बजेट अर्धवार्षिक समीक्षा: आय ४७ र व्यय ३१ प्रतिशत, पुसमा भित्रियो करिब १४ अर्ब अनुदान- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बजेट अर्धवार्षिक समीक्षा: आय ४७ र व्यय ३१ प्रतिशत, पुसमा भित्रियो करिब १४ अर्ब अनुदान

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक अवधिसम्ममा सरकारको कुल आय वार्षिक लक्ष्यको ४७.५७ प्रतिशत र खर्च ३१.०३ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ ।


पुस मसान्तसम्मको राजस्व असुली हेर्दा ५ खर्ब ४२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ बराबर पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसमा कर राजस्वको अंश ४ खर्ब ९४ अर्ब १ करोड र गैर कर राजस्वको अंश ४८ अर्ब ६ करोड रुपैयाँ बराबर छ ।

आर्थिक वर्ष सुरु भएको ५ महिना बित्दासमेत आउन नसकेको वैदेशिक अनुदान पुस महिनामा मात्रै १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ बराबर आएको छ । महालेखा नियन्त्रकका अनुसार यो रकम चालु आर्थिक वर्षका लागि सरकारले वैदेशिक अनुदान उठाउन राखेको लक्ष्यको २३.१७ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षमा ६० अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता लिने सरकारको लक्ष्य छ ।

यही‌ अवधिमा सरकारी खर्चको अवस्था भने नाजुक देखिएको छ । पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ३१ प्रतिशत बराबर मात्रै खर्च भएको महालेखा नियन्त्रकले जनाएको छ । चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएकोमा हालसम्म ५ खर्ब ६ अर्ब ६९ करोड रुपैयाँ बराबर खर्च भएको हो । जसमध्ये चालुतर्फ ३८.१५ प्रतिशत अर्थात ४ खर्ब ६ अर्ब ४१ करोड, पुँजीगततर्फ १३.४४ प्रतिशत अर्थात ५० अर्ब ८० करोड र वित्तीय व्यवस्थापनतर्फ २६.१२ प्रतिशत अर्थात ४९ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

प्रकाशित : माघ २, २०७८ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो ।

च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताए ।

पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ । च्यासल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।


प्रकाशित : माघ २, २०७८ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×