३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अत्यधिक वर्षाले मह उत्पादन घट्यो

हरिहरसिंह राठौर

जाजरकोट — चिउरी फुल्ने सिजनमा अत्यधिक वर्षा भएपछि जाजरकोटमा यस वर्ष महको उत्पादन झन्डै आधा घटेको छ । जाजरकोटमा १ हजार किसानले व्यावसायिक मौरीपालन गर्दै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । तर उत्पादन घटेपछि किसानलाई जीविकोपार्जनको चिन्ताले सताएको छ ।

अत्यधिक वर्षाले मह उत्पादन घट्यो

गत वर्ष ८ सय ५० किलो मह उत्पादन गरेका नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले यस वर्ष मुस्किलले ४ सय किलो मात्र उत्पादन गरे । गत वर्ष मात्रै खर्च कटाएर उनले ५ लाख रुपैयाँ आम्दानी गरेका थिए । ‘यस वर्ष मह उत्पादन झन्डै आधा घट्यो,’ उनले भने, ‘उत्पादन घटेपछि परिवार पाल्नै समस्या भयो ।’ असोजदेखि फुल्न सुरु गर्ने घरकान्ला र चिउरीको फूलबाट मौरीले कात्तिकदेखि पुस पहिलो सातासम्म मह उत्पादन गर्छन् ।

गतसाल ६० घार मौरीबाट ३ सय किलो मह उत्पादन गरेका किसान हरिबहादुर परियारले पनि २० किलो मात्र मह उत्पादन गरे । ‘सबै व्यवसाय छाडेर मौरीपालनमा लागियो,’ उनले भने, ‘अहिले उत्पादन भएको महले त खर्च पनि उठेन ।’ जाजरकोटको कात्तिके मह काठमाडौंलगायत सहर मात्र नभई विदेशमा समेत पठाउने गरिएको थियो । जिल्लामा लहँ, डाँडागाउँ, खगेनकोटलगायत गाउँ मह उत्पादनका पकेट क्षेत्र मानिन्छन् । नलगाड र भेरी नगरपालिकाको झन्डै २० प्रतिशत भाग चिउरीकै जंगलले ढाकिएको छ । जसका कारण किसान मौरीपालनमा उत्साही भएका छन् । तर चिउरीको रस संकलन हुने बेला असोज/कात्तिकमा धेरै पानी परेपछि मह उत्पादन घटेको नलगाड–१ का धनवीर नेपालीले बताए । ‘चिउरी फूलको रस पानीले बगायो, मौरी चर्नै पाएनन्,’ उनले भने, ‘मह उत्पादन घट्दा पेसाबाटै पलायन हुनुपर्ने बाध्यता आयो ।’

चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको छ । उत्पादन घटेका कारण गत वर्ष प्रतिकिलो ६ सय रुपैयाँ मूल्य पाएको मह यस वर्ष १ हजार रुपैयाँमा खरिद गर्न पनि नपाइएको स्थानीय व्यवसायी कमल शाहीले जानकारी दिए । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘मौरी जोन’ मार्फत अनुदान तथा प्राविधिक सहयोग गरेपछि किसान मौरीपालनमा उत्साही छन् ।

जिल्ला कृषि विकास कार्यालयले पनि यस वर्ष मह उत्पादन घटेको बताएको छ । बेमौसमी वर्षाले चिउरी र अन्य मौसमी फूलमा जम्मा भएको रस बगाएका कारण मह उत्पादन घटेको कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीको भनाइ छ । यस वर्ष जिल्लाभर उत्पादित महको तथ्यांक संकलनको काम भइरहेको छ । पछिल्लो समय आहारा नपाएर मौरी भाग्दा र आधुनिक घार प्रयोग नहुँदा पनि उत्पादन घट्दै गएको उनले बताए । गत वर्ष जिल्लामा १० टन मह उत्पादन भएको उनले जानकारी दिए ।

जाजरकोटमा ४ हजार २ सय परम्परागत र १ हजार ९ सय आधुनिक घार छन् । घरको भित्तामा भने १ हजार ८४ घार रहेको कार्यालयको तथ्यांक छ । यी घारमा करिब ९१ टन मह उत्पादन क्षमता रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?