कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सस्तो कर्जा लिनेमा ५७ प्रतिशत महिला, ७८ हजारले लिए ऋण

काठमाडौँ — ब्याज अनुदानको सहुलियत कर्जा लिने महिला ऋणीको संख्या अधिक रहेको पाइएको छ । जसअनुसार गत मंसिरसम्म प्रवाह भएको कुल सहुलियत कर्जा लिनेमा ५७ प्रतिशत महिला रहेको राष्ट्र बैंकले जनाएको छ ।

सस्तो कर्जा लिनेमा ५७ प्रतिशत महिला, ७८ हजारले लिए ऋण


गत मंसिरसम्म १ लाख ३६ हजार ७ सय १३ जनाले ब्याज अनुदानको सहुलियत कर्जा लिएका छन् । तीमध्ये ७८ हजार २ सय जना महिला उद्यमी छन् । यस्तै कुल ऋणीको ४१ प्रतिशतले कृषि कर्जा लिएका छन भने बाँकी १६ प्रतिशतले विभिन्न ८ प्रकारका कर्जा लिएको देखिन्छ ।

रकमको आधारमा भने कुल प्रवाह भएको कर्जाको ३५ प्रतिशत रकम महिला उद्यमी शिर्षकमा प्रवाह भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्र थप २२ हजार ६ सय ४९ जना महिला उद्यमीले यो शिर्षकमा कर्जा लिएको देखिन्छ । ब्याज अनुदानमा पाइने यो शिर्षककाे कर्जा उद्यमी महिलाले मात्र पाउने हो । गत असारसम्म सहुलियत कर्जा लिने महिला उद्यमी संख्या ५५ हजार ५ सय ५१ थियो । उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गतका ऋणमा पछिल्ला महिना महिलाको आकर्षण उल्लेख्य बढेको बैंकरहरू बताउँछन् ।

कर्जा लिने महिलाको संख्या बढ्नुले महिला उद्यमीको संख्या बढेको देखाउँछ । तर वास्तविक रूपमा महिला उद्यमी बढेको नभई प्राप्त सुविधा उपयोग गर्न महिलाका नाममा व्यवसाय नामसारी गरी कर्जा लिने बढेको जानकारहरु बताउँछन् । कृषिबाहेकका सहुलियत कर्जामा निश्चित संख्यामा कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन भएकाले पनि बैंक तथा वित्तीय संस्थालाई ताकेता परेको उनीहरुको भनाइ छ ।

महिला उद्यमी शिर्षकको कर्जा लिन महिलाका नाममा उद्योग व्यवसाय सञ्चालन भएको हुनुपर्छ । यस्तो कर्जामा महिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन् । यो शीर्षकअन्तर्गत महिलाले बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाउँछन् ।

प्रकाशित : माघ ५, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?