कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘तरलता अभाव रहिरहे अर्थतन्त्रमा अझ जटिल समस्या आउँछ’

– विगतमा बैंकहरूले ठूलो रकम अनुत्पादक क्षेत्रमा प्रवाह गर्नु तरलता अभावको प्रमुख कारण
– साना तथा मझौला उद्यमीलाई कर्जा रोकिएको छैन । ठूलाको हकमा पर्ख र हेरको अवस्था
– आर्थिक गतिविधिमा उतारचढाव आउँदा तरलताको समस्या आइरहन्छ
– नियामक निकायको निर्देशित सीमाभित्र बसेर बैंकहरुले काम गर्नुपर्छ
– अनौपचारिक कारोबारलाई औपचारिक क्षेत्रमा ल्याउने प्रयास हुनुपर्छ

काठमाडौँ —  बैंकिङ क्षेत्रमा करिब तीन दशक बिताईसकेका किरणकुमार श्रेष्ठ हाल राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । २०७२ मा सरकारले श्रेष्ठलाई पहिलो पटक चारवर्षे कार्यकालका लागि राष्ट्रिय वाणिज्य बैंकमा सीईओको जिम्मेवारी दिएको थियो । हाल उनी दोस्रो कार्यकालमा छन् । उनै श्रेष्ठसँग तरलता अभाव, बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, डिजिटल बैंकिङ, जोखिम र सम्भावनालगायत विषयमा ई–कान्तिपुरका यज्ञ बञ्जाडेले गरेको कुराकानीको सम्पादित अंश :– 

‘तरलता अभाव रहिरहे अर्थतन्त्रमा अझ जटिल समस्या आउँछ’

तरलता संकटसँगै लगानीयोग्य रकम अभावको समस्या तत्काल टर्ने सम्भावना छैन । यस्तो अवस्थामा बैंकिङ व्यवसाय कसरी चलाउँदै हुनुहुन्छ ?

केही सातायता तरलता अवस्थामा केही सुधार भएको छ । स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म बैंकहरूले निक्षेपमा गणना गर्न पाउने, केही वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने, राष्ट्र बैंकद्वारा करिब १ खर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृतलगायत नीतिगत व्यवस्थाले तरलता स्थितिमा सुधार देखिन थालेको हो । यस अवधिमा साधारण निक्षेप पनि बढिरहेको छ । अहिले सबै बैंकहरूले छनोटका आधारमा कर्जा प्रवाह गरिरहेका छन् । यसअनुसार उत्पादनमूलक, प्राथमिकता प्राप्त र साना तथा मझौला उद्यमी (एसएमई) क्षेत्रमा कर्जा प्रवाह रोकिएको छैन । ठूला कर्जाको हकमा पर्ख र हेरको अवस्था छ ।

निक्षेपको स्रोत खोज्नेबारे बैंकहरूले प्रयास नै गरेनन् भन्ने आरोप छ नि ?

यो आरोपमा धेरै हदसम्म सत्यता छ । निक्षेप संकलनका लागि बैंकहरूले गर्नुपर्ने धेरै छन् । त्यसमा हामी चुकेका छौं जस्तो लाग्छ । निक्षेपका विभिन्न विकल्प खोज्नेबारे पनि हामी आवश्यक पहल गर्न सकिरहेका छैनौं । बैंकहरूलाई विदेशबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने सुविधा छ । यसमा केही बैंक लागे पनि धेरै बैंक गम्भीरतासाथ लागेका छैनन् । ऋणपत्रको हकमा पनि त्यस्तै छ । राष्ट्र बैंकको निर्देशनअनुसार पुँजीको २५ प्रतिशत ऋणपत्र त निष्कासन गरिरहेका छन् । तर, ऋणपत्र जारी गरेर दीर्घकालीन स्रोत व्यवस्थापन गर्नेतर्फ बैंकहरूले गम्भीर रूपमा गृहकार्य गर्न जरुरी छ । सरकार र राष्ट्र बैंकको निर्देशनअनुसार अहिले बैंकहरू ७ सय ५० स्थानीय तहमा पुगेका त छन् । तर, त्यसबाहेक पनि बैंक जानुपर्ने धेरै वटा सम्भावित स्थान छन् । ठूलो वित्तीय कारोबार अनौपचारिक क्षेत्रमा छ । त्यसलाई बैंकिङ प्रणालीमा ल्याउन पनि बैंकहरूले पहल गर्न सक्छन् । ग्रामीण भेगमा वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार गरेर पनि बैंकहरूले प्राकृतिक रूपमै निक्षेप बढाउन सक्छन् ।

तरलता समस्या आउनुमा बैंक पनि जिम्मेवार छन् भन्ने आरोप छ । के कारणले लामो समयसम्म तरलता अभावको स्थिति रह्यो ?

कोभिडको पहिलो र दोस्रो लहरको संक्रमणपछि अर्थतन्त्रमा देखिएको उच्च दरको आर्थिक पुनरुत्थानले आयातसँगै कर्जा माग पनि बढेकाले तरलता अभाव देखिएको छ । अर्थतन्त्र विभिन्न समस्याबाट गुज्रिएर पुन: लयमा फर्कने यस्तो अवस्था आउने गर्छ । विगतमा पनि यस्तो अवस्था हामीले भोगेकै हौं । आर्थिक गतिविधिमा उतारचढाव आउँदा तरलता चाप र लगानीयोग्य रकमको अभाव जस्ता समस्या आइरहन्छन् । हिजो अर्थतन्त्र कोभिडका कारण समस्यामा पर्दा सम्पूर्ण अर्थतन्त्र ठप्पप्राय: को अवस्थामा रहँदा कर्जा प्रवाह नभएर २ खर्ब रुपैयाँभन्दा धेरै रकम बैंकहरूमा थुप्रिएको थियो । अर्थतन्त्र पुन: लयमा फर्कने क्रममा रहेकाले थप तरलताको माग भएको छ । यसलाई नौलो नभई स्वाभाविक चक्र मान्नुपर्छ । विगतमा बैंकहरूमा तरलता धेरै हुँदा ठूलो रकम गैरउत्पादनमूलक (अनुत्पादक) क्षेत्रमा प्रवाह हुनु अहिले तरलता अभावको प्रमुख कारण हो । विगतमा धेरै रकम लगानी भइसकेकाले अहिले अर्थतन्त्रले मागे बमोजिमको कर्जा प्रवाह गर्न बैंकहरू असमर्थ रहे । यसका अतिरिक्त कोभिडपछिको आर्थिक गतिविधि बढ्दा कर्जाको अत्यधिक माग बढ्नु, पुँजीगत खर्च न्यून हुनु, रेमिट्यान्समा कमी आउनु, कोभिडका कारण बन्दप्राय: अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना पुन: चल्नुलगायत कारणले बजारमा कर्जा माग बढेको छ । तर, अर्थतन्त्रले तत्काल खपत गरेको कर्जा पुन: बजारमा आउन समय लाग्यो । परिणाम बैंकिङ प्रणालीमा तरलता अभाव देखियो ।

कर्जा निक्षेप अनुपात (सीडी) कार्यान्वयनलगायत नियामक निकायको हस्तक्षेप पनि तरलता अभावको कारण हो भन्छन् नि ?

मलाई त्यस्तो लाग्दैन । राष्ट्र बैंकले कर्जा, निक्षेप तथा पुँजी (सीसीडी) अनुपात खारेज गरेर सीडी अनुपात लागू गर्दा कर्जा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमतामा खासै असर गरेको देखिँदैन । बरु तरलता समाधानका लागि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोगमा ल्याएकै कारण अवस्था सुधारोन्मुख छ ।

तरलता अभावको समस्या समाधानका विकल्प के–के हुन सक्छन् ?

यो अवस्थालाई लामो समयसम्म रहन दियौं भने अझ जटिल अवस्था आउन सक्छ । तसर्थ तरलता समस्या समाधानका लागि मुख्यत: बैंकहरूले नियामक निकायले निर्देशित गरेको सीमाभित्र बसेर बैंककै रूपमा काम गर्नुपर्छ । समस्या समाधानका लागि राष्ट्र बैंकले तरलता प्रवाह गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । अब बैंक तथा वित्तीय संस्थाले पनि कर्जा लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिनुपर्छ । नेपालमा अनौपचारिक क्षेत्रमा पनि निकै ठूलो वित्तीय कारोबार हुँदै आएको छ । ती वित्तीय कारोबारलाई औपचारिक क्षेत्रमा ल्याउने प्रयास हुनुपर्छ । सरकारी खर्चहरूले गति पाउँदा पनि तरलता समस्याको हल हुन सक्दछ । बैंक तथा वित्तीय संस्थाको विस्तार गरी वित्तीय पहुँच बढाउन सक्दा पनि निष्क्रिय पुँजीको परिचालन हुन सक्छ । यस्तो अवस्थामा अनावश्यक र विलासिताका वस्तुको आयात कम गर्नुपर्छ ।

विगतमा बैंकिङ प्रणालीभित्र तरलता चाप पर्दा राष्ट्रिय वाणिज्य बैंकलाई भने खासै असर पर्दैनथ्यो । अरूभन्दा सहज अवस्थामै हुन्थ्यो । तर यसपालि यो बैंकले पनि नयाँ कर्जा लगानी बन्द गर्नुपर्ने अवस्था किन आयो ?

पक्कै पनि विगतका दिनसम्म बैंकिङ प्रणालीमा तरलता चाप पर्दा राष्ट्रिय वाणिज्य बैंकलाई त्यसको प्रभाव न्यून पथ्र्याे । तर, यसपालिको अवस्था फरक छ । स्रोतको अधिकतम परिचालन गर्ने बैंकको नीतिअनुसार यस बैंकको कर्जा निक्षेप अनुपात (सीडी अनुपात) अन्य बैंकहरूको जस्तै उच्च रहेको अवस्थामा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको प्रभाव यस बैंकलाई पनि पर्ने नै भयो । त्यसैगरी निक्षेप संकलन कार्य वर्तमान अवस्थामा एकदमै प्रतिस्पर्धी बन्दै गएको छ । यसर्थ, नेपाल राष्ट्र बैंकको निर्देशनको पालना गर्दै व्यवसाय विस्तार गर्ने क्रममा राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा उत्पादनशील क्षेत्रहरूमा स्रोत परिचालन गर्ने नीतिअनुरूप कर्जा लगानी गरिरहेको स्थितिमा वर्तमान तरलता संकटका कारण हामीले कर्जा लगानीमा केही कसिलो रणनीति अपनाएको भए तापनि हामीले पूर्णतया कर्जा रोकेको अवस्था भने छैन ।

नाफाका हिसाबले दुई वर्ष अघिसम्म राष्ट्रिय वाणिज्य बैंक सधैं पहिलो हुन्थ्यो । अहिले धेरै बैंक अघि पुगिसके । बैंकको अवस्था खस्किएको हो ?

यसका दुई वटा कारण छन् । पहिलो, मर्जरका कारण केही बैंक धेरै ठूला भए । उनीहरूको वासलातको आकार बढ्यो । दोस्रो, सधैं एक नम्बरका रहन हामीलाई आक्रामक रूपमा व्यवसाय विस्तार गर्नुपर्ने थियो । त्यसका लागि योजना बनाएर ६ सय ६१ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेका थियौं । त्यस विषयमा अदालतमा मुद्दा पर्‍यो । र, त्यो खारेज भयो । यही कारण तयारीमा रहेका थप ४० वटा शाखा विस्तार पनि रोकियो । यसको प्रभाव समग्र व्यवसायमा पर्‍यो । अहिले ती समस्या समाधान भएका छन् । अब बैंकको व्यवसाय विस्तारले गति लिन्छ ।

बैंकले अहिले ठूलो संख्यामा कर्मचारीको विज्ञापन गरेको छ, बैंकमा नयाँ कर्मचारी कहिले आइपुग्छन् ?

३ वर्षदेखि नयाँ कर्मचारी भर्ना प्रक्रिया प्रभावित हँुदा रोजगारीका लागि अपेक्षित पुस्ता र ग्राहक वर्गले समेत समस्या भोग्नुपरेको थियो । हाल उक्त समस्या समाधान भइसकेकाले कुल ८ सय ३६ जना नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । नयाँ कर्मचारी भर्नाको सम्पूर्ण प्रक्रिया पूरा हुन करिब ४ देखि ५ महिना लाग्छ ।

अहिले बैंकहरूले डिजिटाइजेसनमा राम्रै उपलब्धि हासिल गरेका छन्, नयाँ–नयाँ प्रडक्ट बजारमा ल्याएका छन् । यसतर्फ राष्ट्रिय वाणिज्य बैंकका प्रयास र उपलब्धि के–के हुन् ?

कोभिड–१९ अभिसाप मात्र नभई अवसरका रूपमा पनि देखिएको छ । उक्त प्रकोपका कारण कष्टप्रद समय भोगेको अर्थतन्त्र तथा बैंकिङ क्षेत्रले केही नयाँ सिकाइका रूपमा डिजिटाइजेसनको मार्ग औंल्याउन सफल भएको छ । यस प्रकोपको समयमा नेपाली बैंकहरू र नेपाली जनता प्रविधिमैत्री बनेको यो एक सम्झनयोग्य समय बनेको छ । यो अवधिमा भुक्तानी तथा बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको छ । व्यावसायिक निरन्तरताका लागि वैकल्पिक मार्गका रूपमा डिजिटल प्रविधि अवलम्बन गर्नुपर्ने दरिलो पाठसँगै बैंकिङ क्षेत्रले पनि विभिन्न प्रकारका डिजिटल सेवाहरूको थालनी गरेको पाइन्छ । राष्ट्रिय वाणिज्य बैंकले पनि यस क्रममा ग्राहकहरूलाई निरन्तर सेवा दिनका लागि वर्क फर्म होम, भर्चुअल ट्रेनिङ/मिटिङमार्फत पनि सेवा प्रवाहमा नयाँ आयाम थपेका छौं । त्यस्तै, अनलाइनमार्फत खाता खोल्ने, एटीएम मोबाइल बैंकिङ, क्युआर कोड, पीओएस मेसिन, क्रेडिट कार्ड जस्ता बैंकिङ सेवाको सुरुवात गरी आफूलाई डिजिटल माध्यमका क्षेत्रमा पनि सबल बैंकका रूपमा स्थापित गरेका छौं ।

बैंकहरूमा विद्युतीय कारोबारमा वृद्धिसँगै जोखिम पनि उत्तिकै छ, यस्तो जोखिम न्यूनीकरणका लागि बैंकले के–कस्तो प्रयास गरेको छ ?

अहिले सूचना प्रविधिको अभावमा बैंकिङ प्रणाली कल्पना बाहिरको विषय बनिसकेको छ । यही कारण राष्ट्रिय वाणिज्य बैंकले पनि आफूलाई समयानुकूल सूचना प्रविधिसँगै परिवर्तन गर्दै लग्नुपर्ने आवश्यकता छ । सूचना प्रविधिको प्रयोगसँगै आउने जोखिम न्यूनीकरणका लागि पनि बैंकले उत्तिकै सजग भई कार्य गरिरहेको छ । बैंकले आफ्नो ‘कोर बैंकिङ सिस्टम’ लाई स्तरोन्नति गरिसकेको छ भने ‘आइटी इनह्यान्समेन्ट रोडम्याप’ सञ्चालक समितिबाट स्वीकृत भई कार्यान्वयनका क्रममा छ ।

बजारमा २७ वटा वाणिज्य बैंक छन् । यस्तो प्रतिस्पर्धी बजारमा ग्राहकले राष्ट्रिय वाणिज्य बैंकबाटै बैंकिङ सेवा किन लिने ?

राष्ट्रिय वाणिज्य बैंक एक यस्तो नाम हो, जसले बैंकिङ क्षेत्रमा विभिन्न कालहरू पार गरेर हालका दिनसम्म पुगेको छ । सुरुवाती समयमा देशमा बैंकिङ पहुँच बढाउँदै आर्थिक विकासका लागि पुँजी निर्माणमा बैंकको योगदान ठूलो छ । अर्को महत्त्वपूर्ण पक्ष बैंकप्रति आम जनमानसमा ठूलो विश्वास छ । यो नै हाम्रो ठूलो शक्ति हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले वित्तीय पहुँचबाट वञ्चित ग्रामीण तथा दूरदराजका जनसमुदायसम्म पुगी बैंकिङ सेवा प्रवाह गरिरहेको छ । महिला तथा पिछडिएका वर्गको उत्थानका लागि नेपाल सरकारका कार्यक्रमलाई निर्बाध रूपमा कार्यान्वयन गर्दै आइरहेको छ । ग्राहकलाई अझ छरितो सेवा दिन बैंकका कार्य प्रणालीलाई आधुनिक बनाई प्रविधिमैत्री सेवा प्रवाह गर्दै आएको छ ।

बैंकको प्रमुख वित्तीय सूचकको अवस्था कस्तो छ ?

पछिल्ला वर्षहरूमा बैंकको सञ्चित मुनाफा बढ्दै गएको छ । एक दुई वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न बैंक सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ को खाताबन्दीसम्म आइपुग्दा बैंकको सञ्चित कोषमा १५ अर्बभन्दा बढी रकम छ । आव २०७५/७६ पछि निरन्तर रूपमा सेयरधनीलाई लाभांश वितरण गरिरहेका छौं । यो वर्ष पनि ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भइसकेको छ । यसबाट नै स्पष्ट हुन्छ कि बैंकका सबै वित्तीय परिसूचक राम्रो अवस्थामा छन् ।

नेपाल सरकारको अधिकांश सेयर स्वामित्व भएको नेपालको एक मात्र वाणिज्य बैंक हो यो, प्रतिस्पर्धी बैंकहरूले धमाधम पुँजी वृद्धि गरिरहेको सन्दर्भमा यस बैंकको सेयर पुँजी वृद्धिका लागि केही योजना के छ ?

हाम्रो भावी व्यवसाय विस्तारका लागि बैंकसँग रहेको अहिलेको पुँजी अपर्याप्त हुने देखिन्छ । यसकारण हामी पनि पुँजी वृद्धि योजनामा लागेका छौं । सोही क्रममा यस वर्षको अन्त्यसम्ममा ३ अर्ब रुपैयाँ पुँजी नेपाल सरकारबाट थप्ने योजना छ । जसअनुसार गत वर्षको अन्त्यमा नै हामीले नेपाल सरकारबाट २ अर्ब प्राप्त गरिसकेका छौं । प्रस्तावित ३० प्रतिशत बोनस सेयरमार्फत २ अर्ब ७५ करोडसमेत थपिँदा आगामी असार मसान्तसम्म बैंकको पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्रिय वाणिज्य बैंक हिजो पनि आम नेपालीको आवश्यकता र चाहनाअनुरूप सञ्चालनमा थियो । आज पनि आफ्नो सेवा प्रवाहमा ग्राहकलाई पहिलो प्राथमिकतामा राख्दै आएको बैंक हो । आगामी दिनमा पनि बैंकले ग्राहक सेवालाई सर्वोपरि मान्दै सेवा पुर्‍याउनेछ । विगतको तुलनामा आज बैंकहरूको परिवर्तित आकार, विस्तारित कारोबार, भौगोलिक उपस्थिति आदिका कारण यस बैंकले पनि आगामी दिनमा अझ धेरै चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । यस्तो परिस्थितिमा बैंकले आफूलाई अझ सक्षम र सबल साबित गर्न उत्कृष्ट तथा परिस्कृत रणनीतिका साथ अघि बढ्नुपर्ने देखिन्छ । यसका लागि आगामी दिनमा हाम्रा योजना थप परिस्कृत रूपमा ग्राहक सेवामा पहुँच, सहजता र गुणस्तरीयताका साथै व्यवसाय विस्तारमा केन्द्रित रहनेछन् । बैंकको विद्यमान कार्यपद्घतिलाई छिटोछरितो, सरल, सहज र ग्राहकमुखी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने उद्देश्यले बैंकका आधारभूत कार्यहरूमा निरन्तर अद्यावधिक गरिरहेका छौं । बैंकमा भएका सम्पत्तिको संरक्षणका साथै समुचित उपयोग गर्नका लागि ‘सम्पत्ति उपयोग योजना’ बमोजिम काम अघि बढाएका छौं । बैंकको समग्र व्यवसायलाई विस्तार गर्दै ग्राहक सेवालाई थप चुस्त र ग्राहकमुखी बनाउने, निष्क्रिय कर्जाको प्रभावकारी व्यवस्थापन गर्ने, विविध प्रकारका जोखिमलाई न्यूनीकरण गर्न जोखिम व्यवस्थापन कार्यलाई थप परिस्कृत तथा प्रभावकारी बनाउँदै लैजाने काम पनि भइरहेको छ ।


प्रकाशित : माघ ९, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?