कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति रहेकाले आत्तिनुपर्ने अवस्था छैन : अर्थसचिव 

काठमाडौँ — अर्थसचिव मधुकर मरासिनीले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहे पनि खराब अवस्थामा पुगिनसकेको बताएका छन् । भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा सचिव मरासिनीले अर्थतन्त्रमा केही चुनौती रहे पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । विदेशी विनिमय सञ्चिति केही घटे पनि कम्तीमा ६ महिनालाई आयात धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने उनको भनाइ छ ।

६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति रहेकाले आत्तिनुपर्ने अवस्था छैन : अर्थसचिव 

७ दशमलव ११ प्रतिशतको मूल्य वृद्धि, उच्च व्यापार घाटा, रेमिट्यान्समा गिरावट लगायतका पक्षले अर्थतन्त्रमा केही चाप परेको उनले बताए । कोभिड-१९ को दोस्रो लहरपछि आर्थिक गतिविधि स्वभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि पुँजीगत खर्च पनि बढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हट्दै जाने उनको दावी छ । सरकाले यो वर्ष लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल गर्ने उनले दावी गरे । सरकाले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताए । आयात रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । करको दर नभई दायरा बढाएर राजस्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए । सरकारी नीति एकद्धार हुन नसक्दा व्यवसायीले अनावश्यक दु:ख पाइरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए ।अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएसँगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थसचिव मरासिनीको ध्यानाकर्षण गराए ।

यसैबीच भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई आज सम्मान गरिएको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले दोसल्ला ओढाएर एवं अर्थसचिव मरासिनीले प्रमाणपत्र सहित निर्देशक रेग्मीलाई सम्मान गरे । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । रसुवा भन्सारसँगै विराटनगनर, विरगञ्ज, महेन्द्रनगर भन्सारमा झण्डै १५ वर्ष बिताएका रेग्मीले सेवामा रहँदा उत्कृष्ट कार्य गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद शर्माले बताए ।


प्रकाशित : माघ ११, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?