नेपालले आईएमएफमार्फत् पाइने इसीएफमा कोटाको १८० प्रतिशतसम्म ऋण लियो

काठमाडौँ — नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मार्फत् एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मा पाइने सहुलियतपूर्ण ऋणको कोटामा १८० प्रतिशतसम्म ऋण लिएको छ । आईएमएफद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) उपलब्ध गराउने निर्णय उसको कार्यकारी बोर्डले स्वीकृत गरेको हो । जुन रकम नेपालले आईएमएफमार्फत पाउने स्पेसल ड्रइङ राइट (एसडीआर) कोटाको १८० प्रतिशत बराबर हो ।

नेपालले आईएमएफमार्फत् पाइने इसीएफमा कोटाको १८० प्रतिशतसम्म ऋण लियो

यसअघि नेपालले २०२० मेमा र्‍यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) का रुपमा एसडीआरको शतप्रतिशत (२१ करोड ४० लाख अमेरिकी डलर) ऋण लिइसकेको छ ।

त्यस्तै नेपाललाई ३८ महिनाको वित्तीय सहायता प्याकेजका रुपमा यो रकम उपलब्ध गराइएको र यो रकममध्ये नेपालले तत्काल ११० मिलियन (१३ अर्ब ३ करोड नेपाली रुपैयाँ) बराबर पाउने पनि विज्ञप्तिमा उल्लेख छ । यो रकम नेपालले बजेट फाइनान्सिङका रुपमा प्रयोग गर्न पाउनेछ । विदेशी विनिमय सञ्चिति घट्दै जाँदा भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले गत कात्तिकदेखि नै यस्तो ऋण सहायता लिने प्रकृया थालेको थियो । त्यसैका लागि अर्थमन्त्री जनार्दन शर्माले गत मंसिर दोस्रो साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मिसन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीलाई भेटेर यस्तो ऋण उपलब्ध गराइदिन भनेका थिए ।

कोभिड १९ महामारीका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ऋण रकम खर्च गर्न सकिने उल्लेख छ । सामान्यतया कुनै देशको भुक्तानी सन्तुलन निकै बिग्रिएको अवस्थालाई सन्तुलनमा ल्याउनका लागि आइएमएफले इसीएफ उपलब्ध गराउँछ । नेपाललाई आईएमएफले यस्तो रकम शर्तसहित बजेट सहायताका रुपमा खर्च गर्न पाउने भनेको छ । आर्थिक उत्थानका लागि सरकारले चालेका कदमहरुलाई सघाउ पुग्नेगरी तय भएका कार्यक्रमहरुमा यो रकम खर्च गर्न सकिनेछ ।

प्रकाशित : पुस ३०, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?