सेयर धितोमा साना कर्जा बढे, ठूला घटे

राष्ट्र बैंकको हस्तक्षेपपछि एक करोडभन्दा धेरै रकमको सेयर कर्जा १३ प्रतिशत घट्यो, ५० लाखदेखि १ करोडसम्मको कर्जा १०.६ प्रतिशत बढ्यो, २५ देखि ५० लाखसम्मको १०.१ र २५ लाख रूपैयाँभन्दा कमको कर्जा १८.६ प्रतिशत बढ्यो
अहिले एउटा संस्थाबाट प्रतिव्यक्ति ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोडभन्दा बढी सेयर कर्जा लिन पाइँदैन

काठमाडौँ — नियामक निकाय राष्ट्र बैंकको हस्तक्षेपपछि एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा वितरण घटेको छ । गत भदौयता एक करोड रुपैयाँभन्दा धेरै रकमका कर्जा घटेका छन् भने त्योभन्दा थोरै रकमका कर्जा बढेका छन् ।

सेयर धितोमा साना कर्जा बढे, ठूला घटे

गत मंसिरमा एक करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कर्जा १३ प्रतिशत घटेको छ । सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १०.६, २५ देखि ५० लाख रुपैयाँसम्मको १०.१ र २५ लाख रुपैयाँभन्दा कमको यस्तो कर्जा १८.६ प्रतिशत बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । तर समग्रमा गत मंसिरमा कुल सेयर धितोमा कर्जा ५.३ प्रतिशत घटेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गत भदौदेखि सेयर कर्जा (मार्जिन लोन) मा हस्तक्षेप गरेको थियो । हस्तक्षेपपछि सेयर कर्जा घट्ने भएकाले भन्दै लगानीकर्ताले चर्को विरोध गरेका थिए । त्यसपछिका पहिलो महिनामा सेयर कर्जा घटे पनि त्यसपछिका महिनामा एक करोड रुपैयाँभन्दा थारै रकमका कर्जा बढेको प्रतिवेदनहरूले देखाएका छन् ।

गत असारसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा प्रवाह गर्ने कर्जालाई २५ लाखभन्दा कम, २५ देखि ५० लाख रुपैयाँसम्म, ५० लाखदेखि १ करोडसम्म र एक करोड रुपैयाँभन्दा बढी गरी चार वर्गमा वर्गीकरण गरिएको हुन्छ । यसका आधारमा गत असारसम्म यो क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरै (करिब ६८ प्रतिशत) हिस्सा एक करोड रुपैयाँभन्दा बढीको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि यही कर्जा प्रभावित भएको तथ्यांकहरूले देखाएका छन् । सेयर बजारमा बैंकले प्रवाह गरेको कुल कर्जाको करिब १२ प्रतिशत ५० लाखदेखि १ करोड रुपैयाँसम्मको, करिब १३ प्रतिशत २५ देखि ५० लाख रुपैयाँसम्मको र ७ प्रतिशत कर्जा २५ लाखभन्दा कम रकमको रहेको राष्ट्र बैंकले जनाएको छ ।

विद्यमान व्यवस्थाअनुसार धितोपत्रमा लगानीका लागि सेयर धितो राखेर कर्जा लिँदा एउटा संस्थाबाट प्रतिव्यक्ति ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोडभन्दा बढी कर्जा लिन पाइँदैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आएको उक्त व्यवस्था भदौ पहिलो सातादेखि लागू भएको हो । उक्त व्यवस्थाअघि लिएका सेयर कर्जालाई पनि निर्देशित सीमाभित्रै कायम गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्तो व्यवस्थाले मध्यम तथा ठूला लगानीकर्ता कर्जा लिनबाट वञ्चित भएको जानकारहरू बताउँछन् ।

गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । गत असारको तुलनामा मंसिरसम्म यस्तो कर्जा ५ अर्ब ६५ करोड रुपैयाँ घटेको छ । गत असारसम्म यस्तो कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको मंसिरसम्म यस्तो कर्जा साढे ३४ प्रतिशत बढेको थियो । गत आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कुल ६७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सेयर खरिदका लागि गत असारसम्म साढे ८ हजार लगानीकर्ताले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण (मार्जिन प्रकृतिको कर्जा) लिएका थिए । यो धितोपत्र कारोबारका लागि सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ऋणीको संख्या हो । यसबाहेक ओभरडाफ्ट, रियल इस्टेटलयागत शीर्षकमा गएको कर्जा पनि सेयरमा लगानी भएको हुन्छ । तर, यहाँ त्यो तथ्यांक समावेश छैन ।

राष्ट्र बैंकका अनुसार एक करोड रुपैयाँभन्दा कम कर्जा लिने लगानीकर्ताको संख्या सबैभन्दा बढी (६ हजार ९ सय १० जना) छ । १ करोडदेखि ४ करोडसम्म ऋण लिने १ हजार १ सय ४३ र ४ करोडदेखि १२ करोडसम्म ऋण लिने ३ सय ८० जना छन् । १२ करोडदेखि २० करोडसम्म ऋण लिने ६३, २० करोडदेखि ५० करोडसम्म ऋण लिने ५८ जना, ५० करोडदेखि १ अर्बसम्म ऋण लिने ६ जना र १ अर्बदेखि डेढ अर्बसम्म ऋण लिने २ जना छन् । डेढ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिने पनि २ जना मात्र रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले १ सय ३३ जना लगानीकर्तालाई मात्र असर पर्ने राष्ट्र बैंकको दाबी छ । अहिले त्यही प्रभाव देखिन थालेको राष्ट्र बैंकले बताएको छ । सेयर धितोमा कर्जासँगै बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गरेका छन् । त्यसैले कुनै कारणले सेयर बजारमा उच्च गिरावट भए त्यसको प्रत्यक्ष प्रभाव वित्तीय क्षेत्रमा पर्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजी (कोर क्यापिटल) को बढीमा ४० प्रतिशतसम्म मात्र सेयर कर्जा (मार्जिन प्रकृतिका) प्रवाह गर्न पाइन्छ ।

प्रकाशित : माघ ३, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?