२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

देशभर साना तथा मझौला उद्योग विकास गर्न कर्मभूमि र सीबीफीनबीच सम्झाैता

काठमाडौँ — देशभर लघु, साना तथा मझौला उद्यम विकास एवम् विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) बीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरी र सीबीफीनको तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले हस्ताक्षर गरे ।

देशभर साना तथा मझौला उद्योग विकास गर्न कर्मभूमि र सीबीफीनबीच सम्झाैता

सम्झौताअनुसार बेरोजगार युवा तथा महिला, आर्थिक जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारबाट फर्केका नेपाली तथा उद्यमशील बन्न चाहनेलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाव्य परियोजना सम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्था मार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्नेछ । त्यस्तै सीबीफीनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्नेछ ।

साथै, स्थानीयस्तरबाट छनोट हुने यस्ता परियोजना कर्मभूमि समाज र सीबीफीनले स्थानीय गाउापालिका वा नगरपालिकाहरु समेतको सहकार्य/समन्वयमा कार्यान्वयन गराउने समझदारीपत्रमा उल्लेख छ । कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ ।

गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ जिल्लाबाट १०४६ प्रस्ताव प्राप्त गरेकोमा ११६ परियोजनाले बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् । छिट्टै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको कर्मभूमिका अध्यक्ष चौधरीले बताए ।

‘मुलुकमा आर्थिक समुन्नतिका लागि सबै नागरिकलाई आयआर्जनको सुनिश्चिचता गरिनुपर्छ र यो पवित्र कार्यमा सरकार, दातृ निकाय, निजी क्षेत्र लगायत सबैले हातेमालो गर्न आवश्यक छ’ चौधरीले भने ‘युवाहरूमा रहेको नवीन सोच, नयाँ–नयाँ व्यवसायिक योजनालाई व्यवहारमा रूपान्तरण गर्न वित्तीय पहुाच, सीपयुक्त जनशक्ति तथा बजार पहुँच आवश्यक छ । यसका लागि दुई संस्थाबीचको समझदारी उद्यमशीलता विकासको अभियानमा कोशेढुंगा सावित हुनेछ ।’

सीबीफीनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले देशभर युवा तथा महिलालाई उत्पादनमूलक, रोजगारमूलक व्यवसायहरुको विकास एवं विस्तारमा सम्झौताले सहयोग पुग्ने बताए ।


प्रकाशित : माघ ४, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?