रेलवे कर्मचारीलाई तालिम सुरु

जनकपुर — लामो समयपछि जयनगर–कुर्था रुटमा रेल सञ्चालन गर्ने तयारीमा रहेको नेपाल रेलवे कम्पनीले कर्मचारी भर्ना गर्दै प्राविधिक तालिम दिन थालेको छ । जनकपुरमा बुधबारदेखि सुरु भएको तालिमलाई भने रेलवेका पूर्वकर्मचारीले भाँड्न खोजेका थिए । नेपाल रेलवे कम्पनीले झन्डै ८० लाख खर्चेर तालिम दिएका यसअघिका कर्मचारीको विरोधबीच तालिम दिन थालिएको हो ।

रेलवेका महाप्रबन्धक नीरञ्जन झाले तोक आदेशमा नियुक्त गरेका ५५ जना कर्मचारीलाई जनकपुरको मत्स्य विकास तालिम केन्द्रमा प्राविधिक तालिम दिन सुरु गरिएको छ । यसअघिका महाप्रबन्धक गुरु भट्टराईले यसैगरी तोक आदेशमा नियुक्त गरेका झन्डै दुई सय कर्मचारीमध्ये ६० जनालाई भारतीय कोंकण रेलवे कर्पोरेसनका प्राविधिकले गत वैशाखमा तालिम दिएका थिए । ती कर्मचारीको समेत हाजिर रोक्का गरी नयाँ नियुक्त गरिएका ५५ जना कर्मचारीलाई फेरि तालिम दिन थालिएको हो ।

मत्स्य विकास तालिम केन्द्रमा तालिम सुरु भएलगत्तै रेलवेका पुराना कर्मचारीले मूल ढोकाअगाडि नाराबाजी गरेका थिए । भट्टराईको पालामा नियुक्ति पाएर तालिमसमेत लिइसकेका कर्मचारीलाई पाखा लगाई नयाँ नियुक्ति गरेर आफूहरूमाथि अन्याय गरेको उनीहरूको आरोप छ ।


प्रकाशित : पुस २९, २०७८ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?