मल उद्योग २० वर्षदेखि बन्द

२०५७ र २०५८ मा ४/४ महिना र २०५९ सालमा १५ दिन मात्रै चलेपछि उद्योग ठप्प
पर्वत पोर्तेल

झापा — प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न सरकारले सहयोग गर्ने भन्दै व्यवसायीलाई उत्साहित गरिरहेका बेला झापामा भने दुई दशकदेखि एउटा मल कारखाना बन्दको बन्दै छ ।

मल उद्योग २० वर्षदेखि बन्द

झापा मेचीनगर–१४ मा रहेको रासायनिक मल कारखाना ‘लुना नेपाल केमिकल एन्ड फोर्टिलाइजर्स प्रालि’ २०५९ सालदेखि ठप्प छ । ‘२०५९ सालमा १५ दिन चलेपछि बन्द भएको उद्योग अझै खुल्न सकेको छैन,’ कारखानाका पूर्वकर्मचारी होमनाथ सापकोटाले भने, ‘उद्योगका मेसिनरी पार्टपुर्जा चोरिएर सकिसके ।’ कारखानामा सिक्किमका पूर्वमन्त्री अशोक सुब्बाको एकल लगानी थियो । झापाका केही व्यवसायी पनि साझेदार थिए । करिब ३० करोड लगानीमा २०४५ सालमै उद्योग स्थापना भएको थियो । तर, प्राविधिक कारण देखाएर २०५७ बाट मात्रै उत्पादन सुरु गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्योगको उत्पादन शुभारम्भ गरेका थिए । त्यो बेला कोइरालाले उद्योगलाई बहुराष्ट्रिय कम्पनीका रूपमा विकास गरिने बताएका थिए । देशका अन्य क्षेत्रमा समेत मल उद्योग स्थापना गर्ने उनले आश्वासनसमेत दिएका थिए । तर स्थापनाको वर्ष दिन नबित्दै उद्योग बन्द भएर उत्पादन ठप्प भयो ।

२०५७ र २०५८ मा ४/४ महिना र २०५९ मा १५ दिन मात्रै चलेपछि उद्योग बन्द भएको उद्योगका पूर्वकर्मचारी सापकोटाले जानकारी दिए । ‘त्यसपछि बन्द भएको भयै भयो,’ उनले भने, ‘दुई सयभन्दा बढी श्रमिकको बिचल्ली भयो ।’ उद्योग बन्द हुनुको मुख्य कारण गुणस्तरहीन सामान उत्पादन रहेको एक पूर्वकर्मचारी बताउँछन् । ‘भारतबाट ल्याइएको मल मिसावट गरेर बजारमा पठाइन्थ्यो,’ उनले भने, ‘त्यही कारण उद्योग टिक्न गाह्रो भयो ।’

उद्योगले कृषि विकास बैंकलगायतका बैंकबाट लिएको करोडौं रुपैयाँ ऋण तिर्न बाँकी थियो । करिब ५ वर्षअघि नै ऋण असुली न्यायाधिकरण काठमाडौंले लिलामको सूचनासमेत प्रकाशन गरेको थियो । तर लिलामी भए/नभएको कुरा थाहा हुन सकेको छैन ।

प्रकाशित : माघ १२, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?