१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

रासस

काठमाडौँ — नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ ।

पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनरुउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी) अन्तर्गत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल आयोजना गरेको हो ।

बोर्डले तयार पारेको नेपाल पर्यटन पुनरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्ग निर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो । शुक्रबार यहाँ आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा धनन्जय रेग्मीले कोभिड–१९ को सङ्क्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक काम गरेको जानकारी दिए ।

पछिल्लो परिस्थितिमा पनि नयाँ रणनीतिका साथ काम गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, 'कोभिड– १९ का कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक काम गर्‍यौं । जसमा पर्यटक खोज तथा उद्वार, आन्तरिक पर्यटन प्रवर्द्धनमा सामाजिक जागरणका, टाभल प्रोटोकल अपडेटजस्ता कार्य निरन्तर गर्‍यौं जसको कारण बोर्डले बेलायतमा वण्डरलस्ट अवार्ड प्राप्त गर्‍यो ।'

उनले एसटीएलआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना भएको, १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकल मार्ग निर्माण, ७५ किलोमिटर पदर्मागको पुनःनिर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिए ।

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजङ्घादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब पाँच हजार मिटर उचाइसम्म काम गरेको थियो ।

प्रकाशित : पुस ३०, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?