निक्षेपमा सुधार आउनासाथ बैंकहरूको कर्जा बढ्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

निक्षेपमा सुधार आउनासाथ बैंकहरूको कर्जा बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — स्रोत नहुँदा कर्जा प्रवाह समेत गर्न नसकेका बैंकहरुले केही निक्षेप थपिएसँगै पुस मध्यपछि भने कर्जा बढाएका छन् ।  सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम बैंकहरुमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेसँगै पुस मध्यपछि बैंकहरूमा निक्षेप बढेको थियो । त्यस्तै पुनर्कर्जाको रकम पनि प्रवाह हुँदा निक्षेपमा थप सुधार देखिएको थियो । 

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पुसको पछिल्लो दुई सातामा मात्रै ७५ अर्ब निक्षेप थपिएको छ । पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ३० गतेसम्म आउँदा ४३ खर्ब २४ अर्ब पुगेको छ । यहीं दुई साताको अवधिमा कर्जा प्रवाह ४४ अर्बले बढेको छ । जबकि पुसको पहिलो दुई सातामा जम्मा १४ अर्ब कर्जा बढेको थियो । बैंकहरुले कर्जा प्रवाह बढाएपछि निक्षेपमा कर्जाको अनुपात (सीडी रेसियो) समेत बढ्न थालेको छ ।

सरकारले पुसको पहिलो साता नै स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम बैंकमा निक्षेपमा रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेको थियो । त्यसअघि ५० प्रतिशत थियो । राष्ट्र बैंकले पुसकाे मध्यतिर निर्देशन जारी गर्दै यसलाई कार्यान्वयनमा ल्याएको थियो ।

पुसमा निक्षेप र कर्जाको अवस्था

अवधि

कुल निक्षेप

कुल कर्जा

मंसिर २९

४२ खर्ब ३९ अर्ब

४० खर्ब ८४ अर्ब

पुस ९

४२ खर्ब ३५ अर्ब

४० खर्ब ८८ अर्ब

पुस १६

४२ खर्ब ४९ अर्ब

४० खर्ब ९९ अर्ब

पुस २३

४३ खर्ब ७ अर्ब

४१ खर्ब ८ अर्ब

पुस ३०

४३ खर्ब २४ अर्ब

४१ खर्ब ४३ अर्ब

स्राेत नेपाल बैंकर्स एसोसिएसन

प्रकाशित : माघ ३, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा थप ६१७ जनामा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

विराटनगर — सामाजिक विकास मन्त्रालयको कोभिड-१९ दैनिक प्रतिवेदनले सोमबार प्रदेश एकमा ६ सय १७ कोरोना संक्रमित थपिएको जनाएको छ । तेस्रो चरणको कोरोना कहर सुरु भएयता एकै दिनमा थपिएको यो संक्रमितको सबैभन्दा ठूलो संख्या हो । 

मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । १८ जना संक्रमणमुक्त भएका छन् भने प्रदेशको विभिन्न अस्पतालमा ६१ जनाको उपचार भइरहेको प्रतिवेदनमा जनाइएको छ । २ हजार १ सय २८ जना होम आइसोलेसनमा छन् । आइतबारको तुलनामा अस्पतालमा २६ र होम आइसोलेसनमा ४ सय ७८ थपिएका छन् ।

उक्त प्रतिवेदनअनुसार ८ सय ८९ को पीसीआर परीक्षण गर्दा ५ सय २१ (५८.६१ प्रतिशत) र ३ सय ८० को एन्टिजेन परीक्षण गर्दा ९६ (२५.२६ प्रतिशत) संक्रमित देखिएका छन् ।

विराटनगरका १ सय ९१ सहित मोरंगका २ सय २७, झापाका १ सय १६, सुनसरीका १ सय २९, धनकुटाका ४, भोजपुरका २, उदयपुरका १, सोलुखुम्बुका २, इलामका २ र प्रदेश बाहिरका जिल्लाका ३८ संक्रमित भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : माघ ३, २०७८ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×