कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लकडाउन हैन, व्यवसाय चलाउन देऊ : व्यवसायी 

काठमाडौँ — कोरोना संक्रमित बढ्दै जाँदा लकडाउन हुने डरमा रहेका व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । विगतमा सरकारले गरेको लकडाउनले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै उनीहरुले अब कोरोनासँगै जुधेर व्यवसाय सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने माग गरे । 

लकडाउन हैन, व्यवसाय चलाउन देऊ : व्यवसायी 

पर्यटन व्यवसायी निलहरी बास्तोलाले अब राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आउने बताए । उनले भने, 'निश्चित समपछि समयमा कोरोनाको अर्को भेरियन्ट आउला, त्यसले अर्को २ वर्ष लैजाला । निषेधाज्ञा नै गरेर, लकडाउन नै गरेर घरमै राखेर त हामी कतै पनि पुग्न सकिन्छ जस्तो लाग्दैन ।'

राज्यले व्यसायीहरुलाई निश्चित समयमा तिर्नेगरी न्यूनतम ब्याजमा ऋण दिलाइदिनुपर्ने उनले माग गरे । उनले भने, 'राज्यले हामी छौं भनेर बोलिदिनु पर्ने बेला आइसकेको छ । ढिलो गरे पर्यटन व्यवसायी र मजदुरहरु विस्थापित हुन सक्छन् ।'

त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए । उनले यो निर्णय व्यवहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए । कतिपयले खोप नै नपाएको अवस्था भएकाले सरकारले यस्ता निर्णयलाई सच्याएर सहजतापूर्वक काम गर्ने वातावरण मिलाइदिनु पर्ने उनको भनाइ छ । 'अहिलेसम्म ३५/४० प्रतिशतले मात्रै खोप लगाएका छन् । बाँकी ६५ प्रतिशतले जहाज चढ्न पाउने कि नपाउने ? १८ वर्ष मुनिकाले खोप लगाइसकेको अवस्था छैन । अभिभावकले सँगै ल्याएका बच्चालाई चढ्न दिने कि नदिने ?' उनले प्रश्न गरे । एयरपोर्टमा कार्ड हेरेपछि त्यसको रेकर्ड राख्ने सिस्टम समेत नभएको उनले बताए ।

त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए । उनले भने, 'होटल, पर्यटन क्षेत्र केही हिसावले लयमा आउँदै थियो । तर तेस्रो चरण आएपछि एकदम अन्योलता छ । मान्छेको आत्मविश्वास घटेको छ ।' सरकारले नियन्त्रण मात्रै गर्न खोज्दा सर्वसाधारणको रोजीरोटी, व्यवसाय, जीवनयापन पनि हेर्नुपर्ने उनले बताए । उनले भने, 'रोग पनि छ भोक पनि छ । सबै कुरा बन्द हुँदा मान्छेले के खान्छ त ? एउटा ठूलो जमात बिहान काम गरेर बेलुका खाने छ । हामी व्यवसायीहरुको जीवनयापन सरकारले हेरेकै छैन ।'


प्रकाशित : माघ ७, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?