२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सोलार आयोजनामा आधार दर तोकेर प्रतिस्पर्धाबाट पीपीए गरिने

काठमाडौँ — अब सोलार आयोजनाहरुको विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाका आधारमा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले सोलारको विद्युत् खरिद गर्दा आधार दर  तोकेर प्रतिस्पर्धाबाट मात्रै पीपीए गर्ने निर्णय गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

सोलार आयोजनामा आधार दर तोकेर प्रतिस्पर्धाबाट पीपीए गरिने

'अब सोलार आयोजनाको पीपीए प्रतिस्पर्धाका आधारमा मात्रै हुन्छ । न्युनदर प्रस्ताव गर्ने आयोजनाको पीपीए प्राधिकरणले गर्छ,' घिसिङले भने, 'त्यसमा लागि आधार दर (बेसरेट) पनि तोक्ने निर्णय भएको छ । बेसरेट तोक्न समिति गठन गरिएको छ ।'

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७४ माघमा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत् खरिद दर प्रतियुनिट ७ रुपैयाँ ३० पैसा तोकिएको थियो । तीन वर्षका लागि तोकिएको उक्त दर अब परिमार्जन गरेर आधार दर तोक्ने तयारी प्राधिकरणले गरेको हो  । आधार दर पीपीएको अधिकतम दरका रुपमा रहन्छ । यो दरभन्दा माथि पीपीए प्रस्ताव गर्ने आयोजनाहरु स्वत: अस्वीकृत हुनेछन् ।

यस्तो निर्णयबाट विद्युतको महसुल प्रतिस्पर्धी हुने घिसिङले बताए । आधार दर तोकेर पीपीए गर्ने अभ्यास पहिलो चरणमा सोलार आयोजनाबाट भए पनि विस्तारै अरु आयोजनामा पनि यस्तो प्रावधान कार्यान्वयन गर्न सकिने समेत उनले बताए ।

सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिपर्धाबाट गर्ने निर्णय लिइएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताइन् । 'जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउन, विद्युत् खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बनाउँदै लैजानुपर्छ । सोलारमार्फत हामीले यसको सुरुआत गरेका छौं', उनले भनिन् । पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको छ । यस अघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पीपीए दर पुनरावलोकन गर्नैपर्ने थियो ।

प्राधिकरणले विद्युत् महसुललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युतको मूल्य निरन्तर घट्दो क्रममा छ । प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग एक सय १० मेगावाटको पीपीए गरेको छ । यसमध्ये ६ आयोजनाको निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

प्रकाशित : माघ १०, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?