अब घरमै चार्जिङ स्टेसन राख्न पाइने, के छ मापदण्ड ? 

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली २०७८ जारी गर्दै निजी आवास, कार्यालय, फर्म, कम्पनी, संस्थालाई पनि चार्जिङ स्टेसन स्थापना गर्नका लागि अनुमति दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अब कुनै व्यक्तिले आफ्नो घरमै चार्जिङ स्टेसन बनाउन सक्नेछन् । विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन भन्दै प्राधिकरणले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

अब घरमै चार्जिङ स्टेसन राख्न पाइने, के छ मापदण्ड ? 

सार्वजनिक स्थल वा निजी घरजग्गामा चार्जिङ स्टेसन राख्नका लागि प्राधिकरणको स्वीकृति भने अनिवार्य रुपमा लिनुपर्नेछ । सहरी क्षेत्रमा पनि सार्वजनिक चार्जिङ स्टेसन बनाउनेलाई बढी प्राथमिकता दिइने र त्यसका लागि चाहिने आवश्यक पूर्वाधारहरु आफैले तयार पार्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

चार्जिङ स्टेसनका लागि चाहिने पूर्वाधार निर्माणको अनुमति लिनका लागि पूर्वशर्तहरु नियमावलीमा उल्लेख छ । ११०००/४०० वा ३३०००/४०० भोल्टको सबस्टेसन, ट्रान्सफर्मर लाइन, केबल, टर्मिनेसन मिटरिङसहितका पूर्वाधारहरु आवश्यक पर्नेछ । गाडी पार्क तथा चार्जिङ हुने क्षेत्रफल र सोसम्बन्धी सिभिल कार्यहरु र गाडी प्रवेश तथा निकासका लागि संरचना बनाउनुपर्ने छ ।

त्यस्तै, सार्वजनिक चार्जिङ स्टेसनमा जडान हुने विद्युतीय सवारी साधनका सर्भिस उपकरणलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त एजेन्सीले प्रमाणित गरेको हुुनुपर्नेछ । त्यस्ता उपकरणहरु विगत ३ वर्षदेखि विश्वका विभिन्न देशहरुमा प्रयोग भएको हुनुपर्ने व्यवस्था समेत विनियमावलीमा राखिएको छ । पछिल्लो समय विद्युत् खपत बढाउनका लागि प्राधिकरणले आवश्यक नीतिगत व्यवस्था मिलाउँदै गएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए । विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवर्द्धनका लागि विशेष व्यवस्था गरिएको घिसिङले बताए ।

‘दुई सय केभिएसम्मको विद्युत् डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफर्मर सहितको विद्युत् सेवा प्रवाह गर्नेछ । त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफर्मर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ,’ उनले भने । चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत् महसुल समेत लागू भइसकेको छ ।

प्रकाशित : माघ ५, २०७८ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?