२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदेश १ मा धान खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

विनोद भण्डारी

विराटनगर — प्रदेश १ मा गत वर्षभन्दा यसपालि करिब चार हजार हेक्टर धान खेती हुने क्षेत्रफल बढे पनि उत्पादन बढ्न सकेन । गत वर्ष ३ लाख ३२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदा १३ लाख ११ हजार टन उत्पादन भएको थियो । यसपालि ३ लाख ३६ हजार हेक्टरमा धान खेती गरिएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको छ । यो गत वर्षको तुलनामा २९ हजार टनले कम हो ।

प्रदेश १ मा धान खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो


धान पाक्ने समयमा परेको बेमौसमी वर्षाका कारण यसपालि उत्पादन घटेको हो । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बेमौसमी वर्षाले प्रदेशमा करिब ५० हजार हेक्टरमा पाकेको धान क्षतिग्रस्त भएको बताए । ‘त्यसकै कारण उत्पादनमा ह्रास आयो’ उनले भने ‘सुरुममा खेतीका लागि अनुकुल मौसम देखिँदा मन्त्रालयले यसवर्ष प्रदेश १ मा करिव एक लाख टन धान उत्पादन बढ्ने अनुमान गरेको थियो ।’ तर प्रदेशका प्राय: जिल्लामा धान उत्पादन घट्यो ।

जोगबनी नाकाबाट धान र चामलको आयात भने हरेक वर्ष बढ्दो छ । चालु वर्षको पाँच महिनामा यो नाकाबाट मात्रै करिब दुई अर्बको धान र चामल आयात भएको विराटनगर भन्सारको तथ्याङक छ । भन्सार अधिकृत अमित तिवारीका अनुसार साउनदेखि मंसिरसम्ममा जोगबनी नाकावाट १ अर्ब १२ करोड ७३ लाख ६६ हजार मूल्य बराबरको ४० हजार ६ सय ४१ टन धान र ८३ करोड ८३ लाख ८८ हजार मूल्य बराबरको १७ हजार ८ सय ३७ टन चामल आयात भएको छ ।

गत वर्षभर यो नाकाबाट ३ अर्ब ५० करोड ३६ लाख ३२ हजार मूल्यको १ लाख १५ हजार २ सय ९४ टन धान र २ अर्ब ३४ करोड ३५ लाख ७७ हजार मूल्यको ५२ हजार ६ सय ८१ टन चामल आयात भएको तिवारीले बताए । धानको भकारी मानिएका प्रदेश १ को तराईका जिल्लामा उत्पादन घट्दा समग्र प्रदेशको उत्पादन बिग्रिएको मन्त्रालयको बुझाइ छ । झापा, मोरङ र सुनसरीमा प्रधानमन्त्री एकीकृत कृषि परियोजना अन्तर्गत धान जोन कार्यक्रम पनि लागू गरिएको छ । झापामा गत वर्ष ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाई हुँदा ४ लाख १५ हजार ६ सय २५ टन उत्पादन भएको थियो । यसपालि करिव दुई हजार हेक्टरमा रोपाई गर्दा ४ लाख २३ हजार टनमात्र उत्पादन भएको छ ।

मोरङमा पनि गत वर्षको भन्दा दुई हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाई हुँदा गतवर्षको भन्दा ११ हजार टन उत्पादन घटेको छ । मन्त्रालयका अनुसार मोरङमा गतवर्ष ८० हजार ८ सय हेक्टरमा रोपाई हुँदा ३ लाख ४९ हजार टन धान उत्पादन भएको थियो । यसपालि ८२ हजार ४ सय ६७ हेक्टरमा ३ लाख ३८ हजार टन उत्पादन भएको छ । सुनसरीमा पनि गत वर्षको भन्दा २३ हजार टन धान उत्पादन घटेको छ । गतवर्ष सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा २ लाख ३० हजार टन धान उत्पादन हुँदा यसपालि त्यति नै क्षेत्रफलमा २ लाख ७ हजार टन धान उत्पादन भएको प्रदेश कृषि मन्त्रालयको तथ्याङक छ ।

मन्त्रालयका अनुसार प्रदेशका उच्च हिमाली र पहाडी जिल्लामा पनि धान उत्पादन घटेको छ । ताप्लेजुङमा ८ हजार ७ सय हेक्टरमा २१ हजार ४ सय टन, संखुवासभामा १३ हजार ८ सय हेक्टरमा ३६ हजार टन, सोलुखुम्बुमा १ हजार ५ हेक्टरमा ३ हजार ५ सय टन, पाँचथरमा ९ हजार २ सय हेक्टरमा २१ हजार ६ सय टन, इलाममा १४ हजार ८ सय हेक्टरमा ४८ हजार टन, तेह्रथुममा ९ हजार ६ सय हेक्टरमा २० हजार ८ सय टन, धनकुटामा ७ हजार ३ सय हेक्टरमा २३ हजार टन, भोजपुरमा १६ हजार ४ सय हेक्टरमा ४६ हजार ६ सय टन, खोटाङमा १२ हजार ९ सय हेक्टरमा २५ हजार टन, ओखलढुङगामा ४ हजार ४ सय हेक्टरमा १२ हजार ८ सय टन र उदयपुरमा १३ हजार ३ सय हेक्टरमा ५५ हजार ५ सय टन धान उत्पादन भएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?