बढ्यो सुनको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सयले उकालो लागेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ४१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : माघ ११, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ ।

भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १५ दशमलव पाँच डिग्रीसेल्सियस रहेको छ ।

प्रकाशित : माघ ११, २०७८ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×