कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

डेरावालसँग विद्युत् महसुल बढी असुलेमा लाइन काटिने 

बक्यौता किस्ताबन्दीमा तिर्न पाइने

काठमाडौँ — घरधनीले घरभाडामा बस्ने व्यक्तिहरुसँग विद्युत् प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरिएको छ । घरधनीले डेरावालसँग बढी महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । 

डेरावालसँग विद्युत् महसुल बढी असुलेमा लाइन काटिने 

प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत सो व्यवस्था गरेको हो । घरभाडामा बस्ने व्यक्तिहरुले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन सकिने व्यवस्था पनि गरिएको छ ।

बक्यौता भुक्तानी गर्ने प्रतिवद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्नेबीच कम्तिमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटर समेत एउटै स्थानमा राख्न सकिने गरी शर्त तोकिएको छ ।

अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधै विद्युत् लिन सक्ने

अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरूमा बसोबास गर्नेलाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ । अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत् लिएर त्यहाँभित्र बस्नेलाई महँगो शुल्क लिएर आपूर्ति गर्दै आएकाे गुनासो छ ।

अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत् लिन सक्ने हुँदा महसुल सस्तो पर्ने र खपत पनि बढ्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने 'एउटै परिसरभित्र फरक–फरक विद्युत् महसुल दर आकर्षित हुने उद्योग सञ्चालन हुने अवस्थामा अलग–अलक मिटर राख्न पाउने छन् ।'

बक्यौता किस्ताबन्दीमा तिर्न पाइने

विद्युत् महसुलको बक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन् । विद्युत् महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनः विद्युत् लाइन जोड्नु पर्दा बक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकले साबिकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साबिकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्रीहरु उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नु नपर्ने व्यवस्था गरी सहजीकरण गरिएको छ ।

प्रकाशित : माघ ५, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?