तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पाँच महिनामा २७ खर्ब २१ अर्ब रुपैयाँ बजारमा पठायो


काठमाडौँ — वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले २७ खर्ब २१ अर्ब रुपैयाँ बजारमा पठाएको छ । गएको पाँच महिना (साउनदेखि मंसिरसम्म)मा राष्ट्र बैंकले रिपो, स्थायी तरलता सुविधा (एसएलएफ) र सरकारी ऋणपत्र खरिद (सोझै खरिद उपकरण)मार्फत उल्लेखित रकम बजारमा पठाएको हो ।



जसअनुसार चालु आर्थिक वर्षको ५ महिनासम्ममा रिपोमार्फत २ खर्ब ८७ अर्ब २३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र एसएलएफ सुविधामार्फत २४ खर्ब ६ अर्ब ६२ करोड रुपैयाँ बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।
उल्लेखित रकम बजार पठाएपनि तरलताको समस्या अझै कायमै छ । पुस तेस्रो सातातिर वित्तीय प्रणालीमा तरलता अवस्थामा केही सुधार देखिएको थियो । पुस चौथो साताबाट फेरि पुरानै अवस्थामा फर्किएको छ । पुसमा करिब ४० देखि ४५ अर्ब रुपैयाँ करमार्फत सरकारी खातामा गएको, नेपाल आयल निगममार्फत भारतीय आयल निगमलाई ठूलो रकम भुक्तानी भएको लगायत कारण वित्तीय प्रणालीमा पुन: तरलता अभाव देखिएको हो । राष्ट्र बैंकका अनुसार गत बिहीबारसम्म वित्तीय प्रणालीमा करिब साढे ७ अर्ब रुपैयाँ मात्र अधिक तरलता छ ।
यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ उठाएको छ । जसअनुसार रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ उठाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ उठाएको थियो ।
पाँच महिनाको अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५५ करोड २८ लाख खुद खरिद गरी ६६ अर्ब ४३ करोड रुपैयाँ तरलता प्रवाह गरेको दाबी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ८७ करोड खुद खरिद गरी २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।
यस्तै, पाँच महिनामा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी २ खर्ब १६ अर्ब ९१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ६२ करोड बिक्री गरी १ खर्ब ९१ अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित : माघ २, २०७८ १२:५०