१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हुम्लामा ४ महिनापछि चामल ढुवानी

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि जहाज कम्पनीहरूले चामल ढुवानीलाई दिए तीव्रता
जनकबहादुर शाही

हुम्ला — सडक सुविधा नपुगेको हुम्लामा झन्डै ४ महिनापछि खाद्यान्न ढुवानी सुरु भएको छ । टेन्डर प्रक्रियामा ढिलाइ र टेन्डरमा अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बल्ल चामल ढुवानी सुरु गरेको हो ।

हुम्लामा ४ महिनापछि चामल ढुवानी

हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी कोटा स्वीकृत भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि सबै जहाज कम्पनीले चामल ढुवानीलाई तीव्रता दिएका हुन् । मंगलबार मात्रै १ सय ४२ क्विन्टल चामल ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्ला शाखाले जनाएको छ ।

अहिलेसम्म १ हजार ३ सय ४२ क्विन्टल चामल हवाई मार्ग र स्थलमार्गबाट १ हजार १ सय ३१ क्विन्टल चामल ढुवानी गरिएको कम्पनीका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । चालु आर्थिक वर्षका लागि आएको चामलबाट अहिलेसम्म १२ सय ७३ क्विन्टल चामल वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष खाद्यमा करिब ३५ सय क्विन्टल चामल मौज्दात थियो ।

चालु आर्थिक वर्षका लागि सदरमुकाम सिमकोटमा हवाई ढुवानीबाट चामल पुर्‍याउने जिम्मा श्रीर्मिका एयर काग्रो सर्भिसले पाएको छ । उसले सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम चामल ढुवानी भएको भन्दै मुख्यमन्त्री शाहीले सबै जहाज प्रयोग गर्न ठेकेदार कम्पनी र कम्पनी लिमिटेडलाई निर्देशन दिएका थिए । तर कम्पनीको हुम्ला शाखाको गोदाममा चामल मौज्दात कम भएपछि शुक्रबारबाट चामल वितरण रोकिएको छ । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख अधिकारीले बताए । ‘स्थानीयले कोटाअनुसारकै चामल माग्न थाले,’ उनले भने, ‘कोटाअनुसार चामल दिँदा गोदाम रित्तिने देखियो ।’


कम्पनीले सिमकोट बजारस्थित सिमकोट–५ र ६ का स्थानीयलाई मासिक प्रतिपरिवार ५ किलो र सिमकोट गाउँपालिकाका अरू वडाका बासिन्दालाई ४ किलोका दरले चामल वितरण गर्ने गरेको छ । अन्य गाउँपालिकामा भने मागका आधारमा चामल पठाइने गरिएको अधिकारीले जानकारी दिए । ‘यही रफ्तारमा चामल ढुवानी भए एक साताभित्र फेरि चामल बिक्री सुरु हुन्छ,’ उनले भने, ‘अहिले नियमित दुई जहाजले चामल ढुवानी गरिरहेका छन् ।’

खाद्यले हुम्लामा हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न गत साउन १५ मा बोलपत्र आह्वान गरेको थियो । तर प्रतिकिलो ४२ रुपैयाँ महँगोमा ढुवानी गर्न प्रस्ताव गरेको श्रीर्मिका एयर काग्रो सर्भिसलाई ठेक्का दिन कम्पनीले कात्तिक २९ मा सूचना निकालेपछि कानुनविपरीत भन्दै समिट एयर प्रालिका तर्फबाट प्रवीण खरेलले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए ।

अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले मंसिर १४ मा ढुवानी प्रक्रिया नियमसम्मत भएको भन्दै आदेश जारी गरेपछि हुम्लामा खाद्यान्न ढुवानीको बाटो खुलेको हो । श्रीर्मिका कार्गोले नेपालगन्जदेखि हुम्ला सदरमुकाम सिमकोटसम्म भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपैयाँ र सुर्खेतबाट सिमकोटसम्म १ सय ५ रुपैयाँमा चामल ढुवानीको कबोल गरेको छ ।

प्रकाशित : माघ ७, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?