कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा‍. थोमस प्रिन्जसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमुलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरे ।

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन अध्यक्ष मल्लले राजदूत प्रिन्जसँग आग्रह गरे ।

यस्तै पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाइरहेकाले काठमाडौं- फ्रयाङफर्ट सिधा उडान खुलाउनका लागि पहल गर्न पनि मल्लले आग्रह गरे । ‘काठमाडौंबाट फ्रयाङफर्टबीचको हवाई उडान जम्मा आठ घण्टा ४५ मिनेट मात्रै छ, जर्मनीले थोरै सहजीकरण गरिदियो भने युरोपबाट धेरै पर्यटक नेपालले भित्र्याउन सकिन्छ’, मल्लले भने ‘कोरोना संक्रमणअघि वार्षिक ३६ हजार हाराहारीमा जर्मनीबाट पर्यटक नेपाल आएका छन्, सिधा हवाई उडान हुन सक्यो भने युरोपका अन्य देशबाट पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’

यस्तै कफी, पस्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामान जर्मनी लगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले राजदूत समक्ष आग्रह गरेका थिए । ख्यातीप्राप्त कम्पनी अडिडास, स्पोर्टस, फेसन जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरुको उत्पादन शाखा नेपालमा खोलेर कम लागतमा विश्वव्यापी बजार विस्तार गर्न सकिनेतर्फ पनि अध्यक्ष मल्लले राजदूत प्रिन्सको ध्यानकर्षण गराए । उच्चस्तरीय जनशक्तिद्धारा नेपालमा कम लागतमै अन्तराष्ट्रिय उत्पादन गर्न सकिने भएकाले लगानीको सम्भावना खोज्न अध्यक्ष मल्लले आग्रह गरेका थिए ।

भेटका क्रममा राजदूत प्रिन्जले पनि कोभिड लगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्नतर्फ नेपाल लाग्नुपर्ने बताएका थिए । उनले काठमाडौं फ्रयाङफर्ट सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पुरा गर्नुपर्ने बताएका थिए ।


प्रकाशित : माघ ५, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?