१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गाउँमै धमाधम योजना सम्झौता

पालिकाका कर्मचारी वडा तहमा पुगेर सेवा दिन थालेपछि स्थानीयको समय र रकमको बचत
आश गुरुङ

लमजुङ — क्व्होलासोंथर गाउँपालिका–५ सिङ्दीका डम्बरबहादुर गुरुङलाई गाउँपालिका आउन र जान मात्रै दुई दिन लाग्थ्यो । आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि विनियोजित २ लाख रुपैयाँ बजेटको योजना सम्झौता गर्न उनलाई यस पटक भने पालिका धाउनुपरेन ।

गाउँमै धमाधम योजना सम्झौता

उपभोक्ता समिति बनाएर योजना सम्झौता गर्न कार्यालय जानुपर्छ । तर योजना सम्झौता गर्ने भन्दै यस पटक कर्मचारी नै घरआँगनमा आइपुगे । ‘कर्मचारी नै गाउँमा आउँदा खुसी लाग्यो । पालिका गएमा काम भ्याएर आउँदा ३ दिन लाग्थ्यो । कर्मचारी आएपछि ३ घण्टा पनि लागेन,’ उनले भने । यसअघि योजना सम्झौता गर्न जाँदा ५ दिनसम्म लाग्थ्यो ।

क्व्होलासोंथर–४ भुजुङ कमागाउँकी विष्णुमाया गुरुङलाई पालिका कार्यालयमा योजना सम्झौता गर्न जाँदा ठूलो गाउँसम्म अढाई घण्टा हिँडेर सवारीसाधनमार्फत जानुपर्थ्यो । कर्मचारी गाउँ आएपछि समय र खर्चको बचत भएको उनले बताइन् । ‘आमा समूहको भवन बनाउन ५ लाख बजेट परेको हो । योजना सम्झौता जानेआउने गर्दा २/३ दिन लाग्थ्यो । कर्मचारी नै आएपछि सजिलो भयो,’ उनले भनिन् । पालिका कार्यालयतिर नियमित जिप नचल्ने र बिहानबाहेक गाउँमा जिप नपाइने भएकाले पालिका कार्यालयसम्म पुग्न पनि निकै समस्या पर्ने उनको भनाइ छ ।

गाउँपालिकाबाट कर्मचारी आएर वडाभित्रको ५ योजना सम्झौता गरेर काम धमाधम भइरहेको वडा नम्बर ६ पसगाउँका अध्यक्ष मनलाल गुरुङले जानकारी दिए । ‘वडाबाट योजना सम्झौता गर्न अध्यक्ष, सचिव, कोषाध्यक्ष जानुपर्थ्यो । कर्मचारी नै गाउँ आएपछि गाउँलेलाई सुविधा पुग्यो । उपभोक्ताको समय र पैसाको बचत भयो,’ उनले भने । पसगाउँ–सिङ्दीबाट घाम्राङ भएर मालिङस्थित पालिका कार्यालय जानुपर्छ । मिदिमखोलामा पुल निर्माण भइरहेकाले हिउँदमा जसोतसो जान सकिए पनि बर्खामा पोखरा पुगेर दमौली हुँदै बेंसीसहर निस्किएर गाउँपालिका कार्यालय जानेआउने गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

योजना सम्झौता गर्न उपभोक्ता पालिकामै आउनुपर्ने क्व्होलासोंथर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङको भनाइ छ । तर गाउँपालिकाले वडा तहमै पुगेर योजना सम्झौता गरेको छ । गाउँबाट योजना सम्झौताका लागि कर्मचारी खोज्दै आउनुपर्ने बाध्यता क्व्होलासोंथरमा छैन । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, इन्जिनियर र ओभरसियर खटिन्छन् । वडामा वडाअध्यक्ष, सबै वडा सदस्य, वडाको ओभरसियर साथमा उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षलगायत जम्मा हुन्छन् । योजना सम्झौता हुन्छ ।

बर्खे अधिवशेन गाउँसभाले ९ वटा वडामा ९८ योजना र गाउँपालिकाको १५ योजना चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी योजना छनोट गरेको गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेले बताए । कुल योजनामध्ये ३ वटाबाहेक सबै योजना सम्झौता गरिएको र हिउँदे अधिवेशनले छनोट गरेका योजना पनि सम्झौताको चरणमा रहेको उनको भनाइ छ । ‘हामीले गाउँमै पुगेर योजना सम्झौता गरेका छौं । योजना सम्झौता भइसकेर योजनाका काम पनि धमाधम भइरहेको छ,’ उनले भने । उपभोक्ता गाउँपालिकामा आउँदा कहिलेकाहीं कागजपत्र छुटेमा दोहोरो दुःख पाइने गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । ‘हामी गाउँमै पुगेपछि अध्यक्ष, वडा सचिव सबै गाउँमै हुन्छन् । त्यसपछि कुन–कुन कागजपत्र चाहिने हो, ठाउँको ठाउँ बन्यो । उपभोक्तालाई पनि सजिलो ।’ कर्मचारीले स्थानीयलाई योजनाबारे जानकारी गराउने, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिने गरेका छन् । उपभोक्तालाई दुःख नदिन कर्मचारीलाई गाउँमै खटाइएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । ‘हामीले सकेसम्म गाउँलेले दुःख नपाऊन् भनेर काम गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : माघ ११, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?