१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१४८ मुलुकसँग व्यापार, २४ सँग मात्रै नाफा

६ महिनामा करिब १० खर्ब रूपैयाँको आयात, १ खर्ब १८ अर्बको निर्यात व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड
राजु चौधरी

काठमाडौँ — मुलुकले व्यापार गर्ने १ सय ४८ मुलुकमध्ये २४ मुलुकसँग मात्रै नाफामा रहेको देखिएको छ । तीमध्ये ४ मुलुकसँगको नाफा मात्र करोडमा छ । २० मुलुकसँगको नाफा व्यापार न्यून (लाख) मा रहेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । विभागले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी नाफाको व्यापार कम्बोडिया, अल्जेरिया, डेनमार्क र न्यु क्यालेडोनियासँग भएको छ ।

१४८ मुलुकसँग व्यापार, २४ सँग मात्रै नाफा

६ महिनामा कम्बोडियासँग १३ करोड २४ लाख, अल्जेरियासँग ६ करोड ४६ लाख, डेनमार्कसँग ६ करोड २९ लाख र न्यु क्यालेडोनियासँगको व्यापारमा २ करोड २३ लाख रुपैयाँ नाफा रहेको तथ्यांकमा उल्लेख छ । यीबाहेक माल्टासँग ८१ लाख, यमनसँग ७९ लाख, स्विडेनसँग ६० लाख र अफगानिस्तानसँग ४३ लाख रुपैयाँ नाफा भएको विभागले जनाएको छ । कारोबार हुने मुख्य भारत, चीन, अमेरिका, युरोपलगायतका मुलुकसँग भने धेरै नोक्सानमा छ । भारतसँग मात्र मुलुकको झन्डै ६५ प्रतिशत व्यापार हुन्छ ।

६ महिनामा भारतसँग मात्र ५ खर्ब ६ अर्ब ९८ करोड रुपैयाँ घाटामा छ । विभागको तथ्यांकअनुसार भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँको सामान आएको छ । निर्यात भने ९६ अर्ब ५६ करोड रुपैयाँको मात्रै भएको छ । उच्च आयातका कारण मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेपछि सरकारले पुस पहिलो सातादेखि आयातमा कडाइ गर्ने अपनाएको थियो ।

विदेशी मुद्रा सञ्चिति बढाउन तीन सयभन्दा बढी वस्तु आयातमा कडाइ गरेको थियो । तर यति हुँदाहुँदै पनि पुसमा मात्रै १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । आयात उच्च हुँदा मुलुकको व्यापार घाटा पनि तीव्र रूपमा बढेको तथ्यांकले देखाएको छ । व्यापार घाटा ४६.६४ प्रतिशत बढेर ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ६ खर्ब ४४ करोड रुपैयाँ मात्रै थियो ।

६ महिनामा झन्डै १० खर्ब रुपैयाँको सामान आयात भएको विभागको तथ्यांक छ । आयात परिमाण गत वर्षको तुलनामा ५१.१३ प्रतिशत बढी हो । आयातित वस्तुमध्ये सबैभन्दा बढी डिजेल ६१ अर्ब ४७ करोड रुपैयाँको आएको छ । यो परिमाण गत वर्षको ६ महिनाको तुलनामा ८६.६४ प्रतिशत बढी हो । भटमासको तेल कच्चा पनि उल्लेख्य आयात भएको छ । ६ महिनामा ३६ अर्ब ५४ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६ प्रतिशत बढी हो ।

आयातित कच्चा पदार्थ व्यवसायीले रिफाइन गरेर पुनः भारत पठाउँदै आएका छन् । तेस्रो नम्बरमा भने २९ अर्ब २७ करोडको पेट्रोल र चौथोमा २९ अर्ब २३ करोड रुपैयाँको एलपी ग्यास आएको छ । कच्चा पाम तेल खरिदमा २७ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको छ । आयातित उच्च कच्चा पाम पुनः यहाँ रिफाइन गरिन्छ । त्यसपछि व्यवसायीले यसलाई भारत पठाउने गरेका छन् ।

एमएस बिलेट खरिदमा २६ अर्ब ४४ करोड, मोबाइल/टेलिफोनमा २५ अर्ब ६२ करोड र सुन किन्न २३ अर्ब २५ करोड रुपैयाँ बिदेसिएको विभागको तथ्यांक छ । यस अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको छ । निर्यात रकम पनि गत वर्षको ६ महिनाको तुलनामा ९५.४८ प्रतिशत बढी हो ।

गत वर्षको ६ महिनामा ६० अर्ब ७९ करोडको निर्यात भएको थियो । त्यसमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल ३४ अर्ब २७ करोडको निर्यात भएको छ । दोस्रोमा पनि प्रशोधित पाम तेलकै निर्यात भएको छ । ६ महिनामा ३१ अर्ब ९७ करोड ५६ लाख रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ । सूर्यमुखीको प्रशोधित तेल पनि २ अर्ब ४१ करोडको निर्यात भएको विभागले बताएको छ ।

मुलुकको समग्र निर्यात व्यापार यिनै तीन वस्तुले धानिरहेको जानकारहरूको भनाइ छ । कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएका यी वस्तुको निर्यातले समग्र निर्यात बढेको हो । यी वस्तुमा नेपाल सरकारले निर्यात बढाउन सहुलियत दिएको छ । यसले गर्दा व्यवसायीले विभिन्न मुलुकबाट आयातित कच्चापदार्थ ल्याएर त्यसलाई रिफाइन गरी निर्यात गरिरहेका छन् ।

नेपाली उद्योगीहरूले ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट क्रुड सोयाबिन र सनफ्लावरको कच्चा पदार्थ आयात गर्छन् । व्यवसायीले पाम तेलको कच्चापदार्थ पनि मलेसिया र इन्डोनेसियाबाट ल्याउने गरेका छन् ।

६ महिनाको अवधिमा ५ अर्ब ७५ करोडको सेन्थेटिक यार्न, ४ अर्ब ४२ करोडको ऊनी गलैंचा कार्पेट र ३ अर्ब ७५ करोडको तयारी कपडा निर्यात भएको छ । ३ अर्ब २७ करोडको जुटका बुनिएका कपडा, २ अर्ब ६३ करोडको जमोठ कपडा, २ अर्ब ५८ करोडको फलफूलको जुस र २ अर्ब २८ करोडको अलैंची पनि निर्यात भएको छ ।

प्रकाशित : माघ १०, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?