१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङको काम (फोटोफिचर)

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि मेसिन राख्ने प्लेटफर्मको काम द्रुत गतिमा भइरहेको छ । सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनु नै आयोजनाको उद्देश्य हो ।

सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङको काम (फोटोफिचर)

सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा चार महिना अघिदेखि सुरुङ खन्ने मेसिन (टीबीएम) राख्न प्लेटफर्म निर्माण भइरहेको आयोजनाले जनाएको छ । सुरुङको प्रवेशद्धारमा थोरै प्वाल पारेर दुई सय मिटर लामो प्लेटफर्म निर्माण भएपछि मेसिनबाट खन्ने काम सुरु हुनेछ ।

आयोजना प्रमुख मित्र बरालका अनुसार चीनबाट टीबीएम मेसिन ल्याइनेछ । सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले यहीं रफ्तारमा काम भए अबका चार महिनामा मेसिन कार्यस्थलमा ल्याइ काम सुरु हुने दावी गरेको छ । अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भैसकेकाले सुरुङ खन्ने काम र सुनकोसीमा बाँध बाँध्ने (हेडवर्क्स) को काम सँससँगै हुनेछ ।

सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिइएको छ । गत आवबाट सुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ । साथै त्यहाँ पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडेक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् । विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।














प्रकाशित : माघ ६, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?