजिलै बिक्री गरे । यो वर्ष सात रोपनी जग्गामा उनले १५ क्विन्टल भन्दा बढी अदुवा फलाएका थिए । उनले यो वर्ष उत्पादन गरेको अदुवामध्ये अहिलेसम्म जम्मा पाँच क्विन्टल मात्र बिक्री गर्न सकेका छन् ।

किलोको २२ रुपैयाँमा पनि बिकेन अदुवा, किसानलाई घरखर्चको चिन्ता

खरिदकर्ता कोही नआउँदा र स्थानीय गल्ला ब्यापारीले पनि २२ रुपैयाँ प्रतिकिलोमा पनि लिन नचाहेपछि उनले उत्पादन गरेकाे धेरै अदुवा सुटो बनाएका छन् ।

सिद्धकुमाख गाउँपालिका दहका धनबहादुर बस्नेतले खरिदकर्ता नआएकै कारण लगातार तीन वर्षयता अदुवा बिक्री गर्न कठिनाइ भएको गुनासो गरे । अदुवा बिक्री नहुँदा घरखर्च जुटाउन समस्या हुँदै आएको उनले बताए । खाद्यबाली लगाउन छाडी व्यावसायिक अदुवा खेतीमा लागेका उनले यो वर्ष १५ क्विन्टल अदुवा उत्पादन गरेपनि अहिले २२ रुपैयाँ प्रति किलोका दरले तीन क्विन्टल नगदमा बिक्री गरे भने तीन क्विन्टल उधारोमा दिएको बताए । 'घरमा ८/९ क्विन्टल अदुवा छ । बिक्री गर्ने समय सकिन थालेपनि कसैले लिन मानेका छैनन्' उनले भने ।

कोल्डस्टोरको अभावमा उत्पादित अदुवा सुक्दै गएको छ । त्यत्तिकै खेर जानुभन्दा सुटो बनाउने तयारी गरेको उनले बताए । उनले भने, 'सुटो पनि बिक्दैन, गत वर्ष बनाएको दुई क्विन्टल सुटो मूल्य नपाएकै कारण त्यत्तिकै थन्किएको छ ।' अदुवा उत्पादन गरेर घरखर्च नचल्ने भएपछि यो खेती नै छाड्ने उनको तयारी छ ।

जिल्लाबाट अधिकांश अदुवा भारत निकासी हुने गरेको थियो । यसपालि कोरोना समस्याका कारण भारतबाट ठूला खरिदकर्ता नआएका कारण उत्पादन गरेको अदुवा बिक्री नभएको र प्रतिकेजी २२ भन्दा माथि नगएपछि जिल्लाका अधिकांश किसान सुटो बनाउन बाध्य भएका छन् । खरिदकर्ता नआएपछि उत्पादन गरेको अदुवा त्यत्तिकै चाम्रिएर कुहिने डरले किसानहरुले सुटो बनाएका हुन् ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेसमबहादुर बस्नेतले जिल्लामा उत्पादित अदुवा काठमाडौं, नेपालगन्ज, बुटवल र अधिकांश भारतमा जाने गरेपनि यसपालि अहिलेसम्म कुल उत्पादनको ३५ प्रतिशत मात्र जिल्लाबाहिर निकासी भएको बताए । जिल्लाको माल्नेटामा उत्पादित अदुवा भने बिक्रीमा खासै समस्या नभएको उनले जानकारी गराए । उनका अनुसार माल्नेटामा उत्पादित अदुवा सबै सुर्खेतमा संचालित अदुवा प्रशोधन केन्द्रले लैजाने गरेको छ ।

पछिल्लो समय कोरोनाले गर्दा भारतका ठूला ब्यापारी अदुवा खरिद गर्न आएनन् । जसले गर्दा अदुवाले भाउ पाउन नसकेको उनले बताए । अर्कोतर्फ काेल्ड स्टोर नहुँदा अदुवा खेर फाल्नुपर्ने बाध्यता छ । जिल्लामा यो वर्ष १ हजार ७ सय ५० हेक्टरमा किसानले अदुवा लगाएका थिए । जसबाट २८ हजार ५ सय ५९ मेट्रिक टन उत्पादन भएको थियो । अदुवा बिक्री गरेर किसानले वार्षिक २० करोडसम्म भित्र्याउँदै आएका छन् ।

प्रकाशित : माघ १२, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?