२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

तरलता कम भएपछि फेरि एसएलएफकै भर, बैंकहरूले एकै दिन साढे ३५ अर्ब लिए

काठमाडौँ — तरलतामा कमी आएसँगै बैंकहरु फेरि अल्पकालीन सापटीकै भरमा वित्तीय व्यवस्थापन गर्न थालेका छन् । पछिल्ला दिनमा बैंकहरुले स्थायी तरलता सुविधा, रिपो लगायत औजारमार्फत सापटी लिने क्रम बढ्नुले यो पुष्टि हुन्छ । खासगरी गत पुस २० देखि बैंक तथा वित्तीय प्रणालीमा तरलता केही सहज भएको थियो । त्यतिबेला राष्ट्र बैंकले स्वीकृत गरेको पुनर्कर्जा बजारमा आउन थालेको थियो ।

तरलता कम भएपछि फेरि एसएलएफकै भर, बैंकहरूले एकै दिन साढे ३५ अर्ब लिए

स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने सुविधा बैंकहरुले पाएका थिए । तर, त्यो सहज अवस्था वित्तीय प्रणालीले लामो समयसम्म अनुभव गर्न पाएन । पुस चौथो साता सुरु भएदेखि नै करमार्फत सरकारी ढुकुटीमा पैसा जान थाल्यो । बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था पुन: पुरानै स्थितिमा फर्कियो ।

यही कारण बैंकहरुले निर्देशित कर्जा निक्षेप (सीडी) अनुपात कायम गर्न मात्र नभएर कर्जा प्रवाहका लागि पनि एसएलएफ लिन थालेका छन् । सोही क्रममा आइतबार मात्र १४ वटा बैंकहरुले ३५ अर्ब ४६ करोड एसएलएफ सुविधा लिएका छन् । एक साता अघिसम्म बैंकहरुले एसएलएफ सुविधा निकै कम लिएका थिए । जसअनुसार गत पुस २३ मा बैंकहरुले १३ करोड रुपैयाँ मात्र एसएलएफ सुविधा लिएका थिए । पुस २६ देखि एसएलएफ लिने क्रम ह्वात्तै बढेको छ । सोही क्रममा आइतबार बैंकहरुले साढे ३५ अर्ब रुपैयाँ एसएलएफ सुविधा लिएका हुन् ।

पुस मसान्तमा बैंकहरुमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै भएकाले तरलता समस्या कायमै रहेको जानकारहरुले बताएका छन् । राष्ट्र बैंकका अनुसार आइतबारसम्म करिब २१ अर्ब रुपैयाँ अधिक तरलता छ । सोही अवधिमा बैंकहरुले एसएलएफ मार्फत त्योभन्दा धेरै रकम सापटी लिएकाले वास्तविक रुपमा तरलताको समस्या यथावत रहेको बताइएको छ । तरलता अभाव भएपछि गत साउन देखि माघ २ सम्म एसएलएफमार्फत बैंकहरुले ३० खर्ब ५१ अर्ब रुपैयाँ अल्पकालिन सापटी लिइसकेका छन् ।


प्रकाशित : माघ ३, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?