२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विदेशी लगानीको ८५ प्रतिशत ऊर्जामा

अर्थतन्त्रका प्रायः सबै परिसूचक उच्च अंकले ऋणात्मक रहेको अवस्थामा एफडीआई भने बढेको बढ्यै

काठमाडौँ — चालु आर्थिक वर्षको ५ महिनामा नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये करिब ८५ प्रतिशत ऊर्जा क्षेत्र (विद्युत्, ग्यास र पानी) मा लगानी भएको छ । बाँकी १५ प्रतिशत सेवा र अन्य क्षेत्रमा गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।

विदेशी लगानीको ८५ प्रतिशत ऊर्जामा

विगतका वर्षमा पनि सबैभन्दा धेरै विदेशी लगानी जलविद्युत् क्षेत्रमै आउने गरेको केही महिनाअघि प्रकाशित राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको थियो । यसअनुसार तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी छ । नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको (स्टक) एफडीआई हो । हरेक वर्ष विदेशी लगानीको आप्रवाह (फ्लो) हेर्दा भारतभन्दा धेरै लगानी अन्य राष्ट्रबाटै आएको सर्वेक्षणले देखाएको छ ।

गत मंसिरसम्म कुल ७ अर्ब ७ करोड रुपैयाँ कुल विदेशी लगानी मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको वैदेशिक लगानी ५७ प्रतिशत बढेको हो । २०७७ मंसिरसम्म कुल ४ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

पछिल्ला महिनामा अर्थतन्त्रका प्रायः सबै परिसूचक उच्च अंकले ऋणात्मक रहेको अवस्थामा एफडीआई भने उल्लेख्य बढिरहेको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै यही प्रवृत्ति कायम छ । गत वर्षको तुलनामा यो वर्ष विदेशी लगानी बढेको देखिए पनि भित्रिएको लगानी रकम निकै कम छ । यसकारण शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा बढेको विदेशी लगानीको योगदान नदेखिएको अर्थविद्हरूले जनाएका छन् ।

कोभिडका कारण गत आर्थिक वर्षका धेरैजसो महिना कडा निषेधाज्ञा थियो । निर्माणाधीन आयोजनाको काम पनि ठप्प थियो । यसकारण गत आर्थिक वर्षका सबै महिनामा विदेशी लगानी उच्च दरले घटेको थियो । यो वर्ष कोभिडको जोखिम कायमै रहेपछि निषेधाज्ञा छैन । आयोजनाको काम जारी छ । यसकारण ती आयोजनामा पुरानो प्रतिबद्धताअनुसार केही लगानी आइरहेको छ । गत आर्थिक वर्षको आधार नै कम रहेकाले यो वर्ष थोरै विदेशी लगानी आएको अवस्थामा पनि प्रतिशतका हिसाबले धेरै देखिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

‘अहिलेको विदेशी लगानीलाई बढ्यो भनेर उत्साहित हुनुपर्ने अवस्था छैन,’ थापाले भने, ‘यस अवधिमा एउटा पनि नयाँ विदेशी लगानी आएको छैन । पुरानो लगानीको केही अंश आएको मात्र हो ।’ यथार्थमा यस वर्षको विदेशी लगानी प्रतिबद्धता र अपेक्षाभन्दा धेरै कम रहेको उनले बताए । कोभिडका कारण पछिल्ला दुई वर्षमा विदेशी लगानी घटेको मान्ने हो भने पनि आउँदा महिनामा उल्लेख्य बढ्नुपर्ने उनको भनाइ छ । हाल मुलुक भित्रिएको विदेशी लगानी अपेक्षाभन्दा कम भएकाले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर घाटा कम मद्दत नपुगेको राष्ट्र बैंकका अधिकारीहरू स्विकार्छन् । पाँच महिनामा मात्र ७ अर्ब रुपैयाँ विदेशी लगानी निकै थोरै भएकाले यसलाई राम्रो भनेर विश्लेषण गर्न नहुने उनीहरूको सुझाव छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा साढे ६५ प्रतिशत विदेशी लगानी घटेको थियो । तर भदौ, असोज, कात्तिक र मंसिरमा लगातार विदेशी लगानी बढिरहेको छ । गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यति बेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइएको थियो ।

मुलुकमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ । आर्थिक वर्ष २०७६/७७ सम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको देखिन्छ । भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ । भारतपछि धेरै विदेशी लगानी नेपाल आउने राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको सर्वेक्षणले देखाएको छ । यो कुल विदेशी लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५/७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो । आयरल्यान्डबाट कुल लगानीको ६.५, सिंगापुरबाट ६.३, अस्ट्रेलियाबाट ५.५, यूएईबाट ३.६ र दक्षिण कोरियाबाट ३.६ प्रतिशत विदेशी लगानी छ । यस्तै, अमेरिकाबाट ३.१, बंगलादेशबाट २.७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत विदेशी लगानी भित्रिने गरेको राष्ट्र बैंकका अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन् ।

प्रकाशित : माघ ७, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?